+
+

अनेरास्ववियू क्रान्तिकारीको अध्यक्ष सुरेन्द्र बस्नेत कि पञ्चा सिंह ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:५८

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन भोलि बिहीबार काठमाडौंमा सुरु हुँदैछ ।

१६ गतसम्म चल्ने सम्मेलनले अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्ष रञ्जित तामाङले सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने जानकारी दिए ।

२१ औं राष्ट्रिय सम्मेलनमा पहिलोपटक निर्वाचनमार्फत् तामाङ अध्यक्ष चुनिएका थिए । अहिले नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

प्रचण्डले मागे अध्यक्षका दाबेदारसँग कार्ययोजना

अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र पञ्चा सिंहलाई बलियो दाबेदारको रुपमा हेरिएको छ । बस्नेत वरिष्ठ उपाध्यक्ष हुन् भने सिंह उपाध्यक्ष । उनीहरुबाहेक उपाध्यक्षहरु तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम तथा महासचिव उत्तम अधिकारी पनि अध्यक्षका दावेदार हुन् ।

माओवादी नेताहरुका अनुसार अनेरास्ववियू क्रान्तिकारी)को अध्यक्षमा बस्नेत र सिंहमध्ये एक हुनेछन् । बस्नेत पार्टी अध्यक्ष प्रचण्डका निकट मानिन्छन् भने सिंह अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर निकट मानिन्छिन् ।

नेतृत्वका आकांक्षीहरुसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार झण्डै तीन घण्टा छलफल गरेका थिए ।

आफ्नै निवास खुमलटारमा भएको छलफलमा उनले आगामी कार्ययोजनाबारे जिज्ञासा राखेका थिए । प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षले अन्तर्वार्ता लिए जस्तो गरी संगठन कसरी बनाउने योजना छ भनेर विभिन्न जिज्ञासा राख्नुभयो र अध्यक्षका प्रत्यासीका कुरा सुन्नुभयो ।’

सबैलाई सुनेका प्रचण्डले प्रत्यासीमध्ये एक जनालाई अध्यक्ष बनाउने र अरुलाई पार्टीमा केन्द्रीय भूमिका दिने आश्वासन दिएको अखिल क्रान्तिकारीका एक नेताले बताए ।

अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने आगामी राष्ट्रिय सम्मेलनको तयारीको सन्दर्भमा अध्यक्ष प्रचण्डसँग छलफल गरेको बताए । ‘अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई नै दिएर फर्किएका हौं,’ तामाङले भने ।

प्रज्ञामा उद्घाटन, व्यांक्वेटमा बन्दसत्र

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उदघाटन अध्यक्ष प्रचण्डले बिहीबार मध्याह्न नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा गर्नेछन् ।

‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा ७ सय प्रतिनिधिहरु सहभागी हुनेछन् । विगतमाा दुई हजारसम्म प्रतिनिधि सहभागी हुने गरेकोमा यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण प्रतिनिधिहरुको संख्या कम रहने अखिल क्रान्तिकारीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अष्ट्रेलिया, ब्राजिल, क्युबा, भेनेजुयला लगायत देशका भाइचारा युवा तथा विद्यार्थी संगठनहरुले शुभकामना मन्तव्य राख्ने अध्यक्ष तामाङले जानकारी दिए । ‘कतिपयले लिखित रुपमा शुभकामना मन्तव्य पठाएका छन् । कतिपयले भर्चुअल रुपमा सम्बोधन गर्नेछन्,’ अध्यक्ष तामाङले भने ।

नेपालकै विद्यार्थी संगठनका नेताहरुले पनि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्ने छन् । असोज १५ र १६ गते कार्की व्यांक्वेटमा बन्दसत्र हुने छ ।

बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङको राजनीतिक तथा सांगठनिक प्रस्ताव, महासचिव उत्तम अधिकारीको विधान संशोधन प्रस्ताव र कोषाध्यक्ष केशव रावलको आर्थिक प्रस्ताव पेश हुने छ । तीनवटै प्रस्तावमा समूहगत छलफल पछि पारित गरेर नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?