+
+

हनुमानढोका क्षेत्रमा बलिसहित पूजा

आर्यन धिमाल आर्यन धिमाल
२०७८ असोज २८ गते १०:४८

२८ असोज, काठमाडौं । नवरात्रिको अन्तिम दिन आज महानवमी पर्व, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा गरी मनाइँदै छ । दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित देवीको पूजा गर्ने चलन छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका परिसरमा पनि बोका र राँगाको बलि दिएर पूजा गरिएको छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेंडा र राँगाको पञ्चबलि दिने चलन पनि छ । दशैंघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बलि दिइनुका साथै दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवत एवं देवी स्तोत्र पाठ पनि गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?