+
+

खाद्य कम्पनीले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १७:२९
फाइल तस्वीर

१८ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण शुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ ।

गत वर्ष एक हजार खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजार वटा खसीबोका बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले  जानकारी दिइन् ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ ।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौंडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि न्यौपानेले बताइन् । कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसीबोका बिक्री गर्ने उनले बताइन् ।

दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?