+
+
भीमबहादुर हत्या प्रकरण : :

दलित भएकै कारण कुटेर मारिएको परिवारको दाबी

सुवास पण्डित सुवास पण्डित
२०७८ कात्तिक १ गते २०:२६
Photo Credit : तस्वीर : चितवन मिडिया

१, कात्तिक, चितवन । भरतपुर महानगरपालिका-४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् ।

नारायणगढको पुल्चोकबाट करिब ३ किलोमिटर दक्षिण शिवघाट सडकको दुर्गाचोकमा महानवमीको दिन विहान करीब ९.३० बजेतिर ५८ बर्षीय भीमबहादुरलाई स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । कुटपिट गर्ने सीताराम बस्नेत र दीलिप श्रेष्ठलाई पक्राउ गरी प्रहरीले ज्यानसम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

यही घटनालाई लिएर पीडित परिवार, जनप्रतिनिधिले आइतबार प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । सोमबार पीडित परिवारले पत्रकार सम्मेलन गरी दलित भएकै कारण कुटेर मारिएको भन्दै न्याय दिलाइदिन माग गरेका छन् ।

के भएको थियो त्यस दिन ?

भीमबहादुरको घर घटनास्थल भन्दा केहीमाथि छ । उनी महानवमीको दिन विहान मादक पदार्थ सेवन गरेर पूल्चोक शिवघाट सडकको दुर्गाचोकमा निस्किएका थिए । त्यहाँ बाटो भन्दा बायाँ कस्मेष्टिक र प्लाष्टिकको पसल छ भने दायाँतिर पल्लवी फार्मेसी र किराना पसल छन् । यो ठाँउका पुराना बासिन्दा रहेका भीमबहादुरबारे आफूहरु जानकार रहेको स्थानीय सरिना थापाले बताइन् ।

तस्वीरमा १ मन्दीर, २ कुटपिट गर्ने दीलिप श्रेष्ठको फार्मेसी र ३ मृतक भीमबहादुर

प्रत्यक्षदर्शीहरुको दाबी छ, घटना भएको दिन भीमबहादुरले स्थानीय सीतारामलाई उनको बाबुलाई जोडेर गाली गरे । सीतारामले ढाँड र पातामा गरी दुईपटक पाइपले हिर्काएपछि भीमबहादुर बाटोको दायाँतर्फ लागे । एउटा सानो मन्दिर छ । मन्दिर अगाडि पुगेर भीमबहादुरले गाली गलौच गरेको भिडियोमा समेत देखिन्छ । त्यहाँबाट अगाडि बढेका उनी दीलिप श्रेष्ठको फार्मेसी अगाडि पुग्छन् र श्रेष्ठलाई गाली गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

घर जानभन्दा नमानेपछि श्रेष्ठले मुक्का हानेको कस्मेष्टिक पसल सञ्चालन गर्दै आएकी स्थानीय प्रत्यक्षदर्शी सरस्वती पौडेलले बताइन् । ‘सीतारामले पाइपले ढाँडमा कुटेको मैले पनि देखेको हो, त्यसपछि उहाँ मन्दीर साइडतिर जानुभयो, त्यहाँबाट केके भन्दै फार्मेसीतिर आउनुभयो,’ प्रत्यक्षदर्शी पौडेलले भनिन्, ‘फार्मेसी सञ्चालकलाई गाली गरेपछि उहाँले एक मुक्का हान्दा ढल्नुभयो, सडकमा टाउको ठोक्कियो, अनि यो घटना भयो ।’

प्रहरीका अनुसार मुक्का हान्दा सडकमा ढलेका भीमबहादुरलाई श्रेष्ठ आफैंले सीपीआर गरेका थिए । होस नआएपछि दिलिपसँग मिलेर चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । तर, अस्पतालल्याई नपुर्‍याउँदै उनको मृत्यु भएको थियो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले सो दिन विहान १०.१५ बजे अस्पतालमा आउँदा भीमबहादुर मृत अवस्थामा नै ल्याइएको बताए ।

मन्दिर पस्न नदिँदा घटना भएको हो ?

घटना भएको पाँचदिन बितिसक्दा पनि परिवारले भीमबहादुरको शव बुझेको छैन । दलित अधिकार तथा मानवअधिकारवादीहरुले दलित भएर मन्दिर पस्न खोजेकै कारण भीमबहादुरको हत्या भएको दाबी गर्दै निश्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

विभिन्न १९ वटा संघसंस्था र व्यक्तिले आइतबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा दुर्गा चोकमा रहेको मन्दिरमा दशैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको उल्लेख छ । उनीहरूले ज्यानसम्बन्धी कसुर र जातीय विभेदमा कारबाही गर्न माग गरेका छन् ।

तर प्रहरीले जातीय विभेदमा मुद्दा चलाएको छैन । मृतकका छोराले सुरुमा दिएको जाहेरीमा जातिय विभेद भएको वा मन्दिर पस्न खोज्दा घटना भएको कुरा उल्लेख नभएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

विगत १५ बर्षदेखि मन्दिरमा पुजारीको रुपमा काम गर्दै आएका होमनाथ पोखरेलले पनि दलितलाई प्रवेशमा रोक नलगाइएको बताए । पूजा गर्छु भनेर आउनेलाई मन्दिरमा कुनै रोक लगाउने काम नभएको भन्दै पुजारी पोखरेलले अनलाइनखबरसँग भने, ‘हामीले कसैलाई पनि रोकेेका छैनौं, उहाँहरु आफैं आउनुहुन्न ।’

वडा नम्बर-४ का अध्यक्ष हरिप्रसाद आचार्यले भने जातीय विभेद र मन्दीर प्रवेशमा रोक लगाएको कारणले घटना भएको भनेर गरिएको प्रचार गलत भएको बताए । घटनालाई जाततिर मोड्दा वास्तविक पीडितले न्याय नपाउने र गाउँमा जातिय सद्भाव र एकता बिग्रने भन्दै उनले  अदालतले पीडितलाई न्यायदिनु पर्ने बताए ।

तर दलित संघसंस्था र मानवअधिकारकर्मीहरुले भने घटना जातीय विभेदसँग जोडिएकाले स्थानीय प्रशासनले दबाबमा नआई निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीले पनि घटना जातिय कारणबाट भए/नभएको बारेमा अनुसन्धान अगाडि बढेको बताए । ‘भीमबहादुरलाई मार्छु भनेर हानेका थिए वा थिएनन् वा मान्छे मार्ने नियत हो वा होइन एउटा कुरा होला, तर कसैले हिर्काउँदा लडेर उहाँको मृत्यु भएको छ, घटनाका दोषी जरुर उनीहरु हुन्,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘धैर्यतापूर्वक अनुसन्धान र अदालतको आदेश कुर्नपर्छ ।’

परिवार भन्छ : मर्ने गरी किन कुटेको ?

भीमबहादुरको परिवारका सदस्यहरुले गाली गर्‍यो भन्दैमा मर्ने गरी कुटपिट गरेर मारेको बताएका छन् । सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले दलित भएकै कारण आक्रमण र हत्या भएको समेत बताएको छ ।

मृतककी श्रीमती विन्दु विकले भनिन्, ‘रक्सी पिएको बेलाअलि बढी बोल्ने गर्नुहुन्थ्यो, बोल्नुभयो पनि भयो होला । तर गाली गर्दैमा मर्ने गरी कुट्नुपर्थ्यो र ?’

भीमबहादुरका छोरा किसन विकले दलित र गरिब भएकै कारण आफनो बाबुमाथि कुटपिट भएको दुखेसो पोखेका छन् । भीमबहादुरको परिवारको  आर्थिक अवस्था अति कमजोर छ र, दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएको छ ।

दलित अगुवाहरुले पनि उनीमाथि कुटपिट र हत्या हुनुका पछाडि दलित भनेर हेला गरिनु भएको बताएका छन् ।

दलित अगुवा रणेन्द्र बराइलीले अरु जातिको मान्छे भएको भए यसरी सिधैं आक्रमण गर्न कोही नआउने बताएका छन् । ‘मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भए सम्झाएको भए हुन्थ्यो । परिवार बोलाएर जिम्मा लगाएको भए के बिग्रन्थ्यो ?,’ उनले भने, ‘ज्यानै जाने गरी कुटपिट गर्नु अपराध हो ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?