+
+
फोटो कथा :

देश घुम्न पैसा होइन, इच्छाशक्ति चाहिन्छ

कुशल बिष्ट कुशल बिष्ट
२०७८ असोज १६ गते १९:०१

म जन्मेको भूगोल समतल थियो । त्यो कोशीको अनन्तसम्म किनार, विशाल मैदान । पहिलो पटक पहाड देखेको र टेकेको भनेकै काठमाडौं आउँदा हो ।

पहाड हेर्ने र त्यसको कठोरतालाई नजिकबाट अनुभव गर्ने हुटहुटी थियो । यो हुटहुटी अरू बढाइदियो, ‘इन टु द वाइल्ड’ले । यो यात्रा सम्बन्धीको बायोग्राफिकल एडभेन्चर सिनेमा थियो । एक युवा बेपर्वाह यात्रामा निस्केपछि के हुन्छ ? सिनेमा त्यसैको वरिपरि घुमेको छ ।

मलाई सिनेमाको पात्र जस्तै बनेर धुमधामले घुम्ने रहर पलायो ।

पहिलो पटक मैले अन्नपूर्ण पदमार्ग जाने योजना बनाएँ । तर, जति सहज रूपमा मैले यो योजना तय गरेको थिएँ, त्यस अनुरूप चाँजोपाँजो मिलाउन गाह्रो भयो । किनभने मलाई त्यसबेला कसैले पत्याएनन् । म अन्नपूर्ण पदमार्ग जान्छु भन्दा कसैले मलाई साथ दिन तयार भएनन् । आखिरमा पटक-पटकको प्रयासपछि म अन्नपूर्ण पदमार्गका लागि निस्किएँ ।

त्यो पहाडको बाटो । उकालो, ओरालो । खोंच । लेकाली बस्ती । म एकदमै नयाँ संसारमा विचरण गर्दै थिएँ । मन फुरुंग थियो ।

अन्नपूर्ण पदयात्रापछि म अरू दृढ भएँ, अब मौका मिल्नासाथ घुम्न निस्कन्छु । निस्किएँ पनि । एक पटक होइन, पटक-पटक । नेपालको कुनै जिल्ला बाँकी छैन, जहाँको भूगोल मेरो पैतालाले नटेकेको होस् । अनेकथरी भूगोल, अनेकथरी मान्छेहरू, अनेकथरी रहनसहन, अनेकथरी खानपान । सबै देखियो, बुझियो, भोगियो ।

पूर्वभन्दा पश्चिम मनोहर

म पूर्वमा जन्मिएँ । तर, घुमफिरका लागि मलाई पश्चिमको भूगोलले लोभ्याउँछ । तुलनात्मक रूपले हेर्दा पूर्वमा भन्दा पश्चिममा घुम्ने ठाउँहरू अनगिन्ती छन् । पश्चिमको कुनै भूगोलमा टेक्नुहोस्, अद्भुत ठाउँहरू देख्न सक्नुहुनेछ । ताल, फाँट, झरना, नदी आदिले पश्चिमलाई हराभरा बनाएको छ ।

भर्खरै मात्र म बडिमालिका पुगेर फर्किएँ । यससँगै म त्यहाँ तीन पटक पुगिसकेको छु । बेग्ला-बेग्लै मौसममा ती स्थानहरूले आफ्नो स्वरुप परिवर्तन गर्छन् । यतिबेला त्यहाँ हरियाली छाएको हुन्छ भने हिउँदमा त्यो सेताम्मे हुन्छ ।

मौसम अनुसार कुनै पनि ठाउँको सौन्दर्य फरक हुने भएकाले म ती स्थानहरू एक पटक होइन, पटक-पटक जाने गरेको छु । घुमघामको लागि पश्चिम आफैंमा कठोर त छ, तर निकैै लोभलाग्दो पनि । दुःखलाग्दो कुरा चाहिं के भने ती स्थानहरूले जति चर्चा पाउनुपर्ने हो, सो पाएका छैनन् । ती क्षेत्रहरूको पूर्वाधार विकास गर्ने हो भने पर्यटकको ओइरो लाग्नेथियो । देश-विदेशका पर्यटकको घुइँचो हुनेथियो । तर, पश्चिमका त्यति मनोहर पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन् । माल पाएर चाल नपाएको भने जस्तै ।

अतिथि सत्कारमा पूर्व अगाडि

सजिलोको हिसाबले भन्नुपर्दा पश्चिम भन्दा पूर्व घुम्न सहज छ । यातायात, बसोबास सहज छ । सबैतिर सडक सञ्जालले जोडेको छ । तर, घुमघाम गर्नेले सुविधा खोजेर हुँदैन । सुविधा भन्दा यात्रा रोमाञ्चक हुनुपर्छ । यात्रा रोमाञ्चक हुनका लागि त्यहाँ दुःख, सुख, डर, खुशी सबै मिसिएको हुनुपर्छ ।

यसरी रोमाञ्चक यात्राका लागि पनि पश्चिम नै उपयुक्त छ । यद्यपि पश्चिममा अतिथि सत्कारको परिपाटी त्यति देखिंदैन । कुनै नौलो आगन्तुक देख्दा उनीहरू लजाउने वा डराउने गर्छन्, खासगरी ग्रामीण भेगमा ।

तर, पूर्वेलीहरू हार्दिकतापूर्वक प्रस्तुत हुन्छन् । अतिथि सत्कारको परिपाटी राम्रो छ ।

यात्रामा जे पनि हुन्छ

घुमफिरमा निस्किएपछि जस्तोसुकै अवस्थाको पनि सामना गर्न तयार हुनुपर्छ । थकान, भोक, भय सबै कुरा । कहिले भोकभोकै हिंड्नुपर्छ । बास बस्ने ठाउँ भेटिंदैन । भेटिएको घरमा पनि बास दिंदैनन् ।

राम्रा, नराम्रा सबै किसिमका मान्छे भेटिन्छन् । खराब नियतका मान्छेहरू पनि हुन्छन् । यात्रामा त्यस्ता मान्छेहरू कति भेटिन्छन् कति । कहिले गाँजा तानेर झुमझुम भएका केटाहरू घुरिरहेका हुन्छन् । तर, म आफैं पनि अलि डरलाग्दै देखिने भएकाले होला, मलाई लुट्ने र चुट्ने हिम्मत जो कोहीले गरेका छैनन् ।

यात्रामा जति दुःख पाइयो, पछि त्यो उत्ति नै रमाइलो लाग्छ । यसपालि त्यस्तै भयो । बडिमालिकाको यात्रामा एउटा सहयोगी भाइ भेटियो । उनैको पछि लागेर जंगलको बाटो हिंडेको, कहाँ हराइएछ । रात छिप्पिंदैछ, बाटो भेटिएको छैन ।

‘बाटो देखाइदिन्छु’ भनेका भाइ पनि अलमलिएछन् । रात पर्दैछ, हामी हिंडिरहेका छौं । कता हो कता पानीको छङछङ आवाज आइरहेको छ । निकै ओरालो झरेपछि थाहा भो, त्यो विशाल झरना रहेछ । हेर्दै कहालिलाग्दो । त्यस्तो राति झरनाको आवाज डरलाग्दो सुनिने रहेछ ।

पछिल्लो समय म कुकुरलाई साथमा लिएर हिंड्ने गरेको छु । यसपालि कुकुरले नै बाटो पहिल्यायो । कुकुरलाई पछ्याउँदै हिंड्दा सानो बाटो भेटियो ।

केही समय हिंडेपछि हामी बल्ल एउटा गोठमा पुग्यौं । त्यहाँ तीन जना केटाकेटी थिए । उनीहरू शुरूमा त डराए । तर, पछि मैले धेरै अनुरोध गरेपछि बाटो पहिल्याउन अघि बढे । उनीहरूलाई अगाडि लगाएर बल्ल हामी बास बस्ने ठाउँमा पुगियो ।

कुकुर मेरो साथी

अहिले मसँग यात्रामा कुकुर पनि हुन्छ । कहिले कहाँ पुगिन्छ, ठेगान हुन्न । कस्तो अवस्था भोग्नुपर्ने हो, थाहा हुन्न । त्यसैले कुकुरलाई साथी बनाएको छु ।

भर्खरै लकडाउनको बेला साइबेरियन हस्की जातको कुकुर किनेको थिएँ । कोरोनाकालमा किनेकाले त्यसको नाम ‘कोभिड’ राखिदिएँ । त्यसयता मैले घुमघामका लागि उसलाई पनि साथमा लिएर जान थालेको छु । कुकुरलाई साथमा लिएर हिंड्दा खर्च केही बढ्न सक्छ । तर, कुकुरसँग यात्रा गर्नुको बेग्लै आनन्द छ । भनिन्छ, कुकुर मान्छेको सबैभन्दा बफादार साथी हो । यस्तो साथीलाई लिएर हिंड्दा दुःखसुख साट्न पाइन्छ ।

घुमफिर एक ध्यान

हामी ध्यानको अभ्यास गर्छौं । पद्मासनमा बसेर, आँखा चिम्लेर सासमा ध्यान केन्द्रित गर्ने अभ्यास गर्छौं । यस्तो अभ्यास घुमफिरमा स्वतस्फूर्त हुने रहेछ ।

मस्तसँग पैदल हिंडिरहँदा श्वासप्रश्वासको गति महसूस हुन्छ । हिंडेको बखत अन्यत्र ध्यान भड्किंदैन पनि । आफैंमा केन्द्रित हुन्छ । यसले बेग्लै किसिमको शान्ति र आनन्द मिल्छ ।

घुम्नका लागि पैसा होइन, इच्छाशक्ति जरूरी

तर, हामीकहाँ घुम्ने संस्कार छैन । त्यसैले जब-जब घुमफिर गर्ने योजना बनाइन्छ, धेरै कुरा तगारो बन्न आइपुग्छ । काम, पैसा, समय । पहिलो त कामले अल्झाउँछ, दोस्रो पैसा पुग्दो हुँदैन, तेस्रो समय अर्थात् फुर्सद मिलाउनै हम्मे पर्छ । त्यसैले हामी हत्तपत्त घुम्नका लागि भनेर घरबाट निस्कँदैनौं ।

शुरूमा घुम्नका लागि हिम्मत जुटाउनै गाह्रो हुने रहेछ । तर, जब यात्रामा निस्कन्छौं तब थाहा हुने रहेछ कि घुम्नका लागि पैसा होइन, इच्छाशक्ति चाहिने रहेछ । म देशका कुनाकाप्चा पुगें । कतिपय ठाउँहरू दोहोर्‍याएर पुगें । अझै पनि यात्रामै छु । यसरी घुमफिर गर्नका लागि मलाई पैसाले भन्दा बढी इच्छाशक्तिले सघाएको जस्तो लाग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?