+
+
ब्लग :

हङकङबाट देखिएको नेपाल

उदय रानामगर उदय रानामगर
२०७८ असोज २५ गते १३:०९

हङकङ धेरै नेपालीको लागि सुनिरहेको नाम हो । यो चीनको स्वशासित क्षेत्र भएतापनि यहाँको औद्योगीकरणको विकासले शिखर नै चुमिसकेको छ । सम्भवतः यो क्षेत्रको भ्रमणको लागि विश्वका सबै नागरिकको रोजाइको क्षेत्र पर्ने भएकोले नेपालीमा पनि यो रहर रहन्छ नै । हुनत म हङकङ आएको १० महीना बितिसकेको छ ।

यहाँको सरकारी नियम कानून र यहाँ रहेका नेपालीको चालचलनलाई अझै बुझ्न धेरै नै बाँकी छ । विशेष गरी यहाँ शनिबार र आइतबार दुई दिन विदा दिने प्रचलन छ । अन्य बार सम्पूर्ण क्षेत्र काममा व्यस्त रहन्छ । यहाँका सम्पूर्ण मानिस वर्किङ डेमा आफ्नै तालमा मेशिन झैं १८ घण्टासम्म अहोरात्र खटिन्छन् । यो खटाइमा नेपाली अन्य देशको नागरिक भन्दा जोखिमयुक्त कार्यमा बढी नै खटिन्छन् ।

करीब ३० हजारको हाराहारीमा रहेका नेपाली बेलायत सरकारले आवासीय भिसा खुलाएपछि उतै गएका कारण नेपालीको सङ्ख्या घटेको अनुमान छ । तर पनि हङकङमा रहेका नेपाली विशेषगरी निर्माण क्षेत्रको कार्यमा, रेष्टुरेन्ट तथा बार र सुरक्षाको क्षेत्रमा ख्याति नै कमाएका छन् । जोखिमयुक्त काममा यहाँका स्थानीय कामदार तथा अन्य देशका कामदार आकर्षित नहुने हुँदा त्यस्ता काममा अन्य कामभन्दा बढी पारिश्रमिक पाउँदछन् ।

त्यही बढी पारिश्रमिक पाउने लोभमा नेपाली १०० औं तले भवनको टुप्पामा रहेर काम गर्नेदेखि समुद्र मुनिदेखि जमीन मुनिसम्म सुरुङ बनाउने कार्यमा समेत अग्रपंक्तिमा रहेर कार्य गर्दै आएको छ । म मेरो कोठाबाटै नै देख्न सकिने ११८ तले अग्लो आईसीसीको भवनलाई हेर्दै सम्झन्छु ।

यो भवन निर्माणमा नेपालीको ठूलो योगदान भएको कुरा यहाँका नेपाली नै बताउँछन् । यसरी नै नेपाली युवाहरूले नेपालमा नै रहेर यस्ता भवन निर्माणमा खटिएको भए यस्ता गगनचुम्बी भवन आज मेरो देशमा पनि बनेको हुन्थ्यो । अनि यस्ता गगनचुम्बी भवनको टुप्पोमा हेर्दा मेरो शिरको टोपी भुईंमा खस्थ्यो होला भन्ने सोचले मलाई पुलकित बनाउँदै थियो ।

भोलिपल्ट साथीले निमन्त्रणा गरेको कार्यक्रमको लाइभलाई सोसियल मिडियामा हेर्न पाएँ । कार्यक्रम त्यही बार्बेक्यू नै रहेछ । सिंगो सुँगुरलाई आगोको मुस्लोमा पोल्दै गरेको दृश्य ।

त्यति नै बेला मेरा कोठाको आडमै रहेको रेल स्टेशनमा रेलको आवाज आउँछ । अनि फेरि आफूलाई कल्पनामा नै कल्पित हुन पुग्छु । जमीन मुनि दगुर्ने यहाँका सबै रेल कुद्ने सुरुङ मार्ग बनाउने काम नेपालीबाट नै भएको रे ! त्यही रेल कुद्ने सुरुङ मार्ग हाम्रो देशको पहाडका कोखलाई चिर्दै दगुर्ने हो भने नेपालको सुन्दरताको रसास्वादन गर्न हेर्न धेरै विदेशी आउँथे होला । हङकङ जस्तो सानो क्षेत्रमा त दैनिक दुई लाख विदेशीले भ्रमण गर्ने गरेका छन् भने मेरो देशको प्राकृतिक सुन्दरतालाई विकास र समृद्धिले सिंगार्ने हो भने धपक्कै बलेको हुन्थ्यो होला ।

अनि हङकङले जस्तै मेरो देश नेपालले पनि दैनिक दुई लाख विदेशीलाई स्वागत गर्दै गरेको हुन्थ्यो होला । हङकङमा जस्तै मेरो देशमा कामको खोजीमा विदेशीहरू भिसा लगाउन हानथाप गर्थे होला । विश्वका लाखौं विदेशीलाई रोजगारी दिंदै गरेको हुन्थ्यो होला, यस्तै यस्तै सम्झँदै थिएँ । त्यति नै बेला गत साता एक कार्यक्रममा सहभागिता जनाएको र त्यसमा उपस्थित नेपालीको अनुहारको याद आयो । हङकङमा २२३ भन्दा बढी नेपालीको संघसंस्था रहेका छन् । चाहे त्यो जातको नाममा होस् वा भूगोल हिसाबले संगठित भएका हुन् ।

यहाँको कानून अनुसार चार जना मात्र संगठित भए पनि संस्था दर्ता गर्न सकिने प्रावधान रहेछ । हप्ताको ६ दिन १८ घण्टासम्म परिश्रम गर्ने नेपाली फुर्सतको समय सामाजिक अभियन्ताको रूपमा आफूलाई चिनाउन चाहन्छन् र अनि संस्था दर्ता गरिहाल्दछन् । आर्थिक हिसाबले यहाँको कमाइ राम्रो हुने भएकोले यहाँ रहेका प्रायः सबै नेपालीले नेपालमा घर जोडिसकेका छन् । तर अपशोच उनीहरूको नेपालको घरको उपयोग अर्कैले गर्दछन् । उनीहरू भने यहाँको सानो कोठामा कोचिएर बस्न बाध्य छन् । यहाँ कोठाको भाडा साह्रै महङ्गो पर्दछ ।

हुन पनि यहाँको भूगोल सानो भएर वा जग्गाको सीमितताले गर्दा कोठाभाडा महँगो भएका हुन् । गगनचुम्बी घरहरूमा नै बस्दछन् मानिसहरू । साना र सिंगल घरहरूको संख्या धेरै सीमित छन् । त्यस्ता घरहरूमा बस्न नेपालीको आर्थिक आम्दानीबाट गाह्रो नै छ ।

गगनचुम्बी भवनमा नेपालको एउटा गाउँमा बस्ने जनसंख्या बराबरको मानिस एउटै भवनमा बस्दछन् । यहाँ सानो कोठामा बस्दाको पीडाबाट नै होला यहाँ दिनरात नभनी कमाएको पैसा महीना बितेको भोलिपल्टै नै नेपाल पठाउँछन् । हङकङबाट पनि प्रशस्त रेमिट्यान्स नेपाल जाने गरेको छ तर अनौपचारिक माध्यमबाट ।

यदि औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स जाने हो भने अन्य देशबाट जाने रेमिट्यान्स भन्दा कम तथ्यांक देखिंदैनथ्यो होला । अनौपचारिक मार्गबाट रेमिट्यान्स जाने हुँदा नेपालमा गएको वास्तविक अंक नेपालको केन्द्रीय बैंकले देखाउन सकेको छैन । अर्कोतर्फ हङकङबाट नेपाल जाने पैसा उत्पादनशील क्षेत्रमा लगानी कमै मात्र हुने गरेको छ ।

हङकङमा बस्ने धेरैजसो नेपालीको नेपालमा लगानी गर्ने क्षेत्र भनेको घर जग्गा मात्र रहेको छ । यहाँ दुःख गरेर कमाएको पैसाबाट नेपालमा भव्य घर बनाएका हुन्छन् तर त्यसको उपभोग भने अर्कैले गरिरहेको हुन्छ । तर आफू हङकङमा रहेर नेपालको आफ्नो भव्य घर हेर्दै यहाँ साँघुरो कोठामा सपरिवारको गुजारा चलाउन बाध्य छन् । नेपालमा लगानीको कुरा गर्दा वातावरण छैन भन्दै हङकङमा बसेर नेपालको राजनीतिक दललाई धारेहात लगाउनेको जमातहरू प्रशस्त भेटिन्छ ।

सम्झनाकै तरेलीमा नेपालीले आयोजना गरेको एउटा कार्यक्रमको याद आउँछ । कार्यक्रममा सहभागीहरूको अनुहारलाई नियाल्दा अघिल्लो कार्यक्रममा उपस्थित भएका नेपाली भन्दा एक दुईजना बाहेक प्रायः सबै अनुहार एउटै थिए । यहाँ प्रायःजसो कार्यक्रम बेलुकी अर्थात् दिनको काम सकेपछि संचालन गरिन्छ ।

हिजोआज कोभिडको कारण कार्यक्रममा सहभागीको संख्या सीमित गरिएको छ अनि समय पनि । जसले गर्दा कार्यक्रम निर्धारित समयमा नै सक्नुपर्ने हुन्छ । तर हामी नेपाली जहाँ रहे पनि सुध्रिन्छौं कहाँ भने झैं समय पालनामा कत्ति पनि ख्याल गर्दैनौं । निर्धारित समयमा कार्यक्रम सञ्चालन र सम्पन्न गरिएको शायदै कुनै कार्यक्रम होला ।

कार्यक्रमको सहभागीमा प्रायः उही पुरानै अनुहार त्यसमा पनि १९९० को दशकमा नेपालबाट जो जो हङकङ आएका थिए, उनीहरूको मात्र सहभागिता हुने गर्दछ । हङकङमा जन्मेर र हुर्केका नेपाली युवाको सहभागिता शून्य प्रायः हुन्छ । उनीहरूलाई नेपाल र यस्ता कार्यक्रमप्रति चासो र चिन्ता नै छैन ।

लेखक ।

यसरी सञ्चालन गरिने कार्यक्रममा आसन ग्रहण, भाषण गर्न पाउनुलाई हारजितको हिसाबले हेरिंदो रहेछ । बोल्ने क्रममा आयोजकले आफ्नो नाम उच्चारण नगरिदिएमा सहभागीहरूको अनुहार मलिन हुनुको साथै आयोजक प्रति रोष प्रकट गर्ने जमात पनि ठूलै देखिन्छ । बोल्नको लागि मञ्च पाउने बित्तिकै समयको ख्याल होइन मञ्चमा जसले बढी समय व्यतित गर्न सक्यो उसले आफूलाई अब्बल प्रमाणित गरेको अनुभूत गर्ने गरेको पाएँ ।

यी र यस्ता कार्यक्रम मार्फत नेपालीहरू आफूलाई नेपाली समाजमा आफ्नो अस्तित्व खोज्ने गरेको देखिन्छ । छोटो समयमा केही आर्थिक उपार्जन गर्न सफल नेपालीहरू आफूलाई प्रमुख अतिथि बनाइदिएमा कार्यक्रमको सम्पूर्ण खर्च तिर्न तयार हुने गरेको पनि देखियो । यो नेपाली संस्कार हङकङमा बस्ने नेपालीमा संस्कारकै रूपमा विकास हुँदै आएको छ ।

हुनतः हङकङ विकासको दृष्टिकोणबाट विश्वको अद्वितीय नमूना हो । यहाँ रहेका प्रशासनिक प्रणाली, सुशासन तथा विकासको अवस्थालाई हेर्दा हाम्रो देशलाई यो स्तरमा पु¥याउन अहिलेदेखि नै शुरुआत गर्ने हो भने पनि अझै ५० वर्षभन्दा बढी लाग्दो हो । खै हङकङ जस्तै विकासको शिखरमा नेपाललाई पु¥याउने आँट भएका नेपाली नेताहरू जन्मिएकै छैन कि जस्तो लाग्छ । राजनीतिज्ञ नेताहरूले भाषणमा त धेरैपटक नेपाललाई स्विट्जरल्याण्डकै स्तरमा पु¥याउने प्रतिबद्धता जनाएको धेरै भैसकेको छ तर कार्यान्वयनमा भने स्विट्जरल्याण्डको विकासको १० प्रतिशत काम पनि भएको छैन ।

हो, यही कुरालाई मनभरी राखेर समीक्षा गर्दै गर्दा त्यति नै बेला एकजना हङकङमा व्यवसाय गर्दै नातिपुस्ता हुर्काउँदै गरिरहेको एक मित्रको फोन आयो । त्यो फोनले मेरो हङकङको विकासलाई नेपालसम्म दाँज्दै गरेको मानसपटलमा झट्का लाग्यो । हो, फोनकर्ता हङकङको हरेक भूगोलको जानिफकार व्यक्ति पनि हो र यहाँ करीब तीन दशक बिताइसकेको पनि । उनले मलाई फोन गरेको दिन शुक्रबार थियो । उनले हार्दिकतापूर्वक मेरो शनिवारको कार्यतालिका सोधे । त्यो सोधाइमा स्पष्ट आकलन गर्न सकिन्थ्यो, उनीले शनिवारको लागि आमन्त्रण गर्दैछन् भनेर ।

म आफ्नो कार्यतालिका स्मरण गर्दछु । कार्यतालिका खाली नै थियो । अनि उनको प्रश्नबाट पन्छिन खोज्दछु, कार्यक्रम हुन सक्छ भनेर । तुरुन्त उनले प्रस्ताव राखे– त्यसो भए भोलि हामीलाई समय दिनु पर्‍यो । मैले केको लागि भन्ने नबुझी सहमति जनाउन सकिनँ । किनकि हङकङमा बिदाका दिन बार्बेक्यू गर्ने भन्दै हङकङका जंगलभरि सँुगुर पोलेर खाने नेपाली समूह भेटिन्छन् भन्ने सुनेको थिएँ । साथै हङकङमा रहेका संस्थाहरूले हरेक कार्यक्रम त्यही विदाको दिन संचालन गर्ने गर्दछन् बार्बेक्यू र मदिराको साथमा ।

नेपालीको कार्यक्रममा उघ्रेका खानेकुरा खाएर जंगलका बाँदरहरूले पनि नेपालीलाई खूबै मन पराउँथे रे ! तर हिजोआज यहाँको सरकारले कोभिडको कारणले सार्वजनिक स्थानमा कार्यक्रम गर्न बन्द नै गरिदिएको छ । तर खुल्ने हो भने त एकै दिन दर्जनौं कार्यक्रम पर्दथ्यो भन्ने पूर्ववर्ती साथीको अनुभव छ । तर म हङकङ आएको १०औं महीनासम्म पनि त्यस्तो कार्यक्रममा सहभागिता जनाउने अवसर मिलेको थिएन ।

यस्तै कुरामा मेरो मानसपटलमा कुरामा रम्दै गर्दा साथीलाई फोनमा जवाफ दिनै भुलेछु । अनि फेरि साथीले ‘के गरौं सर भोलिको कार्यक्रम निश्चित भएको बुझौं’ भनेर सोधे । प्रतिउत्तरमा भनें– ‘कार्यक्रमको गहनताको हिसाबले समय भागबण्डा गर्नेछु । भोलि मेरो अर्को कार्यक्रम भएकोले माफ गर्नुहोला ।’

साथीले हार्दिकतापूर्वक राखिएको निमन्त्रणालाई स्वीकार गर्न सकिनँ । होला साथीको आत्मविश्वासमा ठेस पुग्यो होला । तर सरी भन्दै मेरो अर्को महत्वपूर्ण कार्यक्रम छ जुन पहिले नै तय भएको भनेर उम्किएँ ।

भोलिपल्ट साथीले निमन्त्रणा गरेको कार्यक्रमको लाइभलाई सोसियल मिडियामा हेर्न पाएँ । कार्यक्रम त्यही बार्बेक्यू नै रहेछ । सिंगो सुँगुरलाई आगोको मुस्लोमा पोल्दै गरेको दृश्य । नेपाली दोहोरी गीतको भाकामा रम्दै झुमेको अनि विभिन्न ब्राण्डको रक्सी पिउँदै गरेको । यहाँ नेपालीहरू हप्तामा ६ दिनसम्म काम बाहेक अरु केही सोच्दैन अहोरात्र काममा खटिन्छन् । तर बिदाको दिन भने खाली समयलाई यसरी नै व्यतित गर्ने गर्दछन् ।

हुन त हङकङको बसाइ सबै नेपालीकोे रहर होइन होला । म फेरि पनि सम्झन्छु त्यही नेपाली नेपालमा रहँदा काम गर्नुपर्दा लाज मान्छन् । त्यही नेपाली यहाँ आएपछि काम जस्तोसुकै होस्, सम्मान गर्दछन् । यो कसरी सम्भव भयो होला ? यसो हुनुमा कतै हाम्रो समाजको त दोष छैन ? भन्ने कुरामा सोचमग्न हुन्छु ।

नेपालमा कृषि कार्यलाई हेलाँको पेशा बनाइन्छ । यहाँसम्म कि कृषकका छोरालाई विवाहको लागि केटी नै नदिने प्रचलन हुर्कंदैछ भने विवाह गर्नको लागि विदेश गएको हुनुपर्ने मान्यता समाजको छ । ह्वाइट कलरको कामलाई मात्र काम मान्ने संस्कार सर्वत्र छ । यो सोचाइ नै दोषी मान्न सकिन्छ । त्यसैले गर्दा आज हङकङमा जस्तै विदेशमा आफ्ना युवा अवस्था खर्चिरहेका युवाको जनसंख्या ६० लाखको हाराहारीमा पुगेको छ ।

यी युवाहरूलाई नेपालमा नै रोजगारीको सिर्जना गरी स्वदेशमा नै फर्काइ रोजगारी दिलाउन सके देशलाई समुन्नतिको शिखरमा पु¥याउन गाह्रो छैन । यो अनुभूति हङकङको विकाससँग नेपाललाई तुलना गर्दै गर्दाको अवस्थामा टुसाएको मनको उपज हो ।

(लेखक राना हङकङका लागि नेपालका महावाणिज्यदूत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?