+
+

भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते २०:२०
बाँयाबाट क्रमश : डा. शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य

११ कात्तिक, काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका भारत, अमेरिका र बेलायतका राजदूतलाई हालै फिर्ता बोलाएको थियो । भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।

विगतमा कतिपय सन्दर्भमा राजदुत नियुक्तिमा आफन्त र आसेपासे, दलीय कार्यकर्तालाई पठाउने गरेको भनी आलोचना हुने गर्दथ्र्यो । यसपटक सरकारले कुटनीतिक मामिलाका जानकार तथा प्राज्ञिक व्यक्तिलाई राजदूतमा सिफारिस गरेको छ ।

चीनका लागि नेपाली राजदुत टंक कार्की सरकारले सिफारिस गरेका तीनै जना व्यक्ति राजदूतका लागि योग्य रहेको बताउँछन् । ‘नेपालको सम्बन्ध भएका केही खास खास मुलुकहरु भारत, अमेरिका, चीन जस्ता देशमा राजदुत पठाउँदा कस्ता व्यक्तिलाई पठाइयो भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ । र यसपटक सरकारले कस्तालाई व्यक्तिलाई राजदूत बनाएर पठाउनुपर्छ भन्ने कुटनीतिक छनक देखाएको छ’ उनले अनलाइनखबरसँग भने ।

तथापि, अमेरिका र भारतमा अझै राजनीतिक व्यक्तिलाई राजदूत बनाउँदा उपयुक्त हुने कार्कीले बताए । ‘तीनै जना योग्य व्यक्ति हुनुहुन्छ । श्रीधर खत्री अझ योग्य हुनुहुन्छ । उहाँहरुको नाम सिफारिस हुनुले कुटनीतिक क्षेत्रमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।’

नेकपा एमालेको विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सरकारले राजदूतका लागि सिफारिस गरेका तीनै जना कुटनीतिक मामलामा अनुभवी व्यक्ति भएको बताउँछन् । ‘सरकारले अनुभवी मान्छेहरुलाई नै छनोट गरेको छ । यो सकारात्मक छ’ डा. भट्टराई थप्छन्, ‘अब कामबाट पनि उहाँहरुले थप कुशलता सिद्ध गर्नुपर्ने हुन्छ ।’

राजदूतमा सिफारिस ३ जना को कस्ता ?

अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री प्राज्ञिक व्यक्ति हुन् । सन् ७० कै दशकमा अमेरिकामा राजनीति र कूटनीतिमा उच्च शिक्षा लिएका खत्री अन्तर्राष्ट्रिय राजनीतिका र कूटनीतिका विज्ञ हुन् ।

राजनीतिशास्त्रका अवकाशप्राप्त प्राध्यापक श्रीधर खत्रीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल एसियाली अध्ययन केन्द्र र दक्षिण एसियाली नीति अध्ययन केन्द्रको नेतृत्व सम्हालेका छन् ।

पूर्वराजदुत टंक कार्की खत्रीसंग अमेरिका, श्रीलंका र सिंगापुरमा रहेर कुटनीतिक मामलाको रणनीतिक अध्ययन गरेको अनुभव रहेको बताउँछन् ।

२०७४ सालमा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले खत्रीकै संयोजकत्वमा परराष्ट्र नीति पुनरावलोकन उच्चस्तरीय समिति बनाएको थियो । तर, उक्त समितिको सुझावलाई भने सरकारले कार्यावन्यन लगे÷नलगेको प्रष्ट छैन । अहिले देउवा नेतृत्वको सरकारले नै खत्रीलाई राजदुत बनाएर अमेरिकाका पठाउन लागेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा. शर्मा दोहोर्याएर राजदूत हुँदैछन् । भारतका लागि प्रस्तावित राजदूत शर्मा यसअघि अमेरिकाका लागि नेपाली राजदूत थिए ।

सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

*यसअघिको समाचारमा भुलवश डा. शंकर शर्मा नेपालका लागि अमेरकी राजदूत भनी उल्लेख भएकामा क्षमा माग्दै सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?