+
+

उत्तर कोरियामा नोटको अभाव, ‘कुपन’ प्रयोग गर्न थालियो

तनमन लगाएर खेतीपाती गर्न किमको उर्दी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १७:३६

१२ कात्तिक, काठमाडौं। उत्तर कोरियाले आर्थिक कठिनाइ र खाद्यान्न अभाव सामना गर्न नयाँ तरिका अपनाएको छ ।

रिपोर्ट अनुसार उत्तर कोरियाले आर्थिक कठनाइ र खाद्यान्न अभावसँग जुध्न भन्दै नगदको साटो कुपन छाप्नेदेखि आहारका लागि कालो हाँस पाल्ने लगायतका उपाय अपनाएको छ ।

कोभिड महामारीका कारण सीमामा लगाइएको लकडाउन लम्बिँदै गएपछि उत्तर कोरियामा आर्थिक कठिनाइ र खाद्यान्न अभाव देखिएको हो ।

बालीनाली भित्र्याउने समय नजिकिइरहेका बेला उत्तर कोरियामा खाद्यान्न र आर्थिक अवस्था डरलाग्दो भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् । चीनसँगको व्यापार बढिरहेको र त्यहाँबाट ठूलो परमाणमा मानवीय सहायता आइरहेको पनि पर्यवेक्षकहरूको भनाइ छ ।

बिहीबार संसदमा भएको सुनुवाईमा दक्षिण कोरियाली खुफिया संस्थाले उत्तर कोरियाली नेताले चामलको हरेक गेडा बचाउन र मन लगाएर कृषिकर्म गर्न आदेश दिएको बताएको छ।

दक्षिण कोरियाका सांसदले पत्रकारलाई बताए अनुसार खुफिया संस्थाले घमाइलो मौसमका कारण उत्तर कोरियामा यो वर्ष कृषि उत्पादन अघिल्लो वर्षकोभन्दा धेरै हुने अनुमान गरेको छ। त्यस्तै आगामी दिनमा चीन र रुससँगको सीमानाका खोल्ने तयारी भइरहको छ ।

उत्तर कोरियाले लामो समयदेखि खाद्य असुरक्षा भोग्दै आएको छ । आणविक हतियारलाई लिएर लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध, प्राकृतिक विपत् र कोभिड-१९ पछि सीमानाका बन्द हुँदा खाद्य असुरक्षा थप गम्भीर बन्‍न पुगेको हो ।

नेता किमले खाद्य अवस्था ‘तनावपूर्ण’ बनेको स्वीकार्दै कोरोना भाइरस रोकथामका लागि जनताले गरेको त्यागप्रति माफी मागेको रोयटर्सले जनाएको छ । तर उनले यो वर्ष अर्थतन्त्रमा सुधार आएको पनि बताएका छन् ।

त्यस्तै, गोप्य स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचार अनुसार नोटको अभाव हुन थालेपछि उत्तर कोरियाको केन्द्रीय बैंकले कुपन छाप्न थालेको छ ।

चीनबाट वन छाप्न चाहिने कागज र मसी नआएपछि कुपन छाप्न थालिएको हो । उत्तर कोरियाबाट भागेर आएका मानिसद्वारा सञ्चालित जापानस्थित रिमजिङ वेबसाइटले अगस्टदेखि बजारमा मौद्रिक कुपन प्रयोग भइरहेको जनाएको छ ।

विशेषगरी सरकारले यसअघि व्यापक प्रयोग हुँदै आएको अमेरिकी डलर र चिनियाँ युआनमाथि कठाइ गरेपछि वनको अभाव हुन थालेको सियोलस्थित समाचार माध्यम एनकेले जनाएको छ ।

त्यस्तै, सोमबार उत्तर कोरियाको सरकारी समाचार माध्यमले मुख्य आहारको रुपमा कालो हाँसको मासु उपभोगलाई प्रबर्द्धन गरेको थियो । हालसालै सुरु भएको कालो हाँसको व्यवसायिक पालनले जनताको जीवनस्तर सुध्रिने सरकारी समाचार माध्यमको भनाइ थियो ।

‘कालो हाँसको मासु स्वादिलो हुन्छ र यसले औषधिको रुपमा समेत काम गर्छ’, सत्तासीत दलको पत्रिका रोडोङ सिनमुनमा भनिएको छ ।

यसै महिना राष्ट्रसंघका शोधकर्ताले तयार पारेको एक प्रतिवेदनमा उत्तर कोरियाको अधिकांश जनसंख्या भोकमरीको जोखिममा रहेको उल्लेख गरिएको थियो । तर उत्तर कोरियाले सो प्रतिवेदन अस्वीकार गरेको छ । एजेन्सीहरुको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?