+
+

अक्कासे सरकार, अक्कासे राज्य !

देवेन्द्र गौतम देवेन्द्र गौतम
२०७८ कात्तिक १० गते ८:२७

कस्तो अक्कासे रैछ !

पश्चिम पहाडको गाउँले परिवेशमा बाल्यकाल बिताउनुभएको भए तपाईंका दाइ-दिदी, बुबा-आमा, हजुरबा-हजुरआमा, काका-काकीले प्रकटमा अलिकति रिसाएर तर भित्रभित्र शायद आहृलादित हुँदै बोलेको यो वाक्य तपाईंका कानमा पटक-पटक ठोक्कियो कि ?

ठोक्किएन भने मेरा दुई थोपा आँसु स्वीकार्नोस् किनभने तपाईं साह्रै ‘ज्ञानी’ बालक हुनुहुँदोरहेछ ।

चराचुरूङ्गी जस्तो फुर्रफुर्र गर्दै ‘उड्ने’ एउटा उमेर हुन्थ्यो । बाँसका सुपला काटेर बनाइएको फिरफिरेको बीचमा सिन्को घोचेर मसिना औंलाहरूले त्यसलाई समाई खूब दौडिन्थ्यौं हामी ।

हावासँगै दौडिंदा त्यो फिरफिरे जोडले घुम्थ्यो, हामी दङ्ग पर्थ्यौं ।

जानी-नजानी उकाला-ओराला बाटाहरूमा, पाखापखेराहरूमा ‘एयरोडाइनामिक्स’को साधारण प्रयोग गर्दै बतास जस्तै बतासिंदा हामी अर्थात् साना वैज्ञानिकहरू लड्थ्यौं, कहालिंदै रुन्थ्यौं, कहिले अभिभावकहरूले फुल्याउनुहुन्थ्यो, कहिले आफंै फुलिन्थ्यौं । लड्थ्यौं, उठ्थ्यौं अनि फेरि दौडिन्थ्यौं ।

टालाटुलीको भकुण्डो बनाएर, नाम्लाको नेट बनाएर ‘भलिबल’ खेल्थ्यौं, रन खेल्थ्यौं, डण्डिबियो खेल्थ्यौं । अँ चङ्गा पनि उडाउँथ्यौं साँच्चै ।

यसरी थोरै पढेर, धेरै खेलेर बित्यो हाम्रो बाल्यकाल ।

यस देशका नागरिकहरू दशकौंदेखि प्राकृतिक विपद्भन्दा पनि गम्भीर विपद् झेल्न अभिशप्त छन् । पाठकवृन्द, तपाईंलाई थाहा छ त्यो मानवनिर्मित विपद् कुन हो ? त्यो विपद् हो- सरकार

जेहोस्, ती दिनहरूमा धेरै समय हाम्रा खुट्टा भुइँमा हुँदैनथे, चराहरू जस्तै उड्थ्यौं हामी । अनि अभिभावकहरूले हामीहरूलाई अक्कासे नभनेर ज्ञानी बाबु किन भनून् ?

ती निश्चिन्तताका दिनहरू बतास जस्तै गैगए, हाम्रा समवयीहरूलाई पनि अक्कासिन पुग्यो । पखेटा काटिएका चरा झैं कति दिल्ली, बम्बई, गुजरात गए, कति मलेशिया गए, कति कोरिया गए, कति विदेशी सेनामा भर्ती भए । होश गरेर हिंड्नुपर्ने जीवनको चरणमा प्रवेश गर्‍यौं ।

झरीले भिजेका खरबारीका हातका रेखाहरू जस्ता साँघुरा बाटाहरूमा खरको भारी बोक्दै, खरका गाँजहरू समात्दै आमा घर फर्के जस्तो गरी हिंडियो जीवनका बाटाहरूमा ।

कहिले अलि फराकिला बाटाहरूमा हिंडियो, अलि कम सकस भयो, तर ती बाटाहरूमाथि अक्करे भीर झुण्डिरहेकै हुन्थ्यो, तल कालीगण्डकी बगिरहेकै हुन्थ्यो ।

दुःखका यामहरू धेरै खेपियो, सुख बतासिंदै आउने अनि एकैछिनमा गइहाल्ने भइरहृयो ।

टेम्ज नदीमा आगो लगाउन सक्ने किसिमको विलक्षण प्रतिभा नभएकाहरूको शैशवकाल रंगीविरंगी हुन्छ होला । किशोरवय र युवाकालमा ती रंगहरू फिका हुँदै जान्छन् होला । वृद्धावस्थाबारे नसोचौं अहिले, थप पीडा हुन्छ । जे होस् ऐनामा आफ्नो अनुहार हेरेर आफंै तर्सिनुपर्ने उमेरमा रंगहरूको त्यो बसन्त के फर्किन्छ होला र ?

व्यक्तिगत जीवनलाई बिर्सेर देशको जीवन नियालिहेरूँ एकपटक । यसोगर्दा आफ्ना समस्याहरू साना देखिन्छन्, आफूलाई महान् नेता वा सो सरह भएको भान पनि हुन्छ ।

यतिखेर बाढीपहिरोका कारण देशको बेहाल छ । जनधनको ठूलो क्षति भएको छ, किसानले बडो दुःख गरेर लगाएको धानबाली, गहुँबाली नष्ट भएको छ । विपद्मा परेर बाँचेकाहरूको जीवन ज्यादै कष्टपूर्ण छ । बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूको हालत के होला ? विपद् पीडितहरूले कैयौं दिनदेखि चिउरा र चाउचाउको भरमा गुजारा गर्नुपरेको छ । कतिपयलाई त चिउरा र चाउचाउ पनि आकाशको फल भएको होला ।

यस देशका नागरिकहरू प्राकृतिक विपद्भन्दा पनि गम्भीर विपद् झेल्न अभिशप्त छन् दशकौंदेखि । पाठकवृन्द, तपाईंलाई थाहा छ त्यो मानवनिर्मित विपद् कुन हो ?

त्यो विपद् हो- सरकार ।

यस आलेखको आरम्भमा मैले अक्कासेहरूको कुरा गरेको थिएँ नि !

अक्कासेहरू ठेस लागेपछि, हण्डर खाएपछि, उमेर पुगेपछि, बुद्धि पसेपछि सुध्रिन्छन् तर यो देशमा एउटा यस्तो मानवनिर्मित, मानव सञ्चालित प्रणाली छ, जो जति गरे पनि सुध्रिंदैन ।

हो, त्यही प्रणालीको नाम हो सरकार ।

यहाँनिर एउटा कुरा स्पष्ट पारिहालूँः मैले यसभन्दा अघिको सरकार धतङ्गो थिएन भनेको चाहिं होइन है । यति स्पष्टीकरण दिइनँ भने यहाँहरूले मेरो पनि कित्ताकाट गर्न शुरू गर्नुहुन्छ होला ।

बाढीपहिरोमा परेर सर्वस्व गुमाएका नागरिकहरूले खाईनखाई यस राज्यलाई पोसेकै हुन्, कर बुझाएकै हुन् । आखिर केका लागि ? यस्तै संकटका बेला राज्यले सहयोग गर्छ भनेर होइन ?

दुःखको कुरा, ती निःसहाय करदाताहरूका लागि नेपाली राज्यले, यस सरकारले पनि माखो मार्न सकेको छैन । मनभरी पीडा बोकेर, गहभरि आँसु बोकेर ती नागरिकहरूले आफ्ना डुबेका खेतखलिहान, बस्तीहरूमा सरकार खोजिरहेछन् ।

सरकार भने आजकल आकाशमा मात्रै देखिन थालेको छ, अन्त कहीं देखिन छाडेको छ ।

कसरी भन्नुहोला ।

यतिखेर प्रधानमन्त्री र मन्त्रीहरू बाढीपहिरोले पुर्‍याएको क्षतिको हवाई निरीक्षणमा व्यस्त छन् । उनीहरू एकैछिन मात्रै ओभानो जमीनमा टेक्छन्, पीडितहरूको भेलालाई सम्बोधन गर्छन्, सुको बाँड्न सक्दैनन् तर आश्वासन भने अवश्य बाँड्छन् ।

डराईडराई सानो गुनासो मात्र गर्नुपर्छ पीडितहरूले, सिंहदरबारबाट गएको शेरको गर्जन सुनिन्छ । निर्वाचन नजिकै नभएको भए त यी ठालुहरूले आश्वासन पनि बाँड्थे कि बाँड्दैनथे कुन्नि ?

वास्तवमा आवश्यक परेको ठाउँबाट अलप हुनु, अनावश्यक ठाउँमा चाहिं देखिइरहनु सरकारको विशेषता नै भएको छ ।

एक डेढ महीना अघिको कुरा त हो । भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा नेपाली युवा जयसिंह धामी महाकाली नदीमा खसी बेपत्ता भए, तिनको अहिलेसम्म अत्तोपत्तो छैन । त्यसको केही समयपछि नै दार्चुलाको नेपाली आकाशमाथि भारतीय विमान उडेका समाचारहरू आइरहे ।

नेपालको एयरस्पेश उल्लंघन गरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गुल्म/कार्यालय जस्ता अति संवेदनशील क्षेत्रहरूमाथि यसरी निरन्तर उडान भरिंदा नेपाली नागरिकले नेपालको आकाशमा नेपाली राज्यको उपस्थिति खोजे । अचम्मको कुरा, तिनले नेपाली राज्य, नेपाल सरकारको उपस्थिति नै देखेनन् नेेपालको एयरस्पेशमा ।

हिजोआज बर्माबाट विस्थापित भएकाहरू अनधिकृत रूपमा नेपाल प्रवेश गरिरहेका छन् । अफगानिस्तानबाट विस्थापित भएकाहरू सिनामंगलबाट गिरˆतार भएको समाचार आएको छ । के यो आश्चर्य होइन ?

बर्मासँग हाम्रो सीमा जोडिएको छैन न त बंगलादेशसँगै जोडिएको छ । त्यसो भए कसरी नेपाल आए त विस्थापितहरू ?

हवाई मार्गबाट त पक्कै आएनन् होला तिनीहरू ।

स्थलमार्गबाटै आएका हुन् भने कहाँबाट नेपाल आए त ? चीनबाट ? के त्यो सम्भव छ ? सम्भव छ जस्तो त लाग्दैन । नेपाल सरकारलाई थाहा होला ।

के त्यसो भए भारतीय भूमि हुँदै, खुला सीमा मार्फत नेपाल प्रवेश गरे होलान् त उनीहरू ?

हुन सक्छ । विगतमा पनि यस्तो भएकै हो । भारतीय सुरक्षाकर्मीहरूले भूटानी राज्यको दमनचक्रबाट आजित नेपाली मूलका भूटानी नागरिकहरूलाई नेपालतर्फ लखेटिदिएकै हुन् ।

पाठकहरू प्रश्न गर्न सक्नुहुन्छ- सिमानामा नेपाल सरकार के गरिरहेको छ त ?

मैले अघि नै भनें, सरकार यतिखेर आकाशमा छ । आकाशमै संकट आइलाग्यो भने चाहिं सरकार त्यहाँबाट निमेषभरमै अलप हुनेछ ।

वास्तवमा नेपालको सरकार, नेपाली राज्य अक्कासिएको धेरै वर्ष भयोेे । अहिले त अवस्था कस्तो छ भने आकाशगामी नहुँदा पनि यस राज्यका हर्ताकर्ताहरूलाई आकाशमै विचरण गरेको अनुभव हुन थालेको छ । दरबारमा/सरकारी आवासहरूमा सुको नतिरी बस्न पाएपछि, चियादेखि पत्रिकासम्मको भत्ता खान पाएपछि, महँगा कारमा, अघिपछि सुरक्षाकर्मी दौडाउँदै, साइरन बजाउँदै बेलाकुबेला हुइँकिंदा देश र देशवासीका दुःख बिर्सिइन्छ । विगतमा आफूले भोगेका दुःख बिर्सिइन्छ ।

त्यसो भए गर्ने के त ?

यी सबैलाई जमीनमा ल्याउने, यथार्थसँग पुनः परिचित गराउने ।

भन्न सजिलो छ, तर गर्ने कसरी ?

यिनले खाईपाई आएको तलबभत्ता, सेवासुविधामा कटौती गर्ने, यिनीहरूको सार्वजनिक जीवन पारदर्शी बनाउने । पद बहाल हुँदाको सम्पत्ति विवरण होइन, अवकाशप्राप्त गर्दाको प्रगति विवरणको लेखाजोखा गर्ने । स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, दोषी पाइएमा कडा सजाय सुनिश्चित गर्ने ।

देश र देशवासीको हितका लागि बाँच्नेहरूलाई भौतिक सुखसुविधा किन चाहियो ? सुखी, विलासी जीवन चाहिएको भए त अर्कै बाटो रोज्नुपथ्र्यो । व्यापार व्यवसाय गरेको भए हुन्थ्यो, उद्योग व्यवसाय गरेको भए हुन्थ्यो । राजनीति, सरकारी सेवा त सेवामुखी कर्म पो हो त ।

यसैगरी यिनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको दलबल कटौती गर्ने । आखिर नेपाल र नेपालीको हितमा काम गर्नेहरूलाई कोबाट खतरा होला त ? खतरा नै भएछ, कर्त्वयपालन गर्ने क्रममा आक्रमणमा परी ज्यानै गएछ भने पनि के भो र ? युगयुगसम्म अमर हुन पाइन्छ । योभन्दा सार्थक जीवन अर्को कुनै हुन्छ र ?

उल्लिखित बाहेक सुधारका अन्य कार्यहरू पनि होलान् नै, तर एउटा कुरा स्पष्ट छः अक्कासिएका ‘तारणहरू’लाई जमीनमा अवतरण नगराएसम्म, यथार्थको धरातलसँग पुनः परिचित नगराएसम्म हाम्रा दुःख कम हुने छैनन्, हाम्रो संकट रत्तिभर कम हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment