+
+

हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै भैरहवामा धर्मसभा

गोवर्द्धन पीठका प्रमुखले सम्बोधन गर्ने

टोपराज शर्मा टोपराज शर्मा
२०७८ कात्तिक ८ गते ८:५६

८ कात्तिक, बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।

विश्व ओमकार एकता महाभियानको आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् ।

सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुगेका छन् ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताएका छन् ।

महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने उनले बताए । सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने पुष्पराजले बताए ।

धर्मसभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले बताए ।

धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार जनाको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?