+
+
Shares

लुम्बिनी सरकारको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

टोपराज शर्मा टोपराज शर्मा
२०८३ असार २७ गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ ।
  • प्रदेशले ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
  • स्वास्थ्य मन्त्रालय ७९.३८ प्रतिशत बजेट खर्च गर्दै प्रदेशमा सबैभन्दा बढी वित्तीय प्रगति हासिल गर्ने मन्त्रालय बनेको छ ।

२७ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो ।

चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ । यस्तै पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ अर्थात् ६६.८० प्रतिशत खर्च भएको छ ।

मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय बनेको छ । मन्त्रालयले कुल ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँ बजेटमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

दोस्रो स्थानमा वन तथा वातावरण मन्त्रालयले २ अर्ब ५४ करोड ७४ लाख ५० हजार रुपैयाँमध्ये १ अर्ब ८१ करोड ६८ लाख ४० हजार रुपैयाँ अर्थात ७१.३२ प्रतिशत खर्च गरेको छ । सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ अर्ब ९२ करोड ४५ लाख रुपैयाँमध्ये ७ अर्ब ३ करोड ४४ लाख २० हजार रुपैयाँ खर्च गरी ७०.८८ प्रतिशत वजेट खर्च गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले २ अर्ब ६८ करोड ६० लाख रुपैयाँमध्ये १ अर्ब ८९ करोड ९४ लाख ७७ हजार रुपैयाँ खर्च गर्दै ७०.७२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेश लोक सेवा आयोगले १० करोड रुपैयाँमध्ये ६ करोड ६१ लाख ५७ हजार रुपैयाँ खर्च गरी ६६.१५ प्रतिशत वजेट खर्च गरेको छ ।

आयोगको पुँजीगत खर्च भने १७४.५४ प्रतिशत पुगेको छ । सहरी विकास तथा खानेपानी मन्त्रालयले ५ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँमध्ये ३ अर्ब ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ खर्च गरी ६४.६२ प्रतिशत प्रगति गरेको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले १ अर्ब ९० करोड ४२ लाख ११ हजार रुपैयाँमध्ये १ अर्ब १६ करोड ४९ लाख ७९ हजार रुपैयाँ खर्च गर्दै ६१.१८ प्रतिशत वजेट खर्च गरेको छ ।

प्रदेश सभाले २६ करोड २० लाख रुपैयाँ बजेटमध्ये १५ करोड ८५ लाख ३६ हजार रुपैयाँ खर्च गरी ६०.५१ प्रतिशत वजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले ३ अर्ब ६१ करोड ७५ लाख ३७ हजार रुपैयाँमध्ये २ अर्ब ७ करोड २५ लाख ६२ हजार रुपैयाँ खर्च गरी ५७.२९ प्रतिशत प्रगति गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले १ अर्ब ५० करोड ४७ लाख ५० हजार रुपैयाँमध्ये ८५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च गर्दै ५७.१० प्रतिशत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्रालयको खर्च ४४.८१ प्रतिशतमा सीमित रहेको छ । मन्त्रालयले ३७ करोड २४ लाख ५० हजार रुपैयाँमध्ये १६ करोड ६८ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५० करोड १८ लाख रुपैयाँमध्ये २२ करोड ३३ लाख १४ हजार रुपैयाँ खर्च गर्दै ४४.५० प्रतिशत वजेट खर्च गरेको छ ।

प्रदेश योजना आयोगको कुल ३ करोड ५ लाख रुपैयाँ बजेटमध्ये ११ लाख ७२ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार यसको वित्तीय प्रगति ३८.४४ प्रतिशत रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले १६ करोड ४० लाख रुपैयाँमध्ये ६ करोड २५ लाख १९ हजार रुपैयाँ खर्च गर्दै ३८.१२ प्रतिशत प्रगति हासिल गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३६ करोड ६९ लाख ९६ हजार रुपैयाँमध्ये १३ करोड ४२ लाख २७ हजार रुपैयाँ खर्च गरी ३६.५७ प्रतिशत प्रगति गरेको छ ।

यस्तै स्थानीय तहका लागि विनियोजन गरिएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ । यो कुल बजेटको ८४.८७ प्रतिशत हो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?