+
+

सुन तस्करी प्रकरणमा आरोपीको पक्षबाट १३ वकिलको बहस

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:१९

१३ असोज, विराटनगर । जिल्ला अदालत मोरङमा सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ जारी छ । आइतबारदेखि जारी सुनुवाइमा बुधबार प्रतिवादीका तर्फबाट १३ जना कानुन व्यवासायीले बहस गरेका छन् ।

मुद्दामा प्रतिवादी बनाइएका ७७ मध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको पक्षमा १३ जना कानुन व्यवसायीले बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

बुधबार अधिवक्ता विनोद तिमल्सिना, विकास थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रतिवादीको प्रतिरक्षामा बहस गरेका हुन् ।

बुधबार कानुन व्यवसायीले प्रतिवादीहरु सञ्जयबहादुर राउत, श्यामबहादुर खत्री, राजन थापा, अम्मरमान डंगोल, माधव भनिने मदन घिमिरे, मोतीराम श्रेष्ठ, एलबी भनिने लालबहादुर मगर, राजु महर्जन, छिरिङ वाङ्गेल घले, शैयद अकबर साह, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ लगायतको पक्षमा बहस गरेका थिए ।

प्रतिवादीमध्ये नेपाल प्रहरीका एसएसपी खत्री र डीएसपी राउत जिल्ला अदालत मोरङको आदेशबाट थुनामा छन् ।

मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश भरत लम्सालको इजलासमा जारी छ । आइतबार र सोमबार सरकारी वकिलले बहस गरेका थिए । मंगलबार पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा वरिष्ठ अधिवक्ता रमेश कोइरालाले बहस गरेका थिए ।

फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन् ।

प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराइसकेका छन् ।

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर मुद्दा दर्ता भएको थियो ।

दुईवटा पुरक अभियोगसहित ७७ जनालाई प्रतिवादी बनाइएको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन आयात भएको दाबी गरिएको छ ।

दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेतीको समूहले २०७४ साल फागुन १८ गते उर्लाबारीका सनमको हत्या गरेको थियो । सनम हत्याको अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणको सञ्जाल पत्ता लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?