१५ कात्तिक, काठमाडौं । जापानमा जोकरको भेषमा आएका एक व्यक्तिले रेलमा यात्रा गरिरहेका यात्रुमाथि चक्कु प्रहार गरेका छन् ।
ब्याट्सम्यानका जोकरको हुलियामा आएका २४ वर्षीय व्यक्तिले टोकियो रेलका यात्रुमाथि चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । ह्यालोइनका लागि शहरको मध्यभाग तर्फ रेलमा यात्रा गरिरहेका मानिसमाथि चक्कु प्रहार हुँदा १७ जना घाइते भएको समाचारमा जनाइएको छ ।
जापानको सरकारी टेलिभिजन एनएचकेले चक्कु प्रहारबाट कम्तिमा १७ जना घाइते भएको र घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताएको छ । चक्कु प्रहारपछि ६० वर्षीय एक यात्री बेहोश रहेको र हाल उनको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।
संदिग्ध व्यक्तिले रेलमा रहेका यात्रुलाई चक्कु प्रहार गरेपछि तेल छर्केर आगो समेत लगाएका थिए । टेलिभिजनमा देखाइएका फुटेजमा अग्निनियन्त्रक, प्रहरी र स्वास्थ्यकर्मीले यात्रुहरूलाई उद्वार गरेको देख्न सकिन्छ ।
आक्रमणकारीलाई घटनास्थलबाट पक्राउ गरी हत्या प्रयास गरेको विषयमा उनीमाथि छानबिन भइरहेको छ । ती व्यक्तिले आक्रमण गर्नुको कारण खुलिसकेको छैन ।
प्रतिक्रिया 4