+
+

तालिबानले आफ्ना बाचा पूरा गरेपछि मात्रै मान्यता पाउनेछ: पाकिस्तानी विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:०८

५ असोज, काठमाडौं। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले तालिबान सत्तालाई मान्यता दिनका लागि कोही पनि हतारमा नरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन न्यूयोर्क पुगेका कुरेशीले नयाँ तालिबान सत्तालाई मान्यता दिन कुनै पनि मुलुकले हतारो नगरेको प्रतिक्रिया दिएका हुन् ।

तालिबान सत्तालाई मान्यता दिनुपूर्व विश्व समुदायले अफगानिस्तानमा कसरी घटनाक्रम विकसित हुनेछ भनेर हेरिरहेको पनि उनको भनाइ थियो । ‘अहिले कसैले पनि मान्यता दिन हतार गरेका छैनन् र तालिबानले यसलाई ध्यान दिनुपर्छ’, कुरेशीले सञ्चारकर्मीसँग कुरा गर्दै भने ।

विदेशमन्त्री कुरेशीले सत्तामा आएका तालिबानहरुले युद्धपछि तहसनहस भएको अफगानिस्तानका लागि सहायता चाहेको भए अन्तर्राष्ट्रिय आवाज र मान्यताप्रति उनीहरु संवेदनशील हुनुपर्ने समेत प्रस्ट पारे । अन्तर्राष्ट्रिय जगतले उठाएका चासो सम्बोधन गरेमात्रै नयाँ तालिबान सत्ताले मान्यता पाउने भन्दै उनले भने- ‘उनीहरुले अन्तराष्ट्रिय धारणाप्रति थप संवेदनशील भई ग्रहण गर्नुपर्छ ।’

त्यस्तै अफगानिस्तानको शान्ति र स्थिरता नै पाकिस्तानको उद्देश्य रहेको पनि कुरेशीले बताएका छन् । यसका लागि अफगानिस्तानमा समावेशी सरकार हुनुपर्ने उनको भनाइ थियो । महिला र बालिकाहरु विद्यालय, कलेज तथा विश्वविद्यालयमा पढ्न पाउने भन्दै गरेको बाचालाई समेत तालिबानले पूरा गर्नेमा आफू आशावादी रहेको कुरेशीले बताए ।

साथै, कुरेशीले अफगानिस्ताको अर्थतन्त्र ध्वस्त भएमा यसले मानवीय संकट निम्तिने भन्दै रोक्का भएको सम्पत्ति फुक्का गर्न अमेरिकासहितका मुलुकलाई अपिल गरेका छन् । अफगानिस्तानको सम्पत्ति अफगानीहरुका लागि नै खर्च गर्नुपर्नेमा उनको जोड थियो ।

‘एकातिर संकट रोक्नका लागि नयाँ कोष संकलन भइरहेको छ भने अर्कोतिर उनीहरुले आफ्नो सम्पत्ति प्रयोग गर्न सकिरहेका छैनन्’, कुरेशीले भने, ‘सम्पत्ति रोक्का गर्ने कार्यले अवस्था असहज भइरहेको भन्ने मेरो बुझाई छ । म शक्ति राष्ट्रहरुलाई अपिल गर्न चाहन्छु कि उनीहरुले आफ्नो नीति बदल्नुपर्छ र रोकिएको सम्पत्ति फुक्का गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?