+
+
फुटसल लिगमा लफडा :

रेफ्रीप्रति सबै क्लब असन्तुष्ट, बिदा दिन राइजिङ क्लबको आग्रह

विकास रोका मगर विकास रोका मगर
२०७८ असोज ८ गते १९:५७
एन्फालाई ज्ञापनपत्र बुझाउँदै फुटसल क्लबका सदस्यहरु

८ असोज, पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा क्लबहरुले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले रेफ्रीका विभिन्न ७ कमजोरी औंल्याउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएका छन् ।

एक सातादेखि जारी लिगमा १० टिमको सहभागिता छ । १० वटै टिमको संयुक्त हस्ताक्षरसहित एन्फालाई ज्ञापनपत्र बुझाइएको छ । एन्फाका फुटसल विभाग प्रमुख विनोद गुरुङलाई बुझाइएको ज्ञापनपत्रमा रेफ्रीमा अनुभवीको कमी, कमजोर निर्णय क्षमता तथा नियमप्रति पूर्ण जानकार नभएको लगायत आरोप लगाएका छन् ।

लिगमा १२ जना रेफ्री छन् । एन्फालाई ज्ञापनपत्र बुझाउँदै नेपाल फुटसल व्यवसायी संघका अध्यक्ष एवं ढुकु फुटसल हबका मुख्य प्रशिक्षक राज महर्जनले सबै रेफ्री नयाँ भएकाले परिपक्व निर्णय लिन नसकेको आरोप लगाए ।

‘फुटसलमा पनि फुटबलका झैं नियम छन् । नियमअनुसार खेलाएको आजसम्म थाहा पाइएन । कस्तो खेल खेलाइरहेका छन् ? निर्णय नै कमजोर देखियो,’ महर्जनले भने, ‘सुधार गर्न सबै क्लबले हस्ताक्षर गर्दै ज्ञापनपत्र बुझाएका छौं ।’

शुरुमा अरु टिमले असन्तुष्टि जनाए पनि पोखराका टिमहरु रेफ्रीबारे बोलेका थिएनन् । तर पोखराका दुवै टिम पनि असन्तुष्टि जनाएपछि ज्ञापनपत्र बुझाउनु परेको उनले बताए ।

बिदा दिनुस्, आजै घर जान्छौं’

लिगको शीर्ष स्थानमा रहेको धरानको द राइजिङ क्लबले शुक्रबार पहिलो हार व्यहारेपछि रुष्ट बनेको छ ।

रेफ्रीले नियतवश आफूहरुलाई शिकार बनाइरहेको क्लबका प्रशिक्षक युवेन्द्र लिम्बुको आरोप छ । ‘शुरुदेखि नै हाम्रा राम्रा खेलाडीलाई इन्टेन्सनल्ली कार्ड दिएर अर्को खेलमा प्रतिबन्ध लगाउने काम भइरहेको छ,’ लिम्बुले अनलाइनखबरसँग भने, ‘आज (शुक्रबार) पनि त्यही भयो । प्लेइङ सेटका ३÷४ जना खेलाडी घाइते भइसके । अरु खेलाडीलाई पनि बन्देज लगाइयो ।’

आफूहरु रेफ्रीको गलत निर्णयको शिकार भएको भन्दै लिम्बुले लिगबाटै बाहिर निकाल्न आग्रह गरे । ‘अब हामी खेल्नै नसक्ने अवस्थामा पुगिसक्यौं । एन्फा र फुटसललाई सम्मान गर्छौं, माया गर्छौं । हामीलाई बिदा दिनुस्, घर जान्छौं,’ उनले भने ।

धरानको द राइजिङ क्लबले यसअघिको ३ खेलमा जित निकालेर शीर्ष स्थानका थियो । शुक्रबारको खेलमा शंखमूल क्लबसँग ५–२ गोल अन्तरले हार व्यहोरेको थियो । राइजिङको अर्को खेल आइतबार सविन मेमोरियल क्लबसँग हुनेछ ।

शनिबार नै भएको अर्को खेलमा प्रभातफेरी र ढुकु फुटसल क्लब ४÷४ गोलको बराबरीमा रोकिएका थिए । त्यसअघि भएको खेलमा पोखराको सविन मेमोरियल क्लबले झरना युथ क्लब रुपन्देहीलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो ।

छलफल गरेर टुंग्याउँछौं : एन्फा

एन्फा फुटसल प्रमुख विनोद गुरुङ टिमले गरेको गुनासोका विषयमा त्रिपक्षीय छलफल गरेर अघि बढ्ने बताए ।

पहिलो राष्ट्रिय लिग भएकाले आफूहरुको तर्फबाट पनि गल्ती हुन सक्ने भन्दै उनले कमजोरी सुधार्दै जानुपर्ने बताए । शनिबार ९ बजे छलफल राखेको जनाउँदै उनले भने, ‘भोलि रेफ्री, कोच, हामी सबै बसेर के भएको रहेछ, छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?