
२ कात्तिक, विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।
धनकुटाको साघुरीगढी– ६ मा लेउती खोलाले करीब एक सय मिटर सडक कटान गरेपछि मंगलबार दिउँसोबाट सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रबाट धरान आउदै गरेका र धरानबाट पहाडी जिल्लातर्फ जादै गरेका सवारी रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । वर्षा जारी रहेकाले सडक तत्काल खुल्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ ।
यस्तै बाढीका कारण इटहरी– विराटनगर सडकखण्ड पनि प्रभावित भएको छ । प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार इटहरीमा रहेको साथी पेट्रोलपम्प छेउमा टेङ्ग्रा खोलामा निर्माणाधिन पुलमाथिबाट बाढी बग्न थालेपछि यातायात प्रभावित भएको हो ।
सडकखण्डबाट ठूला सवारी आवतजावत भएपनि साना सवारीलाई बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको उनले बताए । उनका अनुसार धनुकटा– भेडेटार खण्डका सवारी दुवैतर्फ रोकिएका छन् । सडक कटान भएको स्थान भेडेटारदेखि करीब १२ किलोमिटर टाढा छ ।
प्रहरी उपरीक्षक खतिवडाका अनुसार सुनसरीकै चतरामा पनि सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै भिरबाट लेदो खसेपछि कोसी पुल हुँदै चतराबाट उदयपुर जोड्ने सडकखण्ड अवरुद्ध भएको हो । पहिरोले पहाडी जिल्लाका भित्री सडकखण्डहरु पनि प्रभावित भएका छन् ।
यता, इटहरी उपमहानगरपालिका– २ मा खोल्सो छेउमा रहेको बस्तीमा बाढी पसेको छ। चारकोसे झाडी छेउमा रहेको बस्तीमा बाढी पस्दा आधा दर्जनबढी घरमा डुबानमा परेका छन् ।
बाढी प्रभावितहरुको उद्दारकार्य जारी रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए । बुढी खोलामा बाढी आएपछि खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया 4