News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारसँग क्षमायाचना गर्नुभएको छ ।
- सांसद नेम्वाङले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिएका निकाय वा व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
- विकास भनेको केवल अग्ला संरचना बनाउनु नभई नागरिकले आफू सुरक्षित र सम्मानित रहेको अनुभूति गर्नु हो भन्ने कुरामा उहाँले जोड दिनुभएको छ ।
२५ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा सरकारलाई मात्रै औंला देखाएर कानुन र नीति निर्माण तहमा पुगेकाहरू मुक्त हुन नसक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा नेपालीको आत्मदाहपछिको उत्पन्न घटनाबारे लामो स्टाटस राख्दै उनले गणेशको पीडा समयमै राज्यका संयन्त्र सुन्न र साहरा दिन नसकेकोमा क्षमायाचना समेत गरेका छन् ।
‘हामी स्वयं पनि कानुन र नीति निर्माण गर्ने ठाउँमा छौं । त्यसैले केवल सरकारतर्फ औँला देखाएर आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनौं,’ सांसद नेम्वाङले भनेका छन्, ‘राज्यका संयन्त्रले समयमै उहाँको पीडा सुन्न, बुझ्न र सहारा दिन नसकेकोमा उहाँको परिवारसँग क्षमायाचना गर्न चाहन्छु ।’
यस घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थितिको सत्यतथ्य छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न उनको आग्रह छ । सँगसँगै कुनै जिम्मेवार निकाय वा व्यक्तिको लापरवाही देखिए कानुनबमोजिम कारबाही गरिनुपर्ने उनको भनाइ छ ।
राज्य र राज्यको संरचनाले गरेको तयारी लगायतका विषयमा तर्क गर्दै उनले मृतक नेपालीलाई श्रद्धाञ्जली अर्पण गर्नु मात्र पर्याप्त नभएको बताएका छन् ।
‘यदि यो घटनाले हाम्रो चेतना, हाम्रो नीति, हाम्रो आपत्कालीन तयारी र हाम्रो व्यवहार परिवर्तन गरेन भने भोलि अर्को गणेश नेपालीका लागि फेरि यही दु:ख, यही प्रश्न र यही श्रद्धाञ्जली लेख्नुपर्नेछ,’ उनले भनेका छन्, ‘विकास भनेको केवल अग्ला संरचना निर्माण गर्नु होइन। विकास भनेको सबैभन्दा पछाडि परेको नागरिकले समेत आफू सुरक्षित, सम्मानित र राज्यको संरक्षणमा छु भन्ने अनुभूति गर्न सक्नु हो ।’
आफ्नै समाज, आफ्नै राज्य र आफ्नै संवेदनालाई ऐनामा हेर्ने अवसर यो घटनाले दिएको भन्दै उनले भनेका छन्, ‘त्यो ऐनाबाट आँखा नफेरौँ ।’
प्रतिक्रिया 4