+
+
Shares

वर्षायाममा सडक जोगाउने प्रयास : गोलिया काठ ढुवानीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकाले वर्षायाममा सडक संरक्षण गर्ने उद्देश्यले साउन महिनाभर गोलिया काठको ढुवानीमा रोक लगाउने निर्णय गरेको छ ।
  • भारी सवारीसाधनका कारण सोलिङ गरिएका सडक भत्किने समस्या बढेपछि नगरपालिकाले साउन १ गतेदेखि ३१ गतेसम्म काठ ओसारपसारमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
  • सडक बिग्रिँदा एम्बुलेन्स तथा अत्यावश्यक सेवा सञ्चालनमा सास्ती भोग्नुपरेको भन्दै नगरप्रमुख अर्जुन माबोहाङले सो नियमको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

२७ असार, तेह्रथुम । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लाका सडकहरू हिलो, पहिरो तथा अत्यधिक भारका कारण क्षतिग्रस्त हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।

विकासका लागि करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सडकहरू केही दिनमै बिग्रिने अवस्था हुँदा स्थानीय सरकारका लागि सडक संरक्षण ठूलो चुनौती बनेको छ । यही चुनौतीलाई मध्यनजर गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले वर्षायामभर नगरभित्रका सोलिङ गरिएका सडकमा गोलिया काठजन्य सामग्रीको ढुवानी तथा ओसारपसारमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।

नगरपालिकाका अनुसार पछिल्लो समय नगर क्षेत्रका अधिकांश सडकमा ढुंगा सोलिङको काम सम्पन्न भएको छ । यी सडकहरूले ग्रामीण बस्तीलाई बजार, विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी सेवासँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन । तर वर्षायाममा भारी सवारीसाधन मार्फत गोलिया काठ ढुवानी गर्दा सडकको संरचना भत्किने, सोलिङ उखेलिने र हिलो बढ्ने समस्या देखिंदै आएको छ ।

नगरपालिका क्षेत्रका सडकमा नियमित सञ्चालन हुने बस, एम्बुलेन्स, पिकअप लगायतका सवारीसाधन सञ्चालनमा समस्या हुँदा नागरिकले प्रत्यक्ष रूपमा सास्ती भोग्नुपर्ने अवस्था आउने भएकाले काठ बोकेका ट्र्याक्टर र मालवाहक ट्रकलाई वर्षायाममा सञ्चालन नगर्न नगरप्रमुख अर्जुन माबोहाङले आग्रह गर्नु गरेका छन ।

विगतका वर्षहरूको अनुभवले पनि वर्षाको समयमा भारी काठ बोकेका सवारीसाधन गुड्दा सडक चाँडै बिग्रिने देखिएको छ । जसका कारण एम्बुलेन्स, दमकल, नगरबस तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा बिरामीलाई समयमै अस्पताल पु‍र्‍याउन, विपद्का बेला उद्धार गर्न तथा दैनिक आवतजावत गर्नसमेत स्थानीयले सास्ती भोग्नुपरेको लालीगुराँस नगरपालिका-५ का सुकबहादुर लिम्बुले बताए ।

यही अवस्थालाई ध्यानमा राख्दै नगर कार्यपालिकाले साउन महिनाभर नगरभित्रका सोलिङ गरिएका सडकमा गोलिया काठजन्य सामग्रीको ढुवानी तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको नगर उपप्रमुख जमुना मगर कार्कीले बताइन । उनका अनुसार स्थानीय सरकारको यो कदम सडक संरक्षणका लागि आवश्यक र सकारात्मक प्रयास हो ।

प्रमुख प्रशासकीय अधिकृत रविन कार्कीद्वारा शुक्रबार जारी सूचना अनुसार साउन १ गतेदेखि ३१ गतेसम्म नगरपालिका क्षेत्रभित्र सोलिङ गरिएका सडकमा गोलिया काठजन्य सामग्रीको ढुवानी तथा ओसारपसार पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।

सडक बिग्रिएपछि पुन: मर्मतमा ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउने भएकाले समयमै रोकथाम गर्नु दीर्घकालीन रूपमा लाभदायक हुने नगरपालिकाको जनाएको छ । सूचनाको उल्लङघन गरी गोलिया काठ ढुवानी गरेको पाइए कानुनी कारबाही गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?