+
+
Shares

विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउने आँट सरकारले देखाउनुपर्छ : केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको पाँच वर्षको पूर्ण कार्यकाल र राजनीतिक स्थिरताको पक्षमा पार्टी रहेको बताए ।
  • उनले पछिल्लो चार महिनामा महँगी साढे ५ प्रतिशतभन्दा बढी बढेको, ग्यासको हाहाकार र विद्युत् सेवामा समस्या रहेको भन्दै सरकारको आलोचना गरे ।
  • केसीले आर्थिक अपराध र भ्रष्टाचारको फाइल खोलेर कारबाही अघि बढाउन र ५०० तथा १००० का नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे ।

३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टी सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् ।

बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको बताए ।

सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको बैठकमा देखिएको अन्योललाई उनीहरूको आन्तरिक मामिलाको संज्ञा दिँदै नेता केसीले जनताले राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वास गरेको स्मरण गराए ।

‘हामी प्रमुख प्रतिपक्षमा भए तापनि यो सरकारले पाँच वर्षसम्म स्थिरता प्राप्त गरोस् र जनताका आकाङ्क्षाहरू पूरा गरोस् भन्ने हाम्रो चाहना छ ।  हामी सरकारभित्र खेल्ने भन्दा पनि गुण र दोषका आधारमा रचनात्मक भूमिका निर्वाह गर्नेछौं,’ उनले भने ।

सरकारको आलोचना गर्दै नेता केसीले पछिल्लो चार महिनामा महँगी साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको, भान्सामा ग्यासको हाहाकार रहेको र विद्युत सेवामा समेत समस्या देखिएको भन्दै जनजीविकाका सवालमा सरकार गम्भीर हुन नसकेको आरोप पनि लगाए ।

‘विगतमा को–कसले आर्थिक अपराध र भ्रष्टाचार गरे, ती सबैको फाइल खोलेर कारबाही प्रक्रिया अगाडि बढाउनुस्, कांग्रेसले पूर्ण साथ दिनेछ । ५०० र १००० का नोटमा प्रतिबन्ध लगाउने र विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउने आँट यो सरकारले देखाउनुपर्छ,’ उनले भने ।

सत्तापक्षका सांसदहरूले हरेक समस्याको दोष पुराना दलहरूलाई दिने गरेको प्रसङ्गमा नेता केसीले ‘नाच्न नजान्ने आँगन टेढो’ भन्दै कटाक्ष पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?