+
+

गौतमबुद्ध विमानस्थलमा ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:१८

१४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गरेकी हुन् ।

साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १.९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ ।

बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनेको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो । उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरुप दिएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा महाकरुणा बुद्ध मूर्ति राखिनुले यहाँबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गरिन् । उनले बुद्धका उपदेश अनुशरणबाटै विश्वमा शान्ति कायम हुन सक्ने भएकाले सबैले आफ्नो जीवनमा अनुशरण गर्ने र विश्वभर पुर्‍याउनुपर्ने धारणा राखिन् ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् । विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाई विदेशी पर्यटक, अध्ययन अनुसन्धानकर्तालाई आकर्षित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन मन्त्री खाँणको निर्देशन

बुद्धमूर्ति अनावरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । ‘विमानस्थल अविलम्ब सञ्चालनमा ल्याइयोस्,’ उनले भने, ‘सरकारले के सहयोग गर्नुपर्छ तयार छ, छिटो क्यालिब्रेसन फ्लाइट गराइयोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?