+
+

पोखराबाट राजदूतहरुको सन्देश : नेपाल अद्भुत र सुरक्षित छ

अमृत सुवेदी/युनिश गुरुङ अमृत सुवेदी/युनिश गुरुङ
२०७८ असोज ११ गते २२:०५

११ भदौ, पोखरा । पोखरा लेकसाइडबाट बिहान देखिएको सर्लक्कै खुलेको हिमाल अन्नपूर्ण गाउँपालिकाको नौडाँडा देउराली पुग्दा लगभग बादलको घुम्टोभित्र लुकिसकेको थियो । १० बजे नौडाँडा पुग्दा २ घन्टाअघिजस्तो हिमालको लस्कर देखिएन ।

बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिचे उनी हुन्, नेपालका लागि दक्षिण कोरियाली राजदूत । गत साल राजदूत नियुक्त भएर नेपाल आए पनि कोरोना महामारीले घुम्न निस्कन नपाएका राजदूत पार्कले पहिलो पटक पोखरा घुम्ने अवसर पाएका थिए ।

पोखरादेखि नौंडाँडा हुँदै कास्कीकोट दरबार पुगेपछि पार्क अझै प्रभावित भए । दक्षिणमा फेवाताल, पोखरा सहरसँगै देखिने थुम्काहरु, उत्तरमा हिमालय पर्वतहरु र जता फर्किए पनि मनै लोभ्याउने दृश्यहरु देखेर पार्कले दंग हुँदै भने, ‘हाइकिङ गर्दै यस्तो सुन्दर ठाउँ आइपुग्दा धन्य भएँ ।’

दक्षिण कोरियाबाट बर्सेनि ४० हजारभन्दा बढी पर्यटन नेपाल आउँथे । कोरोना माहामारीले अहिले शून्य छ । नौडाँडा, कास्कीकोट ७ किलोमिटर हाइकिङ गर्दै सराङकोट आइपुगेर पार्कले भने, ‘हाइकिङको भद्भुत आनन्द लिएँ । नेपाल साँच्चिकै सुन्दर छ । म मेरो देशवासीलाई पनि नेपाल घुम्न आउन अनुरोध गर्नेछु ।’

जर्मन राजदूत डा. थोमस प्रिन्ज प्राकृतिक तथा सांस्कृतिक सुन्दरताले मात्रै होइन नेपाली आतिथ्यता र आत्मियताले पनि पुलकित भएको बताए । कास्कीकोट हाइकिङ उक्लिँदै गर्दा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीसँग थोमस भन्दै थिए, ‘यो अवसर मेरो जीवनकै महत्वपूर्ण हुने छ ।’

थोमस राजदूत नियुक्त भएको १ महिना पनि पुगेको छैन । राजदूत भएलगत्तै पोखरा घुम्न पाएको र यहाँको जस्तो प्रकृति, संस्कृति र आत्मियता अन्य ठाउँमा आफूले नदेखेको उनले बताए । ‘म थुप्रै ठाउँमा घुम्न पुगेको छु । तर, नेपालको सुन्दर प्रकृतिजस्तै यहाँका जनताले गर्ने स्वागत, पस्कने परिकार र दिने आत्मियता अरु ठाउँमा भेटेको छैन,’ थोमसले भने, ‘मैले जीवनसाथीलाई सँगै ल्याएको छु । उनको लागि पोखराले दिएको खुसी जीवनकै सरप्राइज भयो ।’

संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले ८ बजे बिहानै सराङकोट पुगेर नेपाल घुम्न आउन आह्वान नै गरेकी छन् । अन्नपूर्ण हिमश्रृङ्खला, माछापुच्छ«े हिमाल र पोखरालाई पृष्ठभूमिमा राखेर उनले नेपाल पर्यटकका लागि खुला रहेको सन्देश दिइन् । नेपालको संस्कृति र प्रकृति महसुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आउन आग्रह गर्दै टिकटकमा भिडियो पोस्ट गरेकी हुन् ।

यतिबेला पोखरामा रहेका ११ देशका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधि पोखरामा छन् । उनीहरुले नेपाल र पोखराको प्रशंसा गर्दै नेपाल सुन्दर, सुरक्षित र पर्यटनका लागि खुला रहेको सन्देश बाँडिरहेका छन् ।

पोखरामा रहेका राजदूतसहितको टोली नेपाली पञ्चेबाजामा रमाए । पोखरेलीको स्वागतबाट हर्षित भए । सेलरोटी, अचार र स्थानीय परिकारको स्वाद चाखे । प्रकृतिको मजा लिँदै हाइकिङ गरे । प्रथम शाहवंशीय राजा कुलमण्डन शाहको दरबारबाट पोखरा नियाले ।

सन्दर्भ थियो, विश्व पर्यटन दिवस र यो अवसरको चाँजो मिलाएको हो, गण्डकी प्रदेश सरकारले । पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि खुला, सुरक्षित रहेको सन्देश दिन पर्यटन दिवसमा ११ देशका राजदूतसहित २५ जनाको विशिष्ट पाहुना डाकिएको हो ।

पोखरा आएका विशिष्ट पाहुनाको सम्मानमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार साँझ रात्रिभोजको आयोजना गरेका थिए । सोमबार उनीहरुले हाइकिङसँगै पाताले छाँगाको अवलोकन गरे । फेवातालमा ढुंगा सयर गरे । तालबाराही मन्दिर र फेवा किनारमा हुने आरतीमा सहभागी भए ।

भ्रमणमा सहभागी राजदूतहरुले नेपाल सुरक्षित खुला रहेको सन्देश दिने बताएका छन् । नेपालका लागि इजिप्टका राजदूत नोहा मेम्डी अह्मेदले आफ्नो देशका नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्ने बताइन् ।

इजिप्टमा बर्सेनी ९० देखि १ करोड ३० लाखसम्म पर्यटन घुम्न पुग्ने बताउँदै उनले भनिन्, ‘कोभिड सामान्य भए नेपालले पनि धेरै देशका पर्यटनक भित्र्याउने सामर्थ्य राख्छ ।’

फिनल्याण्डका राजदूत पट्टी जुहानी एन्टिनेनले नेपालको पर्यटकीय सम्भावना निकै उच्च रहेको बताए । पोखरा घुमेपछि उनले काठमाडौं बाहिर पनि सुन्दर नेपाल रहेको उल्लेख गरे । ‘काठमाडौंमात्र नेपाल होइन, त्योभन्दा बाहिर पनि निकै सुन्दर नेपाल छ,’ उनले भने ।

युएईका राजदूत साहिद हमदान अल नक्बी अहिले नेपालमा भएका सबै राजदूतभन्दा पुराना हुन् । राजदूत नब्बीले कोरोनाको मार खेपेको नेपालले अब पर्यटकीय सम्भावनाकै कारण माथि उठ्ने बताए ।

कोरोना माहामारीपछि देशमा धेरै देशका राजदूत सहभागी भएर कार्यक्रम भएको यो पहिलो पटक हो । पर्यटन क्षेत्र उकास्न सरकारीस्तरबाटै यसको नेतृत्व लिएर आयोजना हुँदा सबैभन्दा बढी निजी क्षेत्र खुसी छन् ।

निजी क्षेत्रकै योजनालाई गण्डकी प्रदेश सरकारले नेतृत्व गरेको हो । राजदूतसहितको विशिष्ट पाहुना, व्यवसायी र सरोकारवालाई सहभागी भएर गण्डकी प्रदेशले सम्मानमा रात्रीभोजको आयोजनासमेत गरेको थियो । भोजअघि कोभिडले थला परेको पर्यटन उकास्ने विषयमा चर्चा भएको थियो ।

कोरोनाले थला परेको पर्यटन उद्योग र जनजीवन उठाउँदै दिगो विकासका योजनाहरु अघि बढाउँदै सरकार अगाडि बढ्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र पोखरा पर्यटनका लागि खुला रहेको सन्देश पुर्‍याउन आग्रह गरे ।

त्यसअघि नेपाल पर्यटन कार्यकारी निर्देशक धनञ्जय दवाडी, गण्डकी प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष रघु काफ्लेले अहिलेको अवस्था र अबको सम्भावनाबारे प्रस्तुति राखेका थिए ।

कोरोनापछि नेपालमै पहिलो पटक पोखरामा भएको विशिष्ट पाहुनालाई निम्त्याएर भएको कार्यक्रमले सकरात्मक सन्देश प्रवाह भएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । पोखरामा भएको राजदूतसहितको विशिष्ट भ्रमणले नेपालमै महत्वपूर्ण सन्देश प्रवाह गरेको डा. दुर्गाबहादुर सुवेदीले बताए ।

‘कोरोनामा माहामारी सुरु भएको २ वर्षमा भएको यो सबैभन्दा ठूलो र पहिलो कार्यक्रम हो । नेपालमा रहेका विदेशी राजदूतहरु एक साथ आउनु पोखरा र गण्डकी प्रदेशकै पनि महत्वपूर्ण कार्यक्रम हो,’ राजदूतहरुको नेतृत्व गरेर पोखरा आएका डा. सुवेदीले भने, ‘विभिन्न देशको कुटनीटिक सम्बन्ध, संयुक्त राष्ट्रसंघीय र क्षेत्रीय कुटनीतिक हिसाबले पनि यो महत्वपूर्ण रह्यो ।’

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले अब पर्यटन जागेको सन्देश प्रवाह गर्न कार्यक्रम महत्वपूर्ण भएको बताए । कोभिडलगत्तै भएको भ्रमणले सबैभन्दा बढी पोखराको निजी क्षेत्रलाई हौसला बढाएको र नेपालको पर्यटन खुला तथा सुरक्षित छ है भन्ने सन्देश दिन सफल भएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए ।

भ्रमणमा नेपालस्थित राजदूतहरुलाई निम्ता गरिएको भए पनि सबै आएनन् । भारत, चीन, अमेरिकाजस्ता शक्ति राष्ट्रका राजदूतलाई बेग्ला बेग्लै पोखरा भ्रमणका लागि आग्रह गरिने सरकारले बताएको छ । उत्तर कोरियाका राजदूत भ्रमणमा पोखरा आउने पक्का भएर पनि आइतबार मात्र रद्ध गरेका थिए । राजदूतसहितको टोली मंगलबार काठमाडौं फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?