+
+

विपद्मा सघाएका नेपाली जापान सरकारबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १३:३८

२० असोज, काठमाडौं । जापानको तोचिगी प्रान्तमा बस्ने एक नेपालीलाई विपद्को समयमा खेलेको भूमिकाको कदर गर्दै त्यहाँको सरकारले सम्मान गरेको छ । ताइफु नम्बर १९ को भीषण वर्षाको विपत्तिमा विदेशीहरुलाई उद्धार सम्बन्धी जानकारी पुर्‍याउन सहयोग पुर्‍याएको भन्दै जापानको विपद् व्यवस्थापन मन्त्रालय मातहतको निकायले उनलाई सम्मान गरेको एनएचके टेलिभिजनले जनाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका-१० का ३५ वर्षीय महेश लुइँटेललाई तोचिगी प्रान्तमा बस्ने विदेशी नागरिकहरुलाई प्राकृतिक विपद्का समयमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारेमा सकारात्मक र प्रभावकारी सूचना प्रदान गरेकोले उनलाई राष्ट्रिय सम्मान पत्रद्वारा सम्मानित गरेको हो ।

जापानमा हरेक वर्ष राष्ट्रव्यापी रूपमा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने व्यक्ति तथा समूहहरूलाई मन्त्रालयले सम्मान गरिने कार्यक्रम अन्तर्गत यस वर्ष देशभरबाट लुइँटेलसहित १४ व्यक्ति र ४९ समूहलाई सम्मान गरिएको हो ।

सेप्टेम्बर १४ मा जापानी विपद् व्यवस्थापन मन्त्रीद्वारा प्रदान गरिनुपर्ने सो सम्मान कोभिड-१९ को कारण सोमबार तोचिगी प्रान्तद्वारा आयोजित एक समारोहका बीचमा लुइँटेललाई मन्त्रालयको तर्फबाट लिभिङ विभागका निर्देशक राकुहीरो सेनकिनले सम्मानपत्र हस्तान्तरण गरेको लुइँटेलले जानकारी दिए ।

१३ वर्षदेखि जापानमा बस्दै आएका लुइँटेलले विपद्को समयमा नेपालीसहित त्यस क्षेत्रमा बस्ने विदेशीहरुलाई एसएमएस, सामाजिक सञ्जालमा सूचनामूलक जानकारी, मोबाइलमा प्राप्त इमरजेन्सी सूचनाको अनुवाद, प्रत्यक्ष फोनसम्पर्क लगायतका माध्यमबाट बाढी र वर्षाको अवस्था, आपतकालीन समयमा कसरी सुरक्षित रहने भन्ने लगायतका जानकारी पुर्‍याएर सहयोग गरेका थिए ।

सन् २००९ मा विद्यार्थी भिसामा जापान प्रवेश गरी हाको विश्वविद्यालयबाट बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनी हाल  करीब २८ भन्दा बढी मुलुकका कामदारहरूको व्यवस्थापन तथा पूर्ति गर्दै आएको कम्पनी एसएमएस कर्पोरेशनका सञ्चालक सदस्य एवम् सीईओ पनि हुन् । उनी विगत ७ वर्षदेखि सोही प्रान्तमा कार्यरत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?