+
+

गाड्न लाग्दा बरामद शवको पोष्टमार्टम काठमाडौंमा हुने

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज २३ गते १२:४६

२२ असोज, वीरगञ्ज । अन्त्येष्टि गर्न लागिएको अवस्थामा वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको शवको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । नारायणी अस्पतालको सिफारिसमा शव पोष्टमार्टमका लागि शब शुक्रबार काठमाडांको त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनलाई गाड्ने तयारी भइरहेको अवस्थामा मुर्लीस्थित कब्रस्तानबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।

घटना धेरै शंकास्पद देखिएको र प्रहरीले विभिन्न प्रश्न गरेकोले एक्लैले उत्तर दिन नसक्ने स्थिति देखिएपछि काठमाडौं रेफर गरिएको नारायणी अस्पतालमा शव परीक्षण गर्ने डा. अजित साहले जानकारी दिए ।

‘ब्लिडिङ पनि भएको भनिएको छ, घाँटीमा निलडाम छ । घटना धेरै शंकास्पद छ, प्रहरीले विभिन्न प्रश्नको उत्तर खोजेको छ’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा धेरै कुरा खुलाउनुपर्ने हुन्छ । यहाँ म एक्लै छु । काठमाडौंमा ‘फरेन्सिक बोर्ड’ गठन गरेर एक्सपर्ट ओपिनियन लिन सकिन्छ ।’

प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको बताएको छ । पोष्टमार्टम रिपोर्टको आधारमा नै मुद्धाको प्रक्रिया अघि बढ्ने र अहिले गम्भीर भएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

सँगसँगै घटनास्थल यकिन गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्ने, के के भएको हो ? कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी खनालको भनाइ छ ।’

४ जना हिरासतमुक्त

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका ९ जनामध्ये ४ जनालाई रिहा गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा उनीहरुको संलग्नता नदेखिएकोले छोडिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको परिवारका सदस्य पनि प्रहरी नियन्त्रणमा छन् ।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएको भनी प्रहरीले सूचना पाएको थियो । घटना लुकाउन हतारमा थोरै मानिसको उपस्थितिमा शव गाड्ने तयारी भइरहेको समयमा प्रहरी पुगेर शव नियन्त्रणमा लिएको थियो ।

युवतीका परिवारका सदस्यले भने दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण अचनाक स्वास्थ्य अवस्था बिग्रिएको दावी गरेका छन् । भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको उनीहरूको तर्क छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?