+
+

एकीकृत समाजवादीको डोटी संयोजकमा बोगटी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १२:००

१२ असोज, डोटी । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले डोटी जिल्ला कमिटी घोषणा गरेको छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको सो पार्टीले जनाएको छ ।

सोमवार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रम एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जिल्ला कमिटी घोषणा गरेकी हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादमा ओलीको पक्षमा खुलेर लागेका बोगटीलाई ओली समूहले केन्द्रीय सदस्यसमेत बनाएको थियो ।

एमालेमा हुँदा र तत्कालीन नेकपा हुँदा जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका बोगटीले एमाले विभाजन हुँदा पनि आफू एमालेमै रहने प्रतिक्रिया दिएका थिए । उनी पछिल्लो चरणमा एकीकृत समाजवादीतिर लागेका हुन् । बोगटी नेकपा एमालेबाटै २०७४ सालको स्थानीय तहको निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष थिए ।

१०५ सदस्यीय कमिटी बनेको तर पदाधिकारीहरुको विषयमा अहिलेनै टुङ्गो नलागेको बोगटीले जानकारी दिए । उनले भने, ‘अहिले संयोजक मात्रै राख्ने र अरु सवै सदस्य बनाउने निर्णय भयो, अब कमिटीको बैठकले जिम्मेवारी बाँडफाँट गर्नेछ ।’

मन्त्री जोशीले सोमवारै सो पार्टीको जिल्ला कार्यालयसमेत उद्घाटन गरेकी छन् । जिल्ला सदरमुकाम सिलगढीमा कार्यालय स्थापना गरिएको हो । त्यस्तै उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय अखिल नेपाल महिला संगठनको जिल्ला कमिटी र महेन्ऽ कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक संगठनको जिल्ला कमिटी पनि घोषणा गरेको छ ।

सो अवसरमा मन्त्री जोशीले एमालेभित्र रहेर काम गर्न सक्ने अवस्था नभएकोले आफूहरूले बिद्रोह गर्नु परेको वताईन् । एमाले अध्यक्ष ओलीबाट पटक-पटक संबिधान मिच्ने र पार्टीलाई कव्जा गर्ने काम भएको आरोप लगाइन् । ‘विधि पद्दति मिचेर मनोमानी ढंगले पार्टी चलाउने काम भयो’ उनले भनिन्, ‘पटक-पटक प्रयास गर्दा पनि ओलीको बानीमा सुधार नभएपछि अन्ततः बिद्रोह गर्नु परेको हो ।’

उनले एकीकृत समाजवादी पार्टी विधि र पद्धति अनुसार चल्ने दावी गरिन् । एमाले अध्यक्ष ओलीप्रति व्यङ्य गर्दै उनले थपिन्, ‘एकीकृत समाजवादी पार्टीलाई ‘बा’ को पार्टी होइन, कम्युनिस्ट पार्टी बनाउने छौं ।’ उनले लोकतन्त्रको रक्षाका लागि एकिकृत समाजवादी स्थापना भएको बताइन् ।

कार्यक्रमका सभाध्यक्ष एवं संविधान सभा सदस्य हर्कबहादुर सिंहले एकीकृत समाजवादी पार्टीलाई अबको एक वर्षमा जिल्लाकै उत्कृष्ट पार्टी बनाउने बताए । विगतदेखि नै आफूले पार्टीको हकहितका लागि आफूबाट हुने जति सहयोग पूर्ण रुपमा गरेको सिंहको भनाइ थियो । जिल्ला पार्टी घोषणा भएपछि अव पार्टीको संगठन विस्तारको कामलाई अगाडि बढाइने उनले बताए ।

पार्टी कमिटी र जनवर्गीय संगठनलाई चुस्तदुरुस्त बनाउँदै वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गकि लगायतका उत्पिडनको अन्त्य गर्दै सशक्त पार्टी निर्माण गर्ने संयोजक बोगटीले बताए ।

यसैबीच सोमबार नै एकीर्कत समाजवादीको जिल्ला कमिटीमा नाम घोषणा गरिएका एमाले जिल्ला कमिटी सदस्य भोजनाथ योगीले आफू कुनै पनि पार्टीमा हालसम्म नखुलेको बताएका छन् । “आज मिति २०७८ साल असोज ११ गते नेकपा (एकीकृत समाजवादी) डोटीको जिल्ला कमिटी घोषणामा मेरो नाम पनि देखिन गएकोले यसमा मेरो सहमति नरहेको जानकारी गराउन चाहान्छु,” उनले भनेका छन् ।

उनले आफू व्यक्तिगत कामको सिलसिलामा हाल काठमाडौंमा रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अहिले आफ्नै काममा व्यस्त भएका कारण कुनै पार्टी संगठनमा आवद्ध भइहाल्ने अवस्थामा नरहेको र तटष्ठ रहेको कुरा प्रष्ट पार्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?