+
+

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा कात्तिक १५ मा फैसला आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १७:०५

१८ असोज, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

नेता नेपाल र भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गरी निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, तत्कालिन सचिवहरु दीप बस्न्यात, दिनेश अधिकारीसहित १७५ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दा नलगाउने अख्तियारको निर्णय कानुन विपरीत भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । २०७६ माघमा नै सर्वोच्चमा दायर भएको रिट पटक पटक सुनुवाइ स्थगित हुँँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?