+
+

पार्टीमा गुट होइन, विचार हेरेर नेता छान्नुस् : केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १३:५०

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय बनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत राजनीतिका आधारमा पार्टीमा नेतृत्व चयन नगर्न सुझाव दिए ।

‘हामी को-कसको मान्छे, को कुन समूहको मान्छेभन्दा पनि व्यक्तिको विचार, उसको काम हेरेर नेता चयन गर्नूस् । मन, बचन र कर्मले कसले पार्टीको संगठन निर्माण र जनताको सेवामा काम गरेको छ, त्यसलाई जिताउनूस्,’ उनले भने, ‘नेता नहेर्नूस्, उसको नीति र जिल्लामा गरेका कामलाई हेर्नूस् । व्यक्ति होइन, उसले समग्र राष्ट्र हीत र विकासमा गरेको योगदानलाई मूल्यांकन गर्नूस् ।’

उनले पार्टीभित्र राजनीतिक पूर्वाग्रह र गुटगत निकटताका आधारमा नेता कार्यकर्ताको मूल्यांकन गर्न नहुनेमा जोड दिए । ‘मेरा लागि तपाईंहरू सबै समान हुनुहुन्छ । मैले गुट हेरेर, यो नेताको मान्छे, त्यो नेताको मान्छे भनेर भन्दिन, संगठन बनाउन सक्ने र पार्टीमा योगदान दिने जो कोहि कांग्रेसका नेता कार्यकर्तालाई मेरो साथ र समर्थन हुन्छ,’ उनले भने ।

कांग्रेसको प्रतिस्पर्धा कम्युनिष्टहरुसँग भएकाले पार्टीको अधिवेशनका बेला हुने निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा उनको जोड थियो । नेता केसीले भने, ‘यो एउटा लोकतान्त्रिक अभ्यास हो, जित्नेले पराजित हुनेलाई पनि समेटेर अगाडि बढ्नुपर्छ र हार्नेले जित्नेलाई नेता मानेर अगाडि बढ्न सक्यो भने यसले पार्टीमा हार्दिकता ल्याउँछ ।’

नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले पार्टीको जारी अधिवेशनलाई सफल बनाउन सबै नेता कार्यकर्ताको सहयोगको खाँचो औंल्याए । महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्वसँगै ऊर्जा दिने उल्लेख गर्दै उनले भने, ‘यो हाम्रा लागि उत्सव हो, सबै एकताबद्ध भएर पार्टीलाई सहि दिशा र कार्यक्रम दिनसक्ने नेतृत्व चयन गरौं ।’

चियापान कार्यक्रममा नुवाकोट जिल्लामा पार्टीको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र पालिकाका नेतृत्वलगायत नेता कार्यकर्ताको उपस्थिति थियो । नुवाकोटमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?