+
+

अचेल ‘ननभेज’ रुच्दैन दीपकराज गिरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १८:३८

धेरै बखान गर्नु पर्दैन, दीपकराज गिरीको बारेमा । उनी अभिनेता हुन्, निर्माता हुन्, निर्देशक पनि । रेडियोदेखि स्टेजसम्म, टेलिभिजनदेखि सिनेमासम्म उनले खास प्रभाव छाड्न सफल छन् । ‘रामविलास–धनियाँ’ हुँदै ‘तीतो सत्य’सम्म आइपुग्दा दीपकराजको आयामिक क्षमता उजागर हुन्छ । त्यसपछिका दिनमा उनी सिनेमाको पर्दामा देखापरे, अभिनेता र निर्माताको रूपमा । उनी अपेक्षाकृत सफल पनि भए । हास्य–विनोदले झरिलो–भरिलो उनका अधिकांश चलचित्र दर्शकले मनग्ये रुचाए ।

दीपकराज यतिबेला भने कृषि–कर्ममा लागेका छन् । पुख्र्याैली थलोमा खेतीपाती गर्ने मेलोमेसो मिलाइरहेका छन् । उनै दीपकराज गिरीको दैनिकी कसरी बितिरहेका छन् त ? अनलाइनखबरसँग उनले यसरी बताए ।

 बिहान कतिबजे उठ्नुहुन्छ ? उठ्ने समय एउटै हो वा फरक हुन्छ ?

म बिहान ७ बजे उठिसक्छु । हरेक दिन ७ घन्टा सुत्नुपर्छ भन्ने मेरो मान्यता हो । कहिलेकाहीँ राति १ बजे सुतेँ भने बिहान ८ बजे उठ्छु ।

उठ्नसाथ के गर्नुहुन्छ ? मोबाइल चलाउनुहुन्छ वा पूजापाठ गर्नुहुन्छ ?

मेरो साढे २ घन्टा मर्निङ वाक, योगा र पूजापाठमा समय बित्छ । उठेपछि मर्निङ वाक जान्छु । घर आएर योगा गर्छु । अनि पूजापाठ गर्छु ।

बिहान नास्ता खानुहुन्छ वा हुन्न ?

म अहिले १८ घण्टे फास्टिङमा लागेको छु । बेलुकी ८ बजे खाएपछि एकैपटक मध्याह्न १२ बजे खान्छु । बिहान उठेपछि कालो चिया मात्र पिउँछु ।

बिहानको खाना कतिबजे खानुहुन्छ ?

बिहानको खाना १२ बजे खान्छु ।

कस्तो खाना रुचाउँनुहुन्छ ?

म शाकाहारी भएकाले दाल, भात, तरकारी नै खान्छु ।

तपाईंको खानामा छुट्दै नछुट्ने चिज के हो ?

मेरो खानामा साग र दाल प्रायः छुट्दैन ।

भान्सामा काम गर्ने जाँगर कति चल्छ ?

स्कुल, कलेज पढ्दा त खाना पकाइयो । तर, अहिले त उही श्रीमतीलाई के छ भन्न मात्र जान्छु ।

तपाईंलाई आफैँले बनाएको कुन खानेकुरा बढी मनपर्छ ?

मलाई उसिनेको अण्डा बनाउन आउँछ ।

बाहिर रेष्टुरेन्टमा मीठो कि घरमा बनाएको ?

मैले रेष्टुरेन्टको खाना निक्कै कम खाने गरेको छु । यसैले, घरकै मीठो लाग्छ ।

एकदमै भोक लागेको तर खाना खाने अनुकुलता नमिलेको कुनै क्षण छ ?

त्यस्तो क्षण छायांकनको बेलामा खुबै भयो । कहिलेकाहीँ लाइट जान लाग्यो भनेर खाना नखाई काम गरियो, कहिले खाना खाने बेलामा टेक दिन बेला हुन्थ्यो । त्यस्ता घटना छायांकनका क्रममा नै बढी भए ।

घरको काम कुचो लगाउने, सरसफाइ गर्ने, भाँडा माझ्ने, लुगा धुने काम आफैँ गर्नुहुन्छ ?

म भित्री वस्त्रमात्र आफैँ धुन्छु, अरु केही पनि काम गर्दिनँ ।

घरबाट बाहिर निस्कनुअघि ड्रेसअपमा कति समय लाग्छ ? सजिनका लागि ?

श्रीमतीले म तयार भएँ है भनेपछि मात्र म कपडा लगाउन सुरु गर्छु । आफूले कपडा लगाएर गाडीमा बसिसक्दा पनि श्रीमती तयार भएकी हुन्नन् ।

कस्तो लुगाफाटो सहज लाग्छ ? बाहिर हिँडडुल गर्दा ?

मलाई प्रायः जिन्स र टिसर्ट नै मनपर्छ । तर, कलाकार भएकाले धेरैले चिन्ने भएकाले कटनको पाइन्ट, सर्ट लगाउँछु ।

कस्तो रंगको पहिरन बढी लगाउनुहुन्छ ?

निलो, रातो र कालो खुबै मनपर्छ ।

तपाईसँग भएको बहुमूल्य सामग्री ?

म शिवजीको औंठी लगाउँछु । यो औंठी लगाउन थालेको २५ वर्ष भयो । पुरानो भएर आज फ्याँके भने भोलिपल्ट नयाँ लगाइहाल्छु । मलाई बहुमूल्य लाग्छ यो ।

हिँड्दा मोबाइलबाहेक नछुट्ने अरु कुनै सामग्री ?

मोबाइलबाहेक त पर्स नै होला ।

तपाईं कस्तो सवारी साधन प्रयोग गर्नुहुन्छ ?

म टाटा हेक्जा ।

ट्राफिक कारबाहीमा, पार्किङ वा अन्य कारण परेको क्षण ?

पछिल्लो समयमा छैन । एकपटक मापसेमा परेको विवादपछि लगभग शून्य बराबर नै छ । म आफैँ सचेत छु ।

बढी समय काहाँ बित्छ ?

घरबाहेक बढी त छायांकनमै बित्छ । नत्र, प्रायः अफिसमा हुन्छु ।

बढी समय परिवारबाहेक कोसँग बिताउनुहुन्छ ?

अहिले त हलको कामका कारण निर्मल शर्माजीसँग म बढी हुन्छ ।

साँझ कति बजे घर फर्कनुहुन्छ ?

सुटिङ हुँदा म १२ बजे नत्र अरु बेलामा ११ बजे पुग्थँे । तर, कोभिडको केस हुन थालेपछि बेलुकी ८ बजे पुगिसक्छु ।

दिनमा कति रुपैयाँ खर्च हुन्छ ?

तपाईंलाई अचम्म लाग्ला । एकपटक मैले सामान किनेपछि गोजीमा पैसा नै नभएको थाहा पाएँ । यसपछि, बाहिर एउटा सानो काम पर्यो है भनेर एटीएम गएँ र पैसा झिकेर ल्याएँ । अर्थात्, म गोजीमा पैसा नै बोक्दिनँ ।

दिनमा सबैभन्दा बढी केमा बढी खर्च ?

खर्च त मेरो पेट्रोल हाल्न नै हुन्छ ।

रातिको खाना कतिबजे खानुहुन्छ ?

बेलुकी ८ बजे खाइसक्छु ।

रातको खानामा के के हुन्छ ? कस्तो खाना रुचाउनुहुन्छ ?

म बेलुकी खाना नै खान्छु ।

बेलुकी खाना नखाई सुतेको क्षण छ ?

त्यस्तो त खासै छैन । संघर्षको दिनमा खाना नखाएर मदिरा खाएर सुतिन्थ्यो ।

मदिरापान गर्नुहुन्छ वा हुन्न ?

मैले ४ वर्ष भयो मदिरा नखाएको । टीकाको दिन परिवारसँग बसेर खान्छु । अरु समय त म यसमा खासै इन्जोए नै गर्दिनँ ।

सामाजिक सजालमा बढी व्यस्त हुने तपाईंको समय कुन हो ?

म बेलुकी ८ बजेपछि बढी चलाउँछु ।

सोसल मिडियाका के कुरा देख्दा दिन राम्रो लाग्दैन ?

मलाई सामाजिक सञ्जाल खोल्ने बित्तिकै त्यस्तो महसुस हुन्छ । अब फेरि के कुरामा गाली खाएको छु, म के दुर्घटना हेर्न जाँदैछु भन्ने लाग्छ ।

कुन कमेन्ट मन पर्दैन ?

मलाई मनपर्ने भनेको यो कुरा राम्रो छ, यो कुरा नराम्रो छ भन्ने प्रतिक्रिया हो । मलाई तारिफ गर्ने र सचेत गर्ने प्रतिक्रिया मनपर्छ । तर, गाली गर्ने उद्देश्यले नै आएका मानिसहरुलाई म साइबर सेनाको रुपमा लिन्छु ।

काठमाडौं बाहिर सबैभन्दा बढी गइरहने ठाउँ ?

काठमाडौं बाहिर जाने त पोखरा नै होला । वातावरण स्वच्छ छ, तलाउदेखि हरेक कुराहरु हेर्न पाइन्छ ।

कति बजे सुत्नुहुन्छ ?

म बेलुकी ११ बजे सुतिसक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?