+
+

सुध्रिएन क्रिकेट संघ, फेरि विवादित बन्यो क्रिकेटरको ग्रेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:२१

१४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अहिले बल्ल २०२१ का लागि क्रिकेटरहरुको वर्गीकरण गरेको छ । तर मापदण्ड र बर्गीकरणप्रति असन्तुष्टि जनाउँदै कतिपय खेलाडीले सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

२० असोजमा बसेको बोर्ड बैठकबाट पारित भएको भनिएको खेलाडी वर्गीकरण क्रिकेट संघले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । तर खेलाडीहरुलाई व्यक्तिगत रुपमा बोलाएर सम्झौतामा हस्ताक्षर गराउन गरेको छ ।

भद्रगोल मापदण्ड

क्रिकेट संघले पहिलो पटक सन् २०१५ मा खेलाडीहरुलाई चार वटा समूहमा वर्गीकरण (ग्रेडिङ) गरेको थियो । क्यान निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नै ग्रेडिङ गर्दैै तलब पठायो । असोज २०७६ मा सशर्त निलम्बन फुकुवा भएपछि चुनिएको चतुरबहादुर चन्द नेतृत्वको क्यानले असोज २०७७ मा खेलाडीहरुको ग्रेडिङ त गर्‍यो, तर विवादित बन्यो ।

यो पटक मापदण्ड बनाउन र खेलाडीहरुको ग्रेडिङका लागि तत्कालिन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । समितिले ६ साउनमा बुझाएको मापदण्ड र त्यसका आधारमा गरिएको ग्रेडिङलाई २० असोजमा बसेको बोर्ड बैठकले अनुमोदन गरेको छ । यद्यपि केही सदस्यले विरोध गरेका थिए ।

बोर्ड बैठकमा पेश भएको खेलाडीहरुको वर्गीकरणका लागि बनाइएको मापदण्डमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागिता, प्रदर्शन, योगदान, फिटनेसदेखि क्रिकेट संघको हितमा काम गरेको आधारमा समेत अंक दिइने भनिएको छ ।

अंक
अन्तर्राष्ट्रिय सहभागिता २५ आईसीसी र एसीसीबाट भएका वा मान्यता पाएका ओडीआई र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको संख्यालाई दामासाहीले बाँडेर अंक बाँडफाँट गर्ने
घरेलु सहभागिता १० क्यानले आयोजना गरेका घरेलु प्रतियोगिताको संख्यालाई तोकिएको अंकले दामासाहीले बाँडफाँट  गर्ने
खेलाडीहरुको प्रदर्शन

 

४० आईसीसी र एसीसीले गरेका वा मान्यता दिएका ओडीआई र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्ने प्रदर्शनका आधारमा मूल्यांकन गर्ने ।
१०० रन
५० रन
५ विकेट
३ विकेट
वेष्ट बलर १०
वेष्ट ब्याट्सम्यान १०
टुर्नामेन्ट सिरिज १२
म्यान अफ दि म्याच
बेष्ट पफर्मेन्स २०
मिडियम पफर्मेन्स १२
लो पफर्मेन्स
योेगदान लामो अवधिदेखि क्रिकेटमा दिएको योगदान र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी राम्रो प्रदर्शन गरेको आधारमा मूल्यांकन गर्ने
फिटनेश खेलाडीहरुको ६ महिना अवधिको फिजियोबाट प्राप्त फिटनेस प्रतिवेदनका आधारमा मूल्यांकन गर्ने
लन्जिभिटी (दीर्घजीवन) नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको दुबै फ्म्यार्टमा प्रतिनिधित्व गरेका खेलाडीमध्ये भविष्यमा देशका लागि खेल्न सक्ने सम्भावना भएका खेलाडीको पहिचान गरी मूल्यांकन गर्ने ।
अफ फिल्ड प्रदर्शन १० क्रिकेट संघ र देशको हितका लागि गरेको सामाजिक कार्य, विभिन्न प्रतियोगिताबाट देशलाई चिनाउने, विकेट विकासका लागि गरेको काम, आचार संहिताको पालना, अनुशासन लगायतका क्रियाकलापका आधारमा मूल्यांकन गरिने ।

तर मापदण्ड एक अर्कासँग बाझिएको छ । जस्तो, खेलाडीहरुको प्रदर्शनका आधारमा ग्रेडिङका लागि ४० अंक दिइएको छ । यसमा आईसीसी र एसीसीले गरेका वा मान्यता दिएका ओडीआई र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीहरुको मूल्यांकन हुने भनिएको छ ।

योगदान भनेर ५ अंक दिइएको छ, यसमा पनि लामो क्रिकेटमा दिएको योगदानका साथै ओडीआई र टी–२० दुबै फम्र्याटमा नेपालको प्रतिनिधित्व गरी राम्रो प्रदर्शन गरेको आधारमा मूल्यांकन गरिने भनिएको छ ।

यस्तै खेलाडीहरुलाई ग्रेण्डिङमा दिइने अंकको मापदण्ड जस्तै कुन ग्रेडमा पर्ने भन्ने अर्को मापदण्ड छ ।

जसअनुसार ग्रेड ‘ए’ मा पर्न तीन वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्ने शर्त राखिएको छ । साथै टी–२० र ओडीआईका ७० प्रतिशत म्याच खेलेर एक रुपताका साथ प्रदर्शन गरेको हुनुपर्ने बताएको छ ।

ग्रेड ‘बी’ मा पर्न ओडीआई र टी–२० आईका ५० प्रतिशत प्रतियोगिता खेलेको हुनुपर्ने र एक वर्ष ग्रेड ‘सी’ को वर्गीकरणमा परेको हुनुपर्ने छ भने ग्रेड ‘सी’ मा पर्न ५० प्रतिशत अन्तराष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने बताएको छ ।

जस्तो, ग्रेड ‘ए’ मा पर्न तीन वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको हुनुर्ने शर्त राखिएको छ । साथै टी–२० र ओडीआईका ७० प्रतिशत म्याच खेलेर एक रुपताका साथ प्रदर्शन गरेको हुनुपर्ने बाएको छ ।

मापदण्ड निर्धारण समितिका सदस्य प्रशान्त विक्रम मल्ल मापदण्ड र ग्रेडिङ बाझिएको स्वीकार गर्छन् । क्यानका कार्यबाहक सचिव समेत रहेका मल्ल अनलाइनखबरसँग भन्छन्, ‘मापदण्ड बनाएपछि अंक पनि दिनुपर्छ भन्ने भयो । ग्रेडिङको पनि राख्यौं । यसबारे संयोजकले नै जवाफ दिनुपर्ने हो । तर अब क्यानको बोर्ड बैठकले स्वीकार गरेपछि यसलाई हामीले ठीक छ भनेर बुझ्नुपर्छ ।’

ग्रेडिङमा गाईजात्रा

राजुबाबु नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदा क्यानले तीन महिना (जनवरी–मार्च) को तलब अघिल्लो ग्रेडिङअनुसार खेलाडीहरुलाई दिइसकेको थियो । त्यसैले समितिले बाँकी ९ महिना (अप्रिलदेखि डिसेम्बर) को ग्रेडिङ गर्नुपर्ने निश्कर्ष निकाल्यो ।

साथै उसले मापदण्डमा नै हरेक ६÷६ महिनामा ग्रेडिङको समीक्षा गर्ने बताएको छ ।

तर २० असोजमा बसेको बोर्ड बैठक साउनमा पेश भएको ग्रेडिङको समीक्षा त गरेन नै, सन्यास लिइसकेका पूर्व कप्तान पारस खड्काको नाम समेत हटाइएको छैन ।

अनलाइनखबरलाई प्राप्त कागजपत्रअनुसार खेलाडी वर्गीकरणको ग्रेड ‘ए’मा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसीसँगै पारस खड्काको पनि नाम छ । खड्काले १९ साउनमै सन्यास लिइसकेका छन् ।

ग्रेड ‘बी’ मा कुशल मल्ल, विनोद भण्डारी, सुशन भारी, अविनाश बोहरा, शरद भेषावकर, सोमपाल कामी छन् भने ग्रेड ‘सी’मा कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आशिफ शेख, सन्दीप जोरा, पवन सरार्फ र शाहव आलम छन् ।

सन् २०२१ मा नेपालले जम्मा दुई सिरिज खेल्यो । अप्रिलमा काठमाडौंमै नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच टी–२० आई त्रिकोणात्मक सिरिज भयो भने सेप्टेम्बरमा ओमानमा नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज ।

यदि दुबै सिरिजको प्रदर्शनलाई आधार मानेर ग्रेडिङ गर्ने हो भने सोमपाल कामी ग्रेड ‘ए’मा पर्न योग्य देखिन्छन् । पछिल्ला वर्षहरुमा राष्ट्रिय टोलीको नियमित सदस्य रहेका उनले दुबै सिरिजमा राम्रै प्रदर्शन गरेका छन् । बरु उपकप्तान दीपेन्द्र सिंह ऐरीले चोटका कारण टी–२० सिरिज गुमाएका थिए । ओमान टुरमा टोलीमा परे पनि उनले खेलेका थिएनन् । उनलाई भने ग्रेड ‘ए’मा कायमै राखिएको छ ।

यस्तै राष्ट्रिय टिममा पुनरागमन गरेका ओमान टुरमा रोहितकुमार पौडेलले लोभलाग्दो प्रदर्शन गरेका थिए । तर उनी क्यानको ग्रेडिङमा नै पर्न सकेनन् । जबकी टी–२० सिरिजमा टिममै नपरेका तथा ओमान सिरिजमा टिममा परेर पनि एउटा खेल नखेलेका पवन शरार्फलाई ग्रेड ‘सी’मा राखिएको छ । अझ अनौठो त के भने उनलाई सम्झौता भने ग्रेड ‘बी’को गराइएको क्यान स्रोतले बताएको छ । स्रोत भन्छ, ‘यसरी हेर्ने हो थुप्रै त्रुटि भेटिन्छ ।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट म्याजेनर विनोद दास हावी भएको र आफ्नो क्षेत्रका खेलाडीलाई च्यापेको आरोप समेत छ ।

मापदण्ड र ग्रेडिङ निर्धारण समितिका सदस्य एवं कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल पनि साउनमा टी–२० त्रिकोणात्मक सिरिजका आधारमा ग्रेडिङ गरेर बुझाएको र अहिले आएर अनुमोदन गर्दा अमिल्दो भएको बताउँछन् । भन्छन्, ‘हामीले अप्रिलको सिरिजलाई हेरेर ग्रेडिङ गर्‍यौं । त्यसबेला सेप्टेम्बरको ओमान सिरिजमा कसले कस्तो खेल्छ थाहा हुने कुरै भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?