+
+
Shares

परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङकङबाट स्वदेश फर्किइन्।
  • उनीहरूले अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिमा सहभागी भएकी थिइन्।
  • मन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीले द्विपक्षीय सम्बन्ध र परियोजना कार्यान्वयनका विषयमा कुराकानी गरे।

१८ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।

चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएकी थिइन् ।

अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।

उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।

यसै कार्यक्रमको सिलसिलामा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । उक्त भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री डा. राणाले दिइन् ।

भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको उनले बताइन् ।

मन्त्री डा. राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधिहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?