+
+

यस्तो छ ३६ सय वर्षअघि बनाइएको विश्वकै पहिलो ब्रम्हाण्ड नक्सा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १२:२६

वर्तमान समयमा प्रविधिको विकासले धेरै कार्यहरुलाई निकै सहज बनाइदिएको छ । हामी पृथ्वीमै बसेर अन्तरिक्ष, तारा तथा ग्रहहरुको सुक्ष्म अवलोकन गर्न सक्दछौं । मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ र मंगल ग्रहमा पुग्ने कोसिसमा छ ।

हरेक दिन ब्रम्हाण्डका नयाँ-नयाँ रहस्यहरुको उद्घाटित भैरहेका छन् । तर आजभन्दा सयौं वर्षअघि यस्तो सम्भव थिएन । त्यस समय खगोल वैज्ञानिकहरु तथा खगोल बुझ्ने मानिसहरु त थिए तर प्रविधिको विकास आजको जस्तो थिएन । तथापि उनीहरुले सीमित स्रोत साधनबाटै खगोल विज्ञानलाई बुझ्ने बुझाउने काम गर्दथे ।

त्यस समयमा धातुका पत्रहरुमा नक्सा बनाएर ग्रह तथा ताराहरुको स्थितिको अध्ययन गरिन्थ्यो । त्यस्तै मध्येको एक बहुमूल्य नक्सा बि्रटिस संग्राहलयमा प्रदर्शनका लागि राखिँदैछ । विश्वकै सबैभन्दा पुरानो नक्षत्रहरुको यो नक्सा आम मानिसहरुलाई देखाउनका लागि प्रदर्शनमा राखिने भएको छ ।

यो धातुको नक्साको नाम नेब्रा स्काइ डिस्क हो जुन झण्डै तीन हजार ६०० वर्ष पुरानो छ । यो नक्सा काश्य यूगमा बनेको मानिन्छ ।

यो नक्सा सन् १९९९ मा जर्मनीमा फेला परेको थियो । यो काश्य वृत्तलाई २० औँ शताब्दीको सबैभन्दा महत्वपूर्ण पुरातात्विक खोजमध्येमा एक मानिन्छ ।

यद्यपि यसको खोजका विषयमा निकै विवाद पनि छ । कतिपय विज्ञहरुमा यसको प्रामाणिकतालाई लिएर विवाद रहँदै आएको छ । नेब्रा डिस्कको व्यास झण्डै ३० सेन्टिमिटर छ । यसमा निलो-हरियो रङको आधार छ । सूर्य, चन्द्रमा तथा ताराहरू चाहिं सुनौलो रङका छन् ।

यो डिस्क युनेस्कोको महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरुको विश्वव्यापी सूचीमा पनि सामेल छ । यसले मानव सभ्यतामा सुनको प्रारम्भिक ज्ञानका बारेमा पनि जानकारी प्रदान गर्दछ ।

यो डिस्क जर्मनीको स्टेट म्युजियम अफ प्रि-हिस्ट्रीको स्वामित्वमा रहेको छ तर यसलाई ब्रिटिस म्युजियमलाई हाल सापटीमा दिएको छ ।

बि्रटिस म्युजियमका अनुसार आउँदो फेब्रुअरीमा खुल्ने स्टोनहेन्जस्थित एक प्रदर्शनीका क्रममा यसलाई प्रदर्शन गरिनेछ । आउँदो फेब्रुअरी १७ देखि जुलाई १७ सम्म हुने द वल्र्ड अफ स्टोनहेन्ज प्रदर्शनीका क्युरेटर निल विल्किनले यस डिस्कका बारेमा बोल्दै बताएका छन् ः यो आँखा खोलिदिने खालको छ ।

नेब्रा डिस्कमा सूर्यसँगै अन्य खगोलीय पिण्डलाई पनि देखाइएको छ । विज्ञहरूका अनुसार उत्तरी युरोपेली काँश्य युगमा सूर्य धर्मको केन्द्र थियो ।

पुरातत्वविद् तथा काश्य युगका विज्ञ प्राध्यापक मिरान्डा एल्डहाउस गि्रनका अनुसार नेब्रा डिस्कमा रहेको प्रतीक विश्वास प्रणालीको एक हिस्सा हो जसबाट मानिसहरुले स्वर्गलाई हेर्दछन्, त्यसको पूजा गर्दछन्, सूर्यको पूजा गर्दछन् र चन्द्रमाको पनि पुजा गर्दछन् । नेब्रा डिस्कले यी सबै प्रतिकलाई एकसाथ देखाएको छ ।

जर्मनीको नेब्रा सहर नजिकै तरबार, चुलसी तथा काश्य युगसँग सम्बन्धित अन्य चिजहरुसँगै यो डिस्क फेला परेको थियो । यसको बारेमा दुईजना अवैध सम्पत्ति खोजकर्ताहरुले पहिले पत्ता लगाएका थिए । उनीहरूले मेटल डिटेक्टरको सहायताले यो डिस्क उत्खनन गरेकोमा पछि उनीहरूबाट प्रहरीले बरामद गरेको थियो ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?