+
+

एकीकृत समाजवादीलाई कांग्रेसको प्रस्ताव : बागमतीमा अढाइ महिना बानियाँ मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:०५
मुख्यमन्त्रीका दाबेदार एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे (बाँया) र नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ ।

१३ असोज, हेटौंडा । नेपाली कांग्रेसले साढे दुई महिना बागमती सरकारको मुख्यमन्त्री आफ्नो दललाई दिन प्रस्ताव गरेको छ । तर पाँचदलीय गठबन्धनको अर्को सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीले कांग्रेसको प्रस्ताव स्वीकार गरेको छैन ।

नेकपा एमाले विभाजनसँगै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । उनले दशैं अगाडि नै प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि इन्द्रबहादुर बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् । कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेका अनुसार २५ गतेसम्म प्रदेशसभाको नवौं अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी छ ।

प्रदेशसभामा  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ । माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् ।

तर  गठबन्धनबाट मुख्यमन्त्री को भन्ने टुंगो लागेको छैन । मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादी पार्टीको दाबी छ । ७ वटा प्रदेश सरकारमध्ये दुई वटा (प्रदेश १ र बागमती) को मुख्यमन्त्री आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ ।

प्रदेश १ को माधवकुमार नेपाल नेतृत्वको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने निश्चित जस्तै छ ।

तर बागमतीमा भने कांग्रेसले अढाइ महिना सरकारको नेतृत्व आफ्नो दललाई दिन प्रस्ताव गरेको छ । बागमतीमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ छन् । उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् ।

कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन् ।

तर सहमति भइसकेको छैन । एकीकृत समाजवादीबाट संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छ । एक नेता भन्छन्, ‘भरेभोलि मन्त्रालय बाँडफाँटबारे छलफल हुँदा प्रदेश सरकारको नेतृत्वबारे पनि एउटा सहमति होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?