News Summary
Generated by OK AI. Editorially reviewed.- गणेश नामका एक नागरिकले राज्यको बेवास्ता र अन्यायविरुद्ध आत्मदाह गरी आफ्नो जीवन त्यागेका छन्।
- यो घटनाले राज्यको संवेदनहीनता र नागरिकको पीडा सुन्न नसक्ने प्रशासनिक मौनतामाथि गम्भीर प्रश्न उठाएको छ।
- अन्याय र उत्तरदायित्वहीन व्यवस्था नसच्चिएसम्म नागरिकको आक्रोशको आगो ननिभ्ने भन्दै उनको शहादतप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
जब बाँच्ने बाटाहरू सबै बन्द हुन्छन्,
जब गुहार माग्ने ओठहरू थाक्छन्,
तब एउटा मान्छे बाध्य हुन्छ
आफ्नै रगत र मासुलाई, आक्रोशको इन्धन बनाउन!
जब चारैतिर शून्यताले घेर्यो,
तब उसले चुपचाप पग्लिएर सकिनु भन्दा,
आफैंभित्रको आक्रोशको ज्वाला ब्युँझाउने कठोर निर्णय गर्यो!
यहाँ जलेको एउटा शरीर मात्र होइन,
जलेको हो-राज्यले सुन्न नसकेको एउटा नागरिकको अन्तिम र कारुणिक पुकार।
जलेको हो- सिंहदरबारको संवेदनहीन मौनता,
र नागरिकप्रतिको उत्तरदायित्वबाट भागेको व्यवस्था।
कति निष्ठुरी रहेछ यो शहर,
मान्छे जिउँदो हुँदा यहाँ कसैले उसको दुःख देख्दैन,
जब ऊ आफैंलाई आगो लगाएर सडकमा ढल्छ,
तब मात्र यहाँ संवेदनाको कुरूप व्यापार शुरु हुन्छ!
तिम्रो आत्मदाहले हामी जिउँदा लासहरूलाई थुकेको छ, गणेश!
तिमी त जल्यौ र यो क्रूर संसारको ऋण र पीडाबाट मुक्त भयौ,
तर तिमीलाई जलाउने यो व्यवस्था र अन्यायको महल,
त्यही आगोको फिलिंगोले नजल्दासम्म
आक्रोशको आगो सल्किरहनेछ, सल्किरहनेछ!
तिमी अब फर्केर आउने छैनौ,
तर तिम्रो अनुपस्थितिले छोडेका प्रश्नहरू
हरेक विवेकशील मनमा बलिरहेका छन्।
जबसम्म राज्यले
नागरिकको पीडालाई सुन्न सिक्दैन,
जबसम्म न्याय पहुँचभन्दा टाढा रहन्छ,
जबसम्म सत्ता उत्तरदायित्वभन्दा माथि ठानिन्छ,
त्यतिबेलासम्म यो आक्रोश निभ्ने छैन।
तिम्रो कठोर शहादतलाई भावपूर्ण श्रद्धाञ्जली !
प्रतिक्रिया 4