+
+

सानेपामा ‘दुई सिंह’को शक्ति प्रदर्शन

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ असोज ७ गते २३:५०

७ असोज, काठमाडौं । १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएदेखि नै नेपाली कांग्रेसको कार्यालय, सानेपामा आन्दोलन र धर्ना कार्यक्रम टुटेको छैन ।

रौतहट निर्वाचन क्षेत्र नं.–१ का नेता कार्यकर्ता ६३ दिनदेखि अनसनमा छन् भने नेपाल दलित संघ निकट नेता कार्यकर्ताको धर्ना पनि जारी छ । मंगलबारदेखि रामेछाप सुनापति–२ को वडा अधिवेशन बदर गर्न माग गर्दै रिले अनसन सुरु भएको छ । बिहीबार सर्लाहीको टोली पनि थपियो ।

सर्लाहीका दुई नेता अमरेश कुमार सिंह र वीरेन्द्रप्रसाद सिंहले शक्ति प्रदर्शनकै शैलीमा एक–अर्काविरुद्ध विरोध कार्यक्रम गरे । कारण थियो, मंगलबार पार्टी कार्यालय, सानेपामा प्रदेश २ सरकारका मन्त्री सिंह र प्रतिनिधिसभा सांसद अमरेश सिंहका कार्यकर्ताबीच भएको भनाभन । दुबै पक्षले एकअर्कामाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै दलबलसहित नारावाजी गरेका हुन् ।

अमरेश सर्लाही प्रतिनिधि सभा निर्वाचन क्षेत्र–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने वीरेन्द्र ४ ‘क’ बाट प्रदेशसभा सदस्य विजयी भएका हुन् । दुई सिंहले एक अर्काविरुद्ध प्रदर्शन गर्न जिल्लाबाटै कार्यकर्ता ओसारेर काठमाडौं ल्याएका थिए । दुबै पक्षले एकैदिन पार्टी कार्यालय, सानेपामा विरोध कार्यक्रम राखेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

अमरेशका कार्यकर्ताले पार्टी कार्यालयमा प्रदेशमन्त्री वीरेन्द्रविरुद्ध नारावाजी गरे । प्रदेश सरकारका मन्त्री सिंहले गुण्डागर्दी शैलीमा दुर्व्यवहार गरेकाले कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा ऐक्यवद्धता जनाउन कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पुगेका थिए । सभापतिका आकांक्षी सिंहले क्रियाशील सदस्यतामा भएको अनियमिता रोक्नुपर्ने बताए भने डा. कोइरालाले पार्टी कब्जा गर्ने शैलीमा क्रियाशील सदस्यतामा धाँधली भइरहेको बताए । ‘पार्टीमा विधि, पद्धति र मापदण्डविपरीत क्रियाशील सदस्यता वितरणको काम भएको छ, यो हामीलाई मान्य हुँदैन,’ उनले भने, ‘पार्टी कब्जा गर्ने शैलीविरुद्ध हामी एकजुट हुनुपर्छ ।’

सांसद अमरेश सिंह पक्षको नारावाजी सकिएको केही समयपछि प्रदेशमन्त्री वीरेन्द्र सिंह पक्षधर नेता कार्यकर्ता पार्टी कार्यालय पुगे । प्रदेशमन्त्री सिंह झण्डावाल गाडीमा पार्टी कार्यालयमा आए । उनका कार्यकर्ताले प्रतिनिधिसभा सांसद अमरेश सिंहविरुद्ध उसैगरी चर्का नारावाजी गरे ।

जिल्लातहमा क्रियाशील सदस्यता विवाद नरहेपनि केन्द्रमा अनावश्यक रुपमा विवाद निकालेको उनीहरुको आरोप छ । ‘हाम्रो जिल्लामा क्रियाशील सदस्यता विवाद नै छैन, त्यसमा पनि मेरो निर्वाचन क्षेत्रमा त सहमतिमा क्रियाशील वितरण गरिएको  हो,’ प्रदेश सांसद एवं मन्त्री सिंहले भने, काठमाडौंमा बसेर अमरेश सिंहले अनावश्यक रुपमा विवाद निकाल्ने काम गर्नुभएको हो । अधिवेशनमा जाँदा पराजित हुने डरले क्रियाशील सदस्यतामा विवाद झिक्ने काम भएको छ ।’

मंगलबार पार्टी कार्यालयमा सांसद अमरेश सिंहकै निर्देशनमा आफूमाथि दुव्र्यवहार भएको समेत उनको दाबी छ । ‘क्रियाशील सदस्यताकै विषयमा छलफल गर्न पार्टी कार्यालय आएको थिएँ, बाहिर निस्किदा सुनियोजित रुपमा ममाथि आक्रमण गर्न खोजियो,  त्यसपछि सामान्य भनाभन भएको हो,’ संस्थापन समूहका प्रदेश मन्त्री सिंहले भने, ‘पार्टीभित्र विवाद ल्याएर संगठनलाई कमजोर बनाउन उहाँ (अमरेश) सक्रिय हुनुहुन्छ ।’ उनले क्रियाशील सदस्यता चाँडो सार्वजनिक गर्न माग गरे ।

सर्लाहीकै कांग्रेस नेताहरुले भने दुई सिंहको द्वन्द्वलाई पार्टी हीतभन्दा व्यक्तिगत स्वार्थको लडाईँ भनेका छन् । ‘उहाँहरु दुबैको यो व्यक्तिगत स्वार्थको लडाईँ हो, व्यापारी पृष्ठभूमि भएका प्रदेशमन्त्री सिंह अमरेशलाई कमजोर बनाएर प्रतिनिधिसभाको टिकट लिन चाहन्छन् भने अमरेश आफ्नो प्रभुत्व कायमै राख्न चाहन्छन्,’ एक पूर्व सांसद भन्छन्, ‘अहिले अधिवेशनमा एकअर्कालाई कमजोर बनाउने अभियानमा दुबै जना छन् । त्यसकै परिणाम यो आन्दोलन हो ।’

प्रतिनिधि सभा सांसद अमरेशको आरोप छ, ‘प्रदेशमन्त्री वीरेन्द्र सिंहले केन्द्रबाट क्रियाशील सदस्यता थपघट गरेका छन् ।’ मन्त्री सिंह अस्वीकार गर्छन् । उनकै उल्टै आरोप छ, ‘कार्यकर्तामाझ कमजोर भएपछि पुरानै क्रियाशील सदस्यताबाट अधिवेशन गराउन अमरेशले विवादको नाटक गरेका हुन् ।’

क्रियाशील सदस्यता छानविन समिति सदस्य आनन्द ढुंगानाले सर्लाहीको क्रियाशील सदस्यता विवाद टुंगिएको बताए । उनले सर्लाहीसहित प्रदेश दुईका आठ वटै जिल्लाको सदस्यता विवाद नरहेको बताए । तथापि क्रियाशील सदस्यको विवरण सार्वजनिक नहुँदा वडा अधिवेशन अनिश्चित बनेको छ ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?