+
+

पुनर्निर्माणबारे जानकारी दिन मंसिर तेस्रो साता अन्तर्राष्ट्रिय सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १६:०२

५ कात्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर तेस्रो साता काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

प्राधिकरणले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जानकारी दिएको हो ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका अनुभव तथा सिकाइहरुले विपदबाट सुरक्षित नेपाल बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार तयार भएको भन्दै यसको अनुभव बाँड्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराए । अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ राखिएको छ ।

सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत गर्ने प्राधिकरणको भनाइ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी पाहुना, विषय विज्ञ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी गराए ।

अन्तर्राष्ट्रिय सम्मेलनलाई लक्षित गरी https://icnr.nra.gov.np नामको छुट्टै वेबसाइट बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्मेलनमा सहभागी हुन इच्छुक महानुभावहरुलाई अनलाइनमार्फत् रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले २०७२ साल पुस १० गते स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो । विपद्को समयमा हुने अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता अनुरुप नेपालले प्राप्त गरेको उक्त सहयोग अन्य मुलुकको तुलनामा उल्लेखनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?