+
+

बंगलादेशमा दुर्गा पूजाको पण्डालमा कुरान राखिदिने व्यक्तिको पहिचान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १०:४५

४ कात्तिक, काठमाडौं । बंगलादेशको कुमिल्ला शहरमा दुर्गा पूजाको पण्डालमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान राख्ने व्यक्तिको पहिचान भइसकेको र उसको खोजी भइरहेको प्रहरी अधिकारीले बताएका छन् ।

नवरात्रको अष्टमीको दिन दुर्गा पूजाको पण्डालमा कुरान राखिदिएको यसै घटनाका कारण बंगलादेशमा हिंसा भड्किँदा सात जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका छन् । हिन्दु मन्दिर, घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

प्रहरी अधिकारीहरुले सिसिटिभी फुटेजको आधारमा कुरान राखिदिने व्यक्तिको पहिचान भइसकेको भन्दै उसलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिएका छन् ।

सामाजिक सन्जालमा शेयर गरिएको सिसिटिभी फुटेजमा एक व्यक्ति हातमा केही कुरा समातेर दुर्गा पूजा भइरहेको स्थानमा पुगेको र हनुमानले बोक्ने गदा लिएर फर्किएको देखिन्छ । त्यसपछि केही व्यक्तिहरु त्यहाँ जम्मा भएर कुरानको अपमान गरेको भन्दै पण्डालमा तोडफोड गर्छन् ।

कुमिल्ला शहरमा भएको यो घटनालगत्तै बंगलादेशको चाँदपुरलगायतका स्थानहरुमा हिन्दु मन्दिरहरुमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार कुमिल्ला, चाँदपुरको हाजीगञ्ज, नोआखालीको बेगमगञ्ज, रंगपुरको पीरगञ्ज, कोक्स बजार, हबीगञ्ज र गाजीपुरमा तोडफोड र आक्रमणका घटना भएका थिए । एक हप्ताको बीचमा भएको यो घटनाका कारण सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये दुई जना हिन्दु हुन् ।

प्रहरी अधिकारीले दुर्गा पूजाको पण्डालमा कुरान राखिदिने व्यक्तिको पहिचान भएको बताए पनि ती व्यक्तिको नाम-ठेगाना खुलाउन चाहेका छैनन् । तर बंगलादेशको अखबार डेली अब्जर्भरले प्रहरी स्रोतलाई उल्लेख गर्दै ती व्यक्ति इकबाल हुसेन भएको जनाएको छ । पत्रिकाका अनुसार ती व्यक्ति सुजाननगरका बासिन्दा हुन् ।

यसैगरी ढाका ट्रिब्युनले उनकी आमासँग कुरा गर्दै लेखेअनुसार इकबालमा लागुऔषध सेवन गर्ने लत छ । १० वर्षदेखि मानसिक रुपमा समस्या रहेकाले उनले अनेक काम गर्दै दुःख दिने गरेको उनकी आमाले बताएकी छन् । यसैगरी इकबालका भाइ रेहनले उनको खोजीमा प्रहरीलाई सघाइरहेको बताएका छन् ।

इकबालको परिवारका सदस्यहरुले यदि उनी दोषी भए कारबाही हुनुपर्ने बताएको ढाका टि्रब्युनको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?