+
+

प्रदेश-२ को मुख्यमन्त्रीविरुद्ध जनमत पार्टीको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १६:१३

१८ असोज, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारी पार्टी मधेश छोड, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका छन् ।

प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै उनीहरुले छानबिन गरी कारबाहीको माग गरेका छन् ।

उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाइ छ ।

जनमत पार्टीका कार्यकर्ताले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड गरेको उपमहानगरपालिकाका कर्मचारीले बताएका छन् ।

यस्तै, जथाभावी सडक खनेर अलपत्र पारिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?