+
+

गाड्न लागेको शव बरामद : प्रमाण लुकाउन खोजेको भन्दै वडाध्यक्षविरुद्ध मुद्दा

सुरेश बिडारी सुरेश बिडारी
२०७८ कात्तिक ८ गते १०:१७

८ कात्तिक, वीरगञ्ज । असोज २१ गते वीरगञ्ज-१३ मा १९ वर्षीया युवतीको शंकास्पद मृत्युपछि शव गाड्न लागेको सूचना प्रहरीलाई आयो । जबर्जस्ती करणीपछि अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्रारम्भिक सूचना प्रहरीसमक्ष आएको थियो ।

शव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँको जेठो छोरा नासिर मियाको घरमा छ भनिएको थियो । दुई जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटियो ।

घरमा पुग्दा महिला सदस्यहरू मात्र थिए, उनीहरुले केही बताएनन् । त्यसपछि प्रहरीले आसपासमा रहेका मुस्लिम समुदायको अन्तिम संस्कार गर्ने स्थल ‘कब्रिस्तान’हरूमा खोजी गर्‍यो ।

वीरगञ्ज-१३ मुर्ली नयाँ टोलस्थित कब्रिस्तानमा युवतीको शव दफन (गाड्ने) गर्ने तयारी भइरहेको थियो । माटो दिने मानिसहरू एकदमै थोरै थिए । उनीहरूले शव नियन्त्रणमा लिन नदिने प्रयास गरे । प्रहरीसँग वादविवाद गरे । तैपनि प्रहरीले शव नियन्त्रणमा लिएर पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठायो । शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लियो । घटनाबारे अनुसन्धान शुरु गर्‍यो ।

मृतक भारत बिहार पश्चिम चम्पारणस्थित इनर्वा खनिया निवासी जयुनत खातुन हुन् । उनी जगरनाथपुर गाउँपालिका निवासी आˆनो भिनाजुको घर बस्दै आएकी थिइन् । गाउँपालिका अध्यक्ष मियाको कान्छो छोराकी साली ।

सूचनामा जर्बजस्ती करणीपछि ब्लिडिङ भएको भनिएको छ । शरीरमा चोटपटक थिएन तर घाँटीमा निलडाम देखियो । प्रहरीलाई खबर नगरी हतार हतार शव गाड्न लागिएको थियो । घटनामा पहुँचवाला व्यक्तिको संलग्नता हुनसक्ने देखियो । घटना धेरै शंकास्पद थियो । अध्यक्ष मियाको परिवारका सदस्य नै शंकाको घेरामा परे ।

घटनालाई गम्भीर र सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने निष्कर्ष अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले गरे । विभिन्न अपराधिक घटनामा संलग्न रहेको आशंकामा व्यक्ति पक्राउ पर्ने वित्तिकै प्रेस रिलिज गर्ने प्रहरी सञ्चारमाध्यमसँग खासै खुलेनन ।

अनुसन्धानका लागि नियन्त्रणमा लिएका ९ जनामध्ये ८ जनालाई पटकपटक गरेर छोडिदियो । प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्नता नदेखिएकालाई छोडिएको दाबी प्रहरीको छ ।

प्रहरीले नारायणी अस्पतालमा शव परीक्षण गर्ने डाक्टर अजित साहसँगको परामर्श लियो । काठमाडौंमा ‘फरेन्सिक बोर्ड’ गठन गरेर ‘एक्सपर्ट ओपिनियन’ लिन सकिने भएकोले उतै पठाउन सुझाव उनले दिए । असोज २३ गते शव पोस्टमार्टमका काठमाडौंको शिक्षण अस्पताल पठाइयो ।

युवतीको मृत्युको कारण ‘हृयाङगिंङ’ उल्लेख गरिएको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
‘जर्बजस्ती करणी भएको प्रारम्भिक सूचना आएको थियो, पोष्टमार्टम रिपोर्टमा शारीरिक सम्बन्ध भएको देखिएको छैन,’ उनले भने, ‘झुण्डिएरै मृत्यु भएको भनिएको छ ।’

प्रमाण लुकाउन खोजेको भन्दै वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा

झुण्डिएर मृत्यु भएको रिपोर्ट आए पनि पोस्टमार्टम नगराई शव गाड्न लागिएकोले घटनालाई प्रहरीले शंकास्पद नै मानेको छ ।

झुण्ड्याएर मारेको हुन सक्ने आशंका गर्ने ठाउँ पनि छ । घटना लुकाउने र सबुत प्रमाण दबाउने, नष्ट गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

वीरगञ्ज-१३ का वडा अध्यक्ष तुफान अन्सारी, अध्यक्ष मियाको जेठो छोरा नासिर मिया र केटीको बुवा समसुद्दिन अन्सारीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । केटीको बुवा समसुद्दिन मात्रै प्रहरी हिरासतमा छन् ।

शव कब्रिस्तान लैजानुभन्दा अगाडि नासिरको घरमा राखिएको, मृतक युवतीका बुवालाई घटनाबारे जानकारी हुँदा पनि प्रहरीलाई खबर नगरेको र शव नियन्त्रणमा लिने बेला वडाध्यक्ष अन्सारीले अवरोध पुर्‍याएको आरोप प्रहरीले लगाएको छ ।

‘झुण्डिएरै मृत्यु भएको भए पनि घटना लुकाउने र प्रमाण दबाउन खोजिएको देखिन्छ । तीन जनाविरुद्ध मुद्दा दर्ता गरिसकेका छौं,’ डिएसपी खनालले भने, ‘अन्य संलग्नहरु फरार छन् । पहिचान र खोजतलास भइरहेको छ । उनीहरूविरुद्ध पनि मुद्दा चल्छ ।’

मुलुकी अपराध संहितामा कसूरको प्रमाण दवाउने कार्यलाई फौजदारी कसुर मानेको छ ।

कसैले कुनै कसुरदारलाई बचाउने नियतले कसुर सम्बन्धी कुनै प्रमाण दबाउन, नष्ट गर्न वा त्यसलाई प्रमाणको रुपमा प्रयोग गर्न नसकिने गरी बिगार्न नपाउने उल्लेख छ । त्यसो गरे वा गराएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?