+
+

वर्षाले सडक बिगारेपछि काठमाडौंमा फेरि फोहोर उठाउन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १९:३७
फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका नगरपालिकामा फेरि फोहोर उठाउन बन्द भएको छ । सोमबारदेखिको वर्षाका कारण नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर बोकेका गाडी पुग्न सकेका छैनन् ।

काठमाडौं महानगरपालिकाका अनुसार २ दिनदेखि फोहोर उठाउने काम रोकिएको छ । यसैपनि दशैंमा केही दिन फोहोर उठाउने काम लगभग ठप्प थियो । तर, दशैं नसकिँदै झरी परेपछि सिसडोलमा फोहोर बोकेका गाडी जान नसक्ने अवस्था बनेको हो ।

महानगरपालिकाका एक अधिकारीका अनुसार बुधबार पनि फोहोर बोकेका गाडीलाई ल्यान्डफिल साइट लैजाने प्रयास गरिएको थियो । तर, सडक हिलो भएका कारण फोहोर बोकेका गाडी जान नसकेको उनले बताए ।

उनका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल)स्थित ल्यान्डफिल साइटमा गाडी जान नसकेको र सोही कारण सार्वजनिक स्थल र घरघरबाट फोहोर संकलन पनि बन्द गरिएको छ ।

यसले गर्दा दशैंदेखि जम्मा भएको फोहोर घरभित्रै राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता सिर्जना भएको छ ।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर संकलन हुन्छ ।

सामान्य अवस्थामा ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक छ ।

चन्द्रागिरि, महालक्ष्मी र मध्यपुर थिमी नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी र सूर्यविनायक नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

शंखरापुर नगर क्षेत्रमा ८ मेट्रिक टन र सबभन्दा कम कीर्तिपुर नगरमा दैनिक ६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । उपत्यकाका महानगरपालिका र नगरपालिकाबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि सिसडोल ल्यान्डफिल साइटमा नै फाल्ने गरिएको  छ । तर, अहिले सबैतिर फोहोर उठाउने काम अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?