+
+

वाणिज्य विभाग तीन सातादेखि नेतृत्वविहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १९:३७

४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तीन साता देखि नेतृत्वविहीन बनेको छ । तत्कालिन विभागको नेतृत्वमा रहेका महानिर्देशक प्रकाश पौडेल असोज १३ गते सरुवा भएका थिए । सोही दिन मन्त्रालयले विभागको अनुगमन शाखा प्रमुख निर्देशक शिवराज सेढाईंको पनि सरुवा गरेको थियो । त्यसयता ती दुवै पद निमित्तको भरमा छ । विभाग तीन साता देखि महानिर्देशक र बजार अनुगमन शाखा निर्देशकविहीन छ ।

देश भरको बजार अनुगमन, थुनछेक र फैसलाको अधिकार भएको निकाय व्यापारीको चाहना बमोजिम कमजोर बनाइएको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले सरकारको आलोचना गरेका छन् । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्रीले समय नदिएका कारण विभाग नेतृत्वविहीन बनेको मन्त्रालय स्रोतले बतायो । ‘विभागको नेतृत्वमा मन्त्रिस्तरबाट निर्णय हुनुपर्छ, प्रधानमन्त्रीले भेटका लागि समय नदिएका कारण निर्णय हुन सकेको छैन’ मन्त्रालय स्रोतले भन्यो ।

अर्धन्यायिक कानुनी अधिकार प्रयोग गर्न नपाउने उपसचिव डम्मरु प्रसाद निरौलालाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको छ । विभागले पाएको कानुनी अधिकार र आफ्नो निमित्तको जिम्मेवारी मेल नखाएको निरौलाले अनलाइनखबरलाई बताए । ‘निमित्तको जिम्मेवारी तोकिको छ तर मलाई अर्धन्यायिक कानुनी अधिकार प्रयोग गर्ने कानुनी हैसियत छैन,’ निरौलालले थपे, छिटो हाकिम पठाइ दिन मन्त्रालयलाई भनेको छु ।’ उपभोक्ता अधिकार कार्यान्वयन गर्ने क्रममा आफ्नो अधिकार नभएको थुनछेक र फैसला गर्नु पर्ने मुद्दाहरु विभागमा नआएको उनले बताए । बजार अनुगमन भने निरन्तर रहेको उनले दाबी गरे ।

उपभोक्ता हित र बजार अनुगमनको प्रमुख दायित्व बोकेको निकाय व्यापारीको चाहना बमोजिम कमजोर बनाइएको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँको आरोप छ । ‘देशभरको बजार अनुगमन र कानुनी अर्धन्यायिक दायित्व पूरा गर्नुपर्ने निकाय एक दिन त परको कुरा एक घण्टा पनि खाली राख्न पाइन्न, यहाँ व्यापारीको चाहना बमोजिम विभाग नेतृत्वबिहिन बनाइयो,’ बानियाँले भने ।

बजार अनुगमन नहोस् र बजारमा अवान्छित गतिविधि गर्न पाइयोस् भन्ने चाहना राख्नेका लागि विभाग कमजोर बनाइएको उनले बताए । चाड पर्वमा उपभोक्ता ठगिने सम्भावना निकै हुने र यस्तो बेलामा विभाग चुस्त हुनु पर्नेमा झन कमजोर बनाईनु दुःखद् भएको उनको गुनासो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?