+
+

‘जनतालाई संसद विघटन ठीक थियो भनिरहेका छौं’

शान्ता चौधरी, सचेतक, नेकपा एमाले शान्ता चौधरी, सचेतक, नेकपा एमाले
२०७८ असोज २५ गते १०:४१

अहिले नेकपा एमाले सरकारमा छैन । पार्टी सरकारमा नभएको बेला जनताका बीचमा जाने कुरा छ । हुन त हामी हिजो सरकारमा हुँदा पनि जनतामा थियौं । र आज पनि जनतामै छौं । हिजो र आज जनतामा हुँदा जनतालाई भन्ने कुरामा भने केही फरकपन पक्कै हुन्छ ।

हिजो सरकारमा रहँदा के कस्ता काम कसरी गर्ने ? सरकारलाई कसरी प्रभावकारी बनाउने भनेर जनतासँग सुझाव मागिन्थ्यो भने आज सरकारमा हुँदा गरेका राम्रा कामको प्रचार गरिरहेका छौं र आगामी चुनावको रणनीति तय गर्नमा केन्द्रित छौं ।

दशैं, तिहार, छठ लगायत पर्वहरूमा हार्दिकता साटासाट गर्दै हामी सरकारमा रहँदा गरेका राम्रा कामहरूको समीक्षा र प्रचार गरिरहेका छौं । गल्ती–कमजोरी केही भएका छन् भने त्यसको पनि समीक्षा गरिरहेका छौं र आगामी रणनीतिका सन्दर्भमा विचार–विमर्श गरिरहेका छौं ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै जनप्रिय कामहरू गरेको छ । कतिपय बाहिर आएका छन् कतिपय आएका छैनन् त्यो जनतालाई सुनाउने अवसरका रूपमा लिएका छौं । चाडपर्वका अवसरमा जारी भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रमहरूमा हामी यिनै विषयमा छलफलमा छौं ।

पार्टी फुटको असरलाई कम गरिरहेका छौं । यस हिसाबले यस वर्षको चाडपर्व एमालेका लागि विगतको भन्दा केही चुनौतीपूर्ण छ ।

लिम्पियाधुरा, लिपुलेक  र कालापानी समेटिएको नेपालको नयाँ चुच्चे नक्शा एमाले सरकारको नेतृत्वमा जारी भयो । देशभर एकसाथ अस्पतालहरू बनेका छन् । पूर्व–पश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग, पहाडी लोकमार्गका कुरा छन् ।

त्यस बाहेक रणनीतिक सडकहरू छन् । सुरुङमार्गको कुरा छ । रेल आयो । अनगिन्ती काम थोरै समयमा भएको छ । भूमि सम्बन्धी आयोग बनाएर सुकुम्बासीको समस्या समाधानको पहल भयो । संवैधानिक आयोगहरूमा रहेको लामो समयको रिक्तता तोडेको विषय छ ।

यी सब कुरा गर्दै संगठनलाई थप मजबूत बनाउने, जनतालाई एमालेमा संगठित गर्ने र आगामी चुनावको तयारी गर्ने हो । तर, एमाले चोइटिएको छ, उनीहरूले एमालेका नेता/कार्यकर्ता र जनतामा भ्रम फैलाउन सक्छन् त्यसलाई रोक्ने प्रयास जारी छ ।

माओवादी केन्द्रसँगको एकता किन टिकेन ? नेकपाको एकता किन भंग भयो ? एमाले किन चोइटियो ? भन्ने विषयमा केही भ्रमहरू जनता, नेता/कार्यकर्तामा थियो अथवा यसबारेमा केही भ्रमहरू फैलाइएको छ ।

अहिले पनि भ्रमलाई चिर्ने र एमालेलाई थप बलियो बनाउने, एमालेका संगठनहरूलाई एकताबद्ध बनाउने, एमालेका सदस्यहरूलाई भरसक अन्य पार्टीमा जान नदिने प्रयत्न चलिरहेको छ । यसका लागि एमालेमा रहँदा प्राप्त हुने अवसर, सुविधा, नेतृत्व र क्षमता विकास, विचार निर्माणमा समान सहभागिताको कुरा छ ।

पार्टी अध्यक्ष केपी ओलीको नेतृत्व मुलुकका लागि आवश्यक छ । यो धारणाले एमालेलाई एकताबद्ध र थप सशक्त बनाउँछ । विगतमा भएको संसद विघटन राजनीतिक परिस्थितिका उपज हुन् र ती राजनीतिक स्थिरताका लागि ठीक थिए । त्यसको पुष्टि त अहिले भइरहेको छ ।

सर्वोच्चबाट संसद पुनर्स्थापित भयो तर, खै त संसद प्रभावकारी भएको ? अहिले हेर्दा यो संसदले काम गर्न सक्दैन भन्ने जनताले बुझेका छन्, यसमा हाम्रो थप बुझाउने प्रयास रहन्छ । एमाले सर्वोच्च अदालतकै कारण सरकारबाट बाहिरिन पुगेको हो ।

तर, आगामी चुनावपछि एमालेलाई सरकार बनाउनबाट कसैले रोक्न सक्दैन । यही कुरा जनतालाई भनिरहेका छौं र पार्टी फुटको असरलाई कम गरिरहेका छौं । यस हिसाबले यस वर्षको चाडपर्व एमालेका लागि विगतको भन्दा केही चुनौतीपूर्ण छ ।

(नेकपा एमाले सचेतक चौधरीसँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?