+
+

चार वर्षपछि फोरजीमा एनसेललाई टेलिकमको ‘ओभरटेक’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १८:२६

१५ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले चार वर्षपछि फोरजी सेवामा निजी सेवाप्रदायक एनसेललाई उछिनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ‘एमाआईएस रिपोर्ट’का अनुसार भदौसम्म टेलिकमको ६२ लाख ६८ हजार फोरजी प्रयोगकर्ता पुगेका छन्, जबकी एनसेलको ५७ लाख २५ हजार मात्रै छन् । साउनसम्म टेलिकमका ५३ लाख ४० हजार र ५५ लाख ११ हजार फोरजी प्रयोगकर्ता थिए । टेलिकमले एकै महिनामा ९ लाख २८ हजार प्रयोगकर्ता थप्दा एनसेल पछि परेको हो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी महामारीको दोस्रो लहरपछि धेरै व्यक्ति एकाएक गाउँघर पुग्दा सो क्षेत्रमा बढी ‘फोरजी’ सस्क्राइब भएको बताउँछन् । ‘हामीले ६९३ वटा स्थानीय तहमा फोरजी सेवा पुर्‍याइसकेका छौं,’ उनले भने,‘धेरै क्षत्रेमा सोव पुगेकाले बढी चहलपहल हुनेबेलमा मोबाइल डेटाको सस्क्राइबर स्वतः बढ्छन् ।’

टेलिकमले १७ पुस २०७३ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराउन थालेको थियो । तर, टेलिकमभन्दा ५ महिनापछि (१७ जेठ, २०७४) फोरजी सेवा थालेको एनसेलले शुरुआतमै तीव्र रुपमा देशभर नेटवर्क विस्तार गरेर सेवा दिएपछि टेलिकम तत्कालै ग्राहक संख्यामा पछि परेको थियो । एनसेलले शुरुआतमै ४० मुख्य शहरबाट थ्रीजी नेटर्वको अपग्रेड गरेर सेवा थालेको थियो ।

तर, टेलिकमलाई काठमाडौं र पोखराबाहेकका क्षेत्रमा सेवा विस्तारका लागि ठेक्का लगाउन मात्रै २ वर्ष समय लागेको थियो । २०७५ माघमा टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्‍याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिए पनि काम भएन । टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि अलमलमा फस्दा एनसेलले ठूलो संख्यामा ग्राहक बटुलिसकेको थियो ।

टेलिकमले बजार मूल्यभन्दा महँगोमा ठेक्का लगाउन खोजेको भन्ने विवाद अख्तियारसम्म पुगेको थियो । बोलपत्र लिइसकेको ठेक्का प्रक्रिया अघि बढाउने वा नयाँ लागत मूल्य तयार गरेर अर्को ठेक्का प्रक्रियामा जाने राय अख्तियारले सञ्चार मन्त्रालयलाई दिएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३६ महिनाको परियोजनालाई १२ महिनामै सक्ने शर्तमा दुई चिनियाँ कम्पनीलाई ठेक्का लगाउन सहमति दिएका थिए । छिटो विस्तार सक्दा त्यसबाट टेलिकमले छिटै लगानी उठाउने र लागत महंगो भए पनि लाभ हुने बास्कोटाको तर्क थियो ।

टेलिकमले फोरजी सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग गत माघमा १८ अर्बको सम्झौता गरेको थियो ।

तर, ठेक्का भएर काम शुरु भएपछि पनि टेलिकमले तीव्र गतिमा नेटवर्क विस्तार गर्न सकेन । २०७६ फागुनसम्म फोरजी विस्तारको सबै काम सकिनुपथ्र्यो । अहिले आगामी डिसेम्बरसम्म परियोजना सक्न ठेकदार कम्पनीलाई समय दिइएको छ ।

२०७६ फागुनपछि ६ महिनामा काम सक्ने भनेर टेलिकमले ठेक्काको समय थपेको थियो । तर, २०७७ असारमा पनि नसकिएपछि पटक–पटक म्याद थप्दै आयोजना लम्ब्याइरहेको छ ।
कोरोना महामारी रोकथामको लागि भएको लकडाउन र निषेधाज्ञासहित साइटमा देखिएको समस्याका कारण परियोजना प्रभावित भएको टेलिकमले बताउँदै आएको छ । फोरजी सेवा विस्तार अन्तिम चरणमा पुग्नै लाग्दा मात्रै टेलिकम एनसेललाई जित्न सफल भएको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

‘परियोजनाको करिब ९२ प्रतिशत काम सकिएको छ, सेवा विस्थार हुँदै जाँदा सेवाग्राही पनि बढ्दैछन्,’उनले भने,‘फोरजी सपोर्ट गर्ने मोबइलको प्रयोग बढेकाले पनि ग्राहक बढाउन मद्धत पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?