+
+

कर्णालीका ३ मन्त्री आज पदमुक्त हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ८:५६

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ ।

सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् ।

तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा (एमाले)का सांसद हुन् । पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिए ।

त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाए ।

प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए । उनीहरू तीनै जना हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

मन्त्री थापा नेकपा (एकीकृत समाजवादी)को कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने समयमा ‘फ्लोर क्रस’ गरेका अर्का नेता प्रकाश ज्वाला भने अहिले नेकपा (एकीकृत समाजवादी)को प्रदेश इञ्चार्ज तथा केन्द्रीय उप-महासचिवको जिम्मेवारीमा छन् ।

तीन मन्त्रालय नछोड्ने एकीकृत समाजवादीको निर्णय

कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल छ । तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पनर्गठन हुनेछ ।

आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।

‘आज (सोमबार) कानूनत: उहाँहरू (तीनजना मन्त्री) सरकारबाट बाहिरिनुहुन्छ । र, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नछाड्ने निर्णय गरिसकेको छ,’ सांसद देवी ओलीले भनिन्, ‘कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने त कुरा फाइनल भएको छैन् ।’

तीन जना मन्त्री पदमुक्त भएपछि उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका तीन जना मात्र सांसद छन् ।

सम्भवत: उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको  एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे छलफल चलेको बताइन्छ ।

आफ्नै पार्टीका सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा देवी ओली र पदमबहादुर रोकायालाई सरकारमा पठाउनेबारे छलफल भएको बैठकमा सहभागी सांसद ओलीले बताइन् ।

कात्तिक १५ गते नै मुख्यमन्त्रीसमेत फेरबदल हुने कुराले पनि प्रदेशको राजनीति तरङ्गति छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको आधारमा कात्तिक १५ पछि मुख्यमन्त्री शाहीले सत्ता छाड्नुपर्ने कांग्रेसको तर्क छ ।

कांग्रेस नेता शाही कात्तिक १५ पछि आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि यसबारे केन्द्रीय गठबन्धनले निर्णय गर्ने माओवादी केन्द्रका नेताहरूको भनाइ छ । केन्द्रीय गठबन्धनले भने कर्णाली प्रदेश सरकारको नेतृत्वका बारेमा ठोस निर्णय भने गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?