News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलरक्षक भोजिन्हाको सम्मानमा जीवविज्ञानीले एक नयाँ प्रजातिको समुद्री स्लगको नाम 'अल्डिसा भोजिन्हा' राखेका छन् ।
- जीवविज्ञानी जेसस ओर्टेआले स्पेनविरुद्धको खेलमा भोजिन्हाले गरेको ऐतिहासिक गोलरक्षणबाट प्रभावित भई उक्त जीवको नामकरण गरेको आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन् ।
- विश्वकपपछि भोजिन्हाको लोकप्रियता ह्वात्तै बढेर इन्स्टाग्राममा उनका एक करोड ७४ लाखभन्दा बढी फलोअर पुगेका छन् ।
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा केप भर्डेलाई ऐतिहासिक प्रदर्शन गराएका गोलरक्षक भोजिन्हा (जोसिमार जोजे एभोरा डायस) को सम्मानमा नयाँ प्रजातिको समुद्री जीवको नाम राखिएको छ ।
क्यारिबियन सागरमा जीवविज्ञानी जेसस ओर्टेआले फेला पारेको रातो रङको समुद्री स्लग (घस्रिने समुद्री जीव) लाई ‘अल्डिसा भोजिन्हा’ नाम दिइएको हो ।
७५ वर्षीय ओर्टेआले आफ्नो अनुसन्धान प्रतिवेदनमा विश्वकपमा भोजिन्हाले खेलेको असाधारण भूमिकाको सम्मानस्वरूप यो नामकरण गरिएको बताएका छन् । उनले यो प्रजातिको रातो रङले स्पेनको उपनाम ‘ला रोजा’ (द रेड वन) विरुद्ध भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनको पनि सम्झना गराउने उल्लेख गरेका छन् ।
विश्वकपमा केप भर्डे दोस्रो सबैभन्दा सानो राष्ट्र बनेको थियो, जसले विश्वकपको नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा युरोपियन च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्दा भोजिन्हाले गरेको उत्कृष्ट गोलरक्षणले विश्व फुटबलको ध्यान खिचेको थियो ।
त्यसपछि केप भर्डेले समूह चरण पार गर्दै अन्तिम ३२ मा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य बनाएको थियो । अन्ततः टोली ३–२ ले पराजित भए पनि भोजिन्हाको प्रदर्शनले विश्वभर प्रशंसा बटुलेको थियो ।
विश्वकपपछि भोजिन्हाको लोकप्रियता एकाएक बढेको थियो । इन्स्टाग्राममा उनका करिब ५० हजार फलोअर केही दिनमै बढेर १ करोड ७४ लाख पुगेका थिए, जुन अमेरिकी फुटबलका महान् खेलाडी टम ब्रेडीभन्दा पनि बढी हो ।
ओर्टेआले यसअघि पनि फुटबलप्रतिको आफ्नो प्रेमलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै कोस्टारिकाका पूर्व गोलरक्षक केलर नावास को नाममा एउटा नयाँ प्रजातिको नाम राखेका थिए ।
त्यस्तै, स्पेनिस क्लब स्पोर्टिङ गिहोनका पूर्व स्ट्राइकर क्विनी को नाममा पनि उनले अर्को जीवको नामकरण गरिसकेका छन् ।
-बीबीसीबाट
प्रतिक्रिया 4