३ कात्तिक, काठमाडौं। एएफसी एशियनकप चीन २०२३ को क्वालिफायर अन्तर्गत फाइनल राउन्डका खेलहरु परम्परागत घरेलु र अवे ढाँचाबाट सिंगल राउन्ड रोबिनका आधारमा केन्द्रीकृत (सेन्ट्रलाइज्ड) स्थानहरुमा खेलाइने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार केन्द्रीकृत स्थानमा क्वालिफायरका खेलहरु खेलाइने जनाएको छ ।
एएफसी कार्यकारी समितिले कोभिड१९ महामारीका कारण विद्यमान चुनौतिहरुलाई ध्यानमा राखी एसियाको सबैभन्दा ठूलो पुरुष फुटबल प्रतियोगितामा पुग्ने बाटोको रुपमा रहेको क्वालिफायर गर्न सबै सरोकारवालाहरुको सुरक्षा र भलाइलाई प्राथमिकता दिँदै यो निर्णय लिइएको हो ।
एशियनकप १ जून देखि १ जुलाई २०२३ सम्म चीनमा आयोजना हुनेछ । अन्तिम चरणको क्वालिफायरका खेलहरु २०२२ जुन ८,११ र १४ गरी तीन वटा म्याच डे मा खेलाइने सहमति भएको एएफसीले जनाएको छ ।
एएफसीले खेल आयोजनाका लागि सहभागी सदस्यहरुलाई प्रस्ताव पेश गर्न प्रक्रिया अघि बढाइने समेत जनाएको छ ।
एएफसीले प्रतिस्पर्धाको नियममा आधारित रहेर आवश्यक परेको खण्डमा खेल तालिका परिवर्तन गर्न सकिने समेत जनाएको छ ।
एशियनकप छनोटको दोस्रो चरणपछि नै २२ राष्ट्रले अन्तिम चरणको छनोटका लागि स्थान पक्का गरिसकेका छन् ।
यस्तै यसै महिनाको सुरुवातमा भएको छनोट प्ले-अफमार्फत इन्डोनेसिया र कम्बोडियाले अन्तिम दुई स्थानका लागि एसिया कपको अन्तिम चरणको छनोटमा स्थान पक्का गरेका छन् ।
प्रतिक्रिया 4