+
+

वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने बिहारको प्रस्ताव

एक्चेन्ज मार्केटमा प्रवेश दिन भारतको आनाकानी

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ असोज ८ गते १९:२४

८ असोज, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ ७ बजेदेखि विहान ६ बजेसम्म बिजुली लैजान प्रस्ताव गरेको छ । बिहारले त्यसको सट्टामा हिउँदयाममा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नेपाललाई बिजुली दिन सकिने बताएको छ । यसअनुसार बिहारले जति युनिट बिजुली वर्षायाममा लैजाने छ, त्यति नै युनिट बिजुली त्यसको सट्टामा हिँउदमा फिर्ता गर्नेछ ।

दुई हप्ताअघि भारत भ्रमणमा गएको प्राधिकरणको टोलीले विहार सरकारसँग वर्षायामको बिजुली किन्न प्रस्ताव गरेको थियो । बिहार स्टेट पावर होल्डिङ कम्पनी लि. र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गरेको थियो ।

त्यसबारे औपचारिक जवाफ पठाउँदै बिहारले वर्षायामको रातमा नेपालबाट बिजुली लैजाने र हिउँदमा विहानदेखि बेलुकासम्म बिजुली दिने गरी प्रस्ताव गरेको घिसिङले खुलाए ।

‘हामीलाई त हिउँदको दिउँसोमा बिजुली चाहियो,’ घिसिङले भने,’भारतले दिउँसो सोलारको बिजुली किन्छ र हामीलाई दिन्छ, उसलाई वर्षायाममा रातमा चाहिएको बिजुली हामीबाट लिन्छ ।’

उनले सकेसम्म एक्सचेन्ज मार्केटमा बिजुली बेच्न पनि प्रयास भइरहेको बताएका छन् । वर्षायामको बिजुली भारतको एक्सचेन्ज मार्केटमा बिक्री गर्न धेरै मूल्य आउने भएपनि हिउँदमा भारतबाट महंगोमा बिजुली ल्याउनुपर्ने भएकाले विहारको प्रस्ताव सकारात्मक रहेको उनको स्पष्टीकरण छ ।

‘वर्षायाममा बिजुली पाउँदा उनीहरुलाई पनि फाइदा छ, हामीलाई पनि फाइदा छ,’ उनले संसदीय समितिमा भने,’यो लगभग विन-विन सिच्युएसन हो।’ घिसिङले विहारले गरेको गरेको प्रस्तावमा अध्ययन भइरहेको बताए । अध्ययनपछि उचित निर्णय लिएर अघि बढ्ने उनको भनाइ छ ।

नेपालमा हिउँदयाममा नदीमा पानीको सहत घट्ने भएकाले गत वर्ष ५० प्रतिशतभन्दा बढी बिजुली भारतबाट आयात गर्नुपरेको थियो ।

खेर जाँदै करोडौंको बिजुली

प्राधिकरणका अनुसार अहिले खपत हुन नसकेर दिउँसो पनि करिब ३०० मेगावाट र राति ४०० देखि ५०० मेगावाट बिजुली खेर गइरहेको छ । वर्षायाममा राति ११ बजेपछि बिहान ६ बजेसम्म उत्पादित बिजुली खेर जाँदैछ ।

बिजुली खेर फाल्न निजी र आफ्नै सहायक कम्पनीहरुका आयोजना बन्द गराउँदा हर्जना तिर्नुपर्ने भएकाले प्राधिकरणले आˆनै आयोजना बन्द गर्ने गरेको छ । अब वर्षे भेल रोकिएर खोला-नदी सामान्य भएपछि केही समय त आधा बिजुली फाल्ने अवस्था आउँछ ।

निजी प्रवर्द्धकहरुको बिजुली प्राधिकरणले आफ्नो कारणले नलिए क्षतिपूर्ति तिर्ने गरी विद्युत खरिद सम्झौता गरेको हुन्छ । त्यसले प्राधिकरणलाई करोडौंको वित्तीय क्षति मात्रै भएको छैन, सम्भावित लाभ पनि गुम्दैछ ।

नेपालको बिजुली किन्ने निर्णय पनि नलिएको भारतले नेपालको बिजुलीलाई आफ्नो ऊर्जा बजारमा प्रवेश दिन ढिलाइ गरेपछि त्यसको मार र भार नेपाल विद्युत प्राधिकरणले भोग्नुपर्ने अवस्था छ ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको छ ।

आफ्नो ‘डे-अहेड’ र ‘टर्म-अहेड’ मार्केटमा प्रवेश दिने गरी प्रक्रिया तय गरेर ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गरेको भारतले अनुमति दिन भने आनाकानी गर्दै आएको छ ।

नेपाल विद्युत प्राधिकरणलाई भारतले आफ्नो एक्सचेन्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।

प्राधिकरणले आफ्नो जोडलबलले बिहारमा थोरै मात्रामा भएपनि बिजुली निर्यात गरिरहेको छ । उत्पादनको हिसावले अब त्यती निर्यात नगण्य हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसङको टोलीले बिहारसँग वर्षायाममा बिजुली लगेर हिउँदमा फर्काउने गरी छुट्टै सहमतिको प्रस्ताव गरेका थिए । यसबारे बिहारले आफ्नो प्रस्ताव पठाएपछि अब दुबै पक्ष यसबारे अध्ययन गरेर सहमति जुटाउने तयारीमा छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?