+
+

वीरगञ्ज महानगरका ४७४ जनालाई विपन्न उपचार सिफारिस, सबैभन्दा धेरै मुटुरोगी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते ११:००

२६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पछिल्लो तीन वर्षमा ४ सय ७४ जना विपन्न नागरिकलाई कडा रोगको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेको छ । अर्थिक वर्ष २०७५/७६ मा ९०, २०७६/७७ मा १९६ र २०७७/७८ मा १ सय ८८ जनालाई सिफारिस गरिएको महानगरले जनाएको छ ।

उनीहरुले मुटु, मिर्गौला, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाका विरामीले सिफारिस लगेका छन् । सबैभन्दा धेरै सिफारिस लैजानेमा मुटु रोगी छन् । मुटु रोगका २१४ जनाले विपन्न नागरिक उपचार सहायताको सिफारिस गरेको महानगरपालिकाको तथ्यांक छ । यसैगरी मिर्गौला रोगका १ सय १२, क्यान्सर रोगका १ सय ३४, हेडइन्जुरी ९, स्पाइनल इन्जुरी ४ र सिकलसेल एनिमियाका १ जना विरामीले सिफारिस लगेको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले जानकारी दिए ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ ले मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर, हेडइन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया रोगलाई ‘कडा रोग’ को संज्ञा दिएको छ । विपन्न नागरिकलाई यी रोगको उपचारमा सरकारले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । त्यसका लागि स्थायी बसोबास रहेको स्थानीय तहले आवश्यक कागजात लिएर सिफारिस गर्नुपर्ने हुन्छ । सिफारिस लिएका विपन्न नागरिकले विपन्न नागरिकहरुलाई औषधि उपचारका लागि सूचिकृत गरिएका अस्पतालबाट तोकिएको सेवा पाउन सक्छन् ।

मुट रोग, क्यान्सररोग, अल्जाइमर रोग, पार्किन्सस रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका विरामीका साथै मिर्गौला रोगको एक्युट रेनल फेलियर भएका विरामीले रु १ लाखसम्मको औषधि उपचार सुविधा पाउँछन् ।

मिर्गौला रोगको डायलासिस गर्नुपर्ने विरामीले तोकिएका सूचिकृत अस्पतालबाट निःशुल्क डायलाइसिस सेवा पाउँछन् । ‘डायलाइसिस भन्नाले मिर्गौलारोग लागेका विरामीलाई अस्पतालबाट प्रदान गरिने हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस सेवा हो ।

नेपालमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विरामीलाई मिर्गौला प्रत्यारोपण गर्दा सूचिकृत अस्पताल मार्फत रु ४ लाख रुपैयाँ बराबरको औषधि उपचार सुविधा पाउने व्यवस्था छ । मिर्गौला प्रत्यारोपण पूर्वको परीक्षणका लागि (अंग ग्रहणकर्ता र अंग दाताका लागि) रु ५० हजार र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु १ लाख गरी जम्मा १ लाख ५० हजार रुपैयाँ आवश्यक कागजात, बिल भर्पाइ लिई विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखा मार्फत विरामीलाई एकमुष्ठ शोधभर्ना दिइन्छ ।

विरामीले सकभर स्वदेशकै अस्पतालमा उपचार गराउनु पर्नेछ, यदि विदेशमा गई उपचार गराउनु पर्ने भएमा नेपाल मेडिकल वोर्डबाट सिफारिस लिएको हुनुपर्छ । विदेशबाट उपचार गराएका विरामीहरुलाई अस्पतालको बिल अनुसार मिर्गौला प्रत्यारोपण भएमा दुई लाख र तोकिएका अन्य कडारोगको उपचारको हकमा एक लाखमा नबढने गरी विभागले बिल, भर्पाइ लिई सम्बन्धित विरामीलाई नगद रकम सोधभर्ना दिन सक्छ ।

यसका लागि विरामीले वा निजका आफन्तले स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा उपचार गराउन विदेश जानुपूर्व निवेदन दिनुपर्छ । उपचारका क्रममा विरामीको मृत्यु भएमा बिल, भर्पाइ लगायत आवश्यक कागजात लिई निजको नजिकका हकदारलाई सोधभर्ना रकम उपलब्ध गराउने समेत व्यवस्था छ ।

विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला रोगको उपचारका लागि निःशुल्क डायलाइसिस सेवा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?