+
+
दशैंमा फर्किने मजदुरलाई नाकामा सास्ती :

‘पारि बस सञ्चालकले, वारि रिक्सा चालकले ठग्छन्’

जनक विष्ट जनक विष्ट
२०७८ असोज १९ गते २०:१७

१९ असोज, धनगढी । भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे।

नेपाली ट्राभल एजेन्सीका सञ्चालकलाई निर्धारित भन्दा झण्डै तेब्बर भाडा बुझाएका आउजी १३ घण्टामा पुगिने गौरीफन्टा नाका तीन दिनको यात्रापछि बल्ल मंगलबार बिहान पुगे ।

धनगढीदेखि एक सय ९३ किलोमिटरको दूरीमा रहेको डोटीको दिपयालसम्म पुगाइदिने ट्राभल एजेन्सीका सञ्चालकको शर्तमा बढि भाडा तिरेका आउजी नाकामै अलपत्र छाडिदिएपछि तनावमा थिए ।

नाकामा अलमल परेका उनी दशैँसम्म पनि घर पुगिन्छ की पुगिदैन् ? भन्ने चिन्ता लागेको सुनाउँदै थिए । ‘महङ्गो भाडा तिरेर पनि बाटोमा धेरै दुःख पाइयो । तीन दिनपछि बल्ल यहाँसम्म आइपुगेको छु,’ आउजीले भने, ‘अब दिपायल कहिले पुगिन्छ थाहा छैन । यही ताल हो भने घर पुग्न महिना दिन लाग्छ होला ।’

लुधियानाबाटै चार हजार रुपैयाँ भाडा तिरेर आएका डोटीकै बोगटान फुडसिल गाउँपालिकाका गज्जु खत्रीले पनि निकै सास्ती खेप्नुपरेको सुनाए । ‘दिपायल पुगाइदिने भनेपछि हामीले दुई हजार पाँच सय रुपैयाँ भारु तिरेर त्यहाँबाट आएका हौँ,’ खत्रीले अनलाइनखबरसँग भने, ‘खाना बाहेक बाटोमा थप पैँसा खर्च हुँदैन भनेका थिए । तर प्रहरीलाई दुई हजार रुपैयाँसम्म तिर्नुपरेको थियो । अब नाकाबाट पनि जाने केही ठेगान छैन । दुई घण्टादेखि अलपत्र छौँ ।’ ट्राभल एजेन्सी सञ्चालक आफ्नै मान्छे भएकाले विश्वास गर्दा आफूहरुमाथि धोका भएको उनी बताउँछन् ।

भारतबाटै फर्किरहेका बैतडीको पाटनका जयबहादुर बिष्ट पनि मंगलबार बिहान गौरीफन्टा नाकामा भेटिए । दिल्लीमा एक होटलमा काम गर्दै आएका उनी पनि गाडीको खोजिमा थिए । दिल्लीबाट गौरीफन्टा नाका पुग्दा ट्राभल एजेन्सी सञ्चालकले बिष्टसँग तीन हजार रुपैयाँ भाडा लिए तर बैतडी पुगाइदिने बाचा पूरा नगरेर नाकामै अलपत्र छाडिदिएको गुनासो उनको थियो ।

‘हामी चाडपर्वका बेला इष्टकुल देवीदेवताको पुजापाठ गर्न वर्षमा एक पटक घर फर्किन्छौँ,’ बिष्टले भने, ‘आरामले घर पुगिएला भन्ने सोचले बस सञ्चालकलाई मागे जतिको भाडा दिनुपर्ने बाध्यता छ । तर के गर्ने यसरी झनै सास्ती पाइदो रहेछ ।’ तर ट्राभल एजेन्सी सञ्चालकहरु भने नेपाल र भारत दुवैतर्फ ठाउँ-ठाउँमा सुरक्षाकर्मीले रकम असुल्ने गरेका कारण चर्को भाडा लिन बाध्य भएको बताउँछन् ।

एजेन्सी सञ्चालक धनगढी उपमहानगरपालिका–५ तारानगरका शेरबहादुर महराले मजदुरसँग बढि भाडा लिनुपर्ने आफूूहरुको पनि बाध्यता भएको दाबी गरे । ‘हामीले बाटोमा ठाउँ ठाउँमा प्रहरीहरुलाई पैँसा तिर्नुपर्छ । गाडी बुकिङ गरेर ल्याउनुपर्छ,’ महराले भने, ‘पञ्जाबदेखि धनगढी पुग्दासम्म हामीले प्रहरीलाई चिया खर्च दिनुपर्छ ।’
नेपाल प्रहरीलाई समेत पनि कहिलेकही रकम तिर्नुपर्ने उनी बताउँछन् । एजेन्सी सञ्चालक मात्र नभएर अटो रिक्सा चालक र सुरक्षाकर्मीहरुले समेत रकम असुल्ने गरेको मजदुरहरु गुनासो गर्छन् ।

‘गौरीफन्टा नाकामा पारीबाट वारी नेपाली भूमिमा सामान पुर्‍याएको मात्र अटो रिक्सा चालकले आठ सय रुपैयाँसम्म लिने गरेका छन्,’ दिल्लीबाट फर्किएका डोटीका विनय बिकले भने, ‘त्यहाँबाट धनगढी चौराहसम्म पुर्‍याएको थप पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता हरेक मजदुरको छ ।’

अटो रिक्सा चालक र ट्राभल व्यवसायी विवाद हुँदा नाकामा तनाव

चर्को रकम असुल्ने गरेको गुनासोपछि नेपाली अटो रिक्सा चालकहरुलाई गौरीफन्टा नाकाको पारिपट्टि भारतीय भूमिमा अटो लैजान रोक लगाइएको छ। तर उनीहरु पैदल हिँडेर भएपनि भारतबाट फर्किनेहरुको सामान बोकेर वारीसम्म ल्याइदिने गरेका छन् ।

तर मंगलबार बिहान अटोरिक्सा चालकहरु र ट्राभल एजेन्सी सञ्चालकहरुबीच रकम असुल्ने गरेको विषयमा आरोप-प्रत्यारोप हुँदा केहीबेर गौरीफन्टा नाका तनावग्रस्त बनेको थियो। नाकामा तनाव भएपछि सवारीसाधनको भीड पनि लागेको थियो । तर सुरक्षाकर्मीले दुवै समूहलाई तितरबितर पारेपछि विवाद साम्य भएको थियो ।

सीडीओ भन्छन् : विगतमाभन्दा आवागमन सहज

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने सीमा नाकामा विगतको तुलनामा आवागमन सहज भएको दाबी गरेका छन् । उनले सीमा नाकामा कुनै पनि नेपालीले सास्ती खेप्न नपरोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्दै कडाइ गरिएकाले धेरै समस्या नरहेको दाबी गरेका हुन् ।

‘हामीले सीमा नाकामा कुनै पनि नेपालीले दुःख पाउनु भएन भनेर सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छौँ,’ प्रजिअ पाण्डेले अनलाइनखबरसँग भने, ‘स्वयंम मसहित सुरक्षा निकायका प्रमुखहरु पनि दुई तीन पटक नाकाको निरीक्षण गरेर जानकारी लिएको अवस्था छ । भारतीय पक्षलाई पनि आवागमन सहज गरिनदिन निरन्तर अनुरोध गरिरहेका छौँ ।’

यात्रुहरुलाई तान्ने, अनावश्यक भाडा असुल्ने जस्ता गुनासाहरु पनि आएकाले सवारी साधनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?