+
+

फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १९:३७

५ कात्तिक, काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत १ लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने छ ।

फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । उनले अनलाइखबरसँग भने, ‘कात्तिक २८ गते विश्व मधुमेह दिवस हो । सोही अवसर पारेर खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

यो खोप कसले पाउँछन् ?

सरकारले विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी यो खोप ल्याउन लागेको हो । तर सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ । दीर्घ रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिएको दाहालले बताए ।

यो खोप माइनस ८० डिग्री तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई केन्द्रीय खोप भण्डारणमा राख्ने व्यवस्था मिलाइएको दाहालले जानकारी दिए ।

खोप कार्यक्रम सञ्चालनका लागि केन्द्रीय खोप भण्डारणबाट २ देखि ८ डिग्री तापक्रममा खोप पठाउन सकिने र ३१ दिनभित्र उक्त खोप प्रयोग गरिसक्नुपर्ने उनको भनाइ छ ।

परिवार कल्याण महाशाखा प्रमुख डा. लालका अनुसार आइतबार यो खोपका लागि आवश्यक पर्ने घोलकलगायत अन्य सामग्री आइपुग्ने छन् भने सोमबार खोप आइपुग्ने छ ।

यो खोप अन्यभन्दा फरक भएकाले यसको प्रयोग गर्ने तरिका पनि भिन्न रहेकोले विशेषज्ञ सेवा सञ्चालन भएका अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागेको डा. लालले बताए । यो खोप लगाउने स्वास्थ्यकर्मीलाई पनि तालिम दिने तयारी भइरहेको र आगामी दिनमा आउने थप खोप लगाउन पनि तालिम लिएका जनशक्ति प्रयोग गरिने उनले बताए ।

खोप कार्यक्रम कसरी सञ्चालन हुन्छ ?

यो खोप देशभरका २४ वटा अस्पतालबाट सञ्चालन हुने खोप महाशाखा प्रमुख दाहालले बताए ।

काठमाडौं उपत्यकाभित्र ९ वटा अस्पताल र विशेषज्ञ सेवा सञ्चालन भएका सबै प्रदेशका अस्पताल रहने गरी १५ वटा अस्पतालबाट यो खोप कार्यक्रम सञ्चालन हुने उनले बताए ।

प्रभावकारिता कस्तो छ ?

मंगलबार मात्रै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले १२ देखि १८ वर्ष उमेर समूहका व्यक्तिमा फाइजर खोप प्रभावकारी हुने निष्कर्ष निकालेको छ । गत जुन र सेप्टेम्बर महिनामा गरिएको अध्ययनका आधारमा खोप लगाएपछि सो उमेर समूहका व्यक्ति अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट ९३ प्रतिशत सुरक्षित हुने निष्कर्ष निकालिएको छ ।

यो खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा ९०.७ प्रतिशत प्रभावकारी रहेको कम्पनीले दावी गरेको छ ।

खोप उत्पादक कम्पनीले दुई हप्ताअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनसँग ५ देखि ११ वर्ष उमेरका बालबालिकामा खोप प्रयोगको अनुमति दिन अनुरोध गरिसकेको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले १६वर्षमाथिका व्यक्तिमा खोप प्रयोगको पूर्ण अनुमति दिइसकेको छ । त्यस्तै एफडीएले १२ देखि १५ वर्षका बालबालिकाले आकस्मिक परिस्थितिमा खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।

बिहीबार मात्रै खोप निर्माता कम्पनीले बायोइन्टेक र फाइजर खोपको बुस्टर डोज लगाएकामा ९५.६ प्रतिशत प्रभावकारी हुने सार्वजनिक गरेको थियो ।

के छन् असर ?

हालसम्मका परीक्षण अनुसार खोप लगाएका १२ देखि १५ वर्षका बालबालिकामा खोप लगाएको ठाउँमा पीडा हुने,थकान हुने, टाउको दुख्ने, शरीर चिसो हुने, मांशपेशीमा पीडा हुने, ज्वरो आउने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?