+
+

अफगानिस्तानमा तालिबानी बर्बरता : महिला खेलाडीको शिर छेदन गरी हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १८:४०

३ कात्तिक, काठमाडौं । सत्तामा आएपछि महिला तथा मानव अधिकारको सम्मान गर्ने तालिबानको बाचा भाषणमा मात्रै सीमित हुन पुगेको छ ।

पछिल्ला घट्नाले समेत तालिबानहरु महिलामाथि थप क्रुर र निर्दयी बन्दै गएको देखाउँछन् । उनीहरुले विशेषगरी महिला खेलाडीलाई मुख्य निशाना बनाउन थालेका छन् ।

यसैबीच स्टार भलिबल खेलाडीको रुपमा उदाउन थालेकी एक जुनियर खेलाडीको बर्बरतापूर्वक हत्या भएको घटना बाहिरिएको छ ।

तालिबान लडाकुले अफगान राष्ट्रिय महिला टोलीकी सदस्य महजबिन हकिमीको शिर छेदन गरी हत्या गरेको द पर्सियन इन्डेपेन्टेन्टले जनाएको हो । अन्तर्वार्ताका क्रममा राष्ट्रिय टोलीकी प्रशिक्षक अफजली (नाम परिवर्तन) ले शिर छेदन गरी हकिमीको हत्या गरिएको बताएकी हुन् ।

समाचार अनुसार तालिबान लडाकुले यसै महिनाको सुरुमा हकिमीको निर्ममतापूर्वक हत्या गरेका थिए । तर हकिमीको परिवारलाई धम्की दिएका कारण उक्त हत्या गुपचुप हुन पुगेको थियो ।

अशरफ घानीको सरकार ढल्नुअघि हकिमी काबुल म्युनिसिपालिटी भलिबल क्लबमा आबद्ध थिइन् । केही दिनअघि छेदन गरिएको टाउको र रगतले लतपतिएको घाँटीसहितको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । र उक्त तस्वीर हकिमीको रहेको बताइएको थियो ।

तालिबानले सत्ता कब्जा गरेपछि महिला खेलाडीहरु उनीहरुको निशानामा पर्न थालेका छन् । उनीहरुले महिला खेलाडीलाई खोज्ने प्रयास जारी राखेका छन् ।

यसअघि घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र मिडियामा देखा परेका भलिबल खेलाडीलाई तालिबानले बढी खोजी गरेको प्रशिक्षक अफजलीले बताइन् ।

‘भलिबल टोलीका सबै खेलाडी र अन्य महिला खेलाडीको अवस्था खराब छ, उनीहरु निराश छन् र डराइरहेका छन्’, अफजलीले भनिन्, ‘हरेकलाई घर छोडेर भूमिगत हुन बाध्या पारिएको छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?