+
+

कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:१०
प्रतीकात्मक तस्वीर

६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् ।

जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० हजार ७३५ छ । तर बालबालिकाले भने अझै पनि खोप पाउन सकेका छैनन् । कतिपय मुलुकले बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिसकेका छन् ।

नेपालमा पनि सरकारले बालबालिकाका लागि उपयुक्त खोप ल्याउने तयारी भइरहेको बताएको छ । १२–१८ वर्ष उमेर समूहका लागि मोडेर्ना र फाइजर खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकाका लागि उपयुक्त भनिएका धेरैजसो खोप अनुसन्धानकै क्रममा रहेको, केही खोप मात्रै आपतकालीन प्रयोगका लागि सिफारिस भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. अधिकारीले भने, ‘हामीले फाइजर, मोडेर्ना लगायतका खोपहरुको कोभ्याक्स सुविधाअन्तर्गत खरिद प्रक्रिया अगाडि बढाएका छौं । हाम्रो योजनामा १२–१८ वर्षसम्मका बालबालिका छन् । मंसिरदेखि पुससम्म यो उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।’ डा. अधिकारीले बालबालिकालाई खोप लगाउने कार्ययोजना बनेको र प्रक्रिया पनि अघि बढिसकेको बताए ।फाइजर खोप ल्याएर आगामी मंसिरदेखि पुससम्म बालबालिकालाई लगाउन शुरु गरिने स्वास्थ्य मन्त्रालयको दाबी छ ।

उनकाअनुसार ४० लाख डोज मोडेर्ना र ६० लाख डोज फाइजरको खोप ल्याउने तयारी छ । यस्तै कोभ्याक्स सुविधामार्फत पनि बालबालिकाका लागि उपयुक्त हुने फाइजर खोप खरिद प्रक्रिया अघि बढेको उनले बताए ।

‘अहिलेसम्म हेर्दा फाइजरको खोप अमेरिकाबाट आउने गरी प्रक्रिया अगाडि बढाएका छौं,’ डा. अधिकारीले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मन्त्रालयका अनुसार १२ देखि १८ वर्ष उमेर समूहका करिब ४९ लाख बालबालिका छन् । जनसंख्या र जोखिमको अवस्था विश्लेषण गरी बालबालिकालाई खोप लगाइने मन्त्रालयको भनाइ छ ।

डा. अधिकारीले भने, ‘हामीले १२–१८ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउनुपर्ने हुन्छ । एकैपटक लगाउन सक्ने अवस्था नआए ठाउँ विशेषका आधारमा उमेर समूह फरक गरी खोप लगाउनुपर्ने अवस्था आउन सक्छ ।’

नेपालमा बनोटको हिसाबले अहिलेसम्म तीन प्रकारका खोप आएका छन् । ती खोप १८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई मात्र दिने गरिएको छ । अन्य कम्पनीको खोप आएपछि त्यो खोपको बनोट र प्रयोग अनुसार उमेर समूह फरक हुन सक्छ । तर अहिलेसम्म नेपालमा प्रयोग भएका खोपहरु बालबालिकाका लागि प्रयोग गर्न उपयुक्त नभएको मन्त्रालयको भनाइ छ ।

‘अहिले नेपालमा तीन किसिमका खोप आएका छन् । खोपको बनोट एउटै किसिमको भएको कोभिशिल्ड तथा एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र भेरोसेल खोप आएका छन् । तीनै किसिमका खोप १८ वर्षभन्दा मुनिका उमेर समूहलाई दिन उपयुक्त छ भनेर प्राविधिक हिसाबले सिफारिस भएको छैन,’ डा. अधिकारीले भने ।

नेपालले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका खोप मात्रै प्रयोग गर्दै आएको छ । तर १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने कार्यायोजना बनाइएको छैन । १२–१८ वर्ष उमेर समूहका बालबालिकालाई पनि अन्य मुलुकमा प्रयोग भइसकेका र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका खोप मात्रै नेपालमा प्रयोगमा ल्याइने उनले बताए ।

खोप अभियानले तीव्रता पाएसँगै नेपालमा कोरोना संक्रमण दर क्रमशः घट्दै गएको छ । बालबालिकालाई पनि उपयुक्त खोप लगाउन सकेमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै अस्पतालसम्म पुग्नुपर्ने अवस्था कम हुन सक्ने विज्ञहरु बताउँछन् ।

पछिल्लो २४ घण्टामा कति बालबालिका संक्रमित भए ?

पछिल्लो २४ घण्टामा १३६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ०–१० वर्ष उमेर समूहका ३८ र ११–२० वर्ष उमेर समूहका ९८ जना बालबालिका संक्रमित भएका हुन् ।

कति बालबालिकाले गुमाए ज्यान ?

कोरोना संक्रमणबाट हालसम्म १०१ जना बालबालिकाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांकअनुसार ०–९ वर्ष उमेर समूहका ४७ र १०–१९ वर्ष उमेर समूहका ५४ जना बालबालिकाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?